विश्वलाई सञ्चालन गर्ने दर्शन किरात धर्ममा छ : अङसीमाङ आत्मानन्द सेइङ - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वलाई सञ्चालन गर्ने दर्शन किरात धर्ममा छ : अङसीमाङ आत्मानन्द सेइङ

  • ज्ञानु केदेम लिम्बू

मंसिर २१, माङसेबुङ । विश्व शान्ति मानव एकता स्थापनाको लागि किरात धर्मले नेतृत्व गर्ने किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले बताउनु भयो ।

‘तपाईहरुलाई ज्ञान विवेक दिने मेरो इच्छा छ तर त्यो वातावरण मिलेको छैन् ।’ अङसीमाङज्यूले भन्नु भयो, ‘जबसम्म सबै किरात धर्मावलम्बीहरु एकता हुनुहुन्न तबसम्म सबै ज्ञान विवेक दिन मिल्दैन् ।’

मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको नुमाङगेन्ना महान सेवा समारोहको अवसरमा आयोजित कार्यक्रममा आशीर्वचन दिनु हुँदै अङसीमाङज्यूले सो कुरा बताउनु भएको हो ।

किरात धर्मावलम्बीहरु एकता भएपछि मात्र सबै ज्ञान विवेक दिन मिल्र्ने बताउनु हुँदै, वहाँले भन्नु भयो, ‘म त्यतिकै आएको होइन, दिन आएको हुँ । सबै मिलेर माङवा हाङवा, ज्ञान विवेक माग्नु भयो भने मैले दिने हो । किरात धर्ममा अनेकता होइनन् एकता हुनुपर्छ ।’

विश्वमा ठूला ठूला शक्तिशाली मुलुकका नेताहरुबीचको मत भिन्नताले विश्व युद्धको रुप लिन सक्ने सुनाउनु हुँदै वहाँले थप्नु भयो, ‘संसारमा आपत्तकालिन समय आउने सम्भावना छ ।’

विश्वको गति राम्रो नरहेको संकेत गर्नुहुँदै अङसीमाङले आशीर्वचनमा भन्नु भयो, ‘विनाशकारी भूकम्प, महामारी रोग व्यधिहरुबाट जोगिन सबैले माङमा सेवा गरौं । माङले चाहेमा यो संसारलाई एक सेकेण्डमा ध्वस्त हुन्छ । यसबाट जोगिन माङसेवा गर्नुपर्छ ।’

कुरीति कुसंस्कारबाट मुक्त भएपछि स्वर्गको सुन्दर ठाउँमा पुग्न सकिने सुनाउँनु हुँदै अङसीमाङले आशीर्वचनमा भन्नु भयो, ‘सही धर्म र कर्म चिन्न सक्नुपर्छ, चिन्न सकिएन भने युग युगान्तर पापमा डुबिन्छ ।’

महान सेवा समारोहको समुद्घाटन गर्दै प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले माङसेबुङलाई देशकै उत्कृष्ट शाकाहारी पर्यटकीय क्षेत्र बनाउन सकिने बताएका छन् ।

माङसेबुङ नेपालको एकमात्र शाकाहारी क्षेत्र भएकोले यसलाई शाकाहारी क्षेत्रको रुपमा पर्यटन प्रवद्र्धन गर्नसके देशकै उत्कृष्ट पर्यटकीय क्षेत्र बनाउन सकिने मन्त्री किरातीले बताएका हुन् ।

‘नेपाल धार्मिक र सांस्कृतिक पर्यटनको दृष्टिले विशिष्ट छ’ मन्त्री किरातीले भने, ‘नेपाललाई यिनै धार्मिक र सांस्कृतिक विशिष्टताको आधारमा पर्यटन विकास गर्नुपर्छ ।’

पहिलो पटक शाकाहारी गाउँ माङसेबुङ आउनुभएका मन्त्री किरातीले नेपाली माटो अनुसारको पर्यटन विकासमा जोड दिनु पर्ने बताएका छन् । ‘आत्मानन्द लिङ्देन बसेपछि माङसेबुङ क्षेत्र धार्मिक पर्यटकीयस्थलको रुपमा विकास हुँदै गएको छ ।’ माङसेबुङलाई राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द र गुरु आत्मानन्दको जन्मस्थलको रुपमा धार्मिक पर्यटन प्रवद्र्धन गर्दै धार्मिक पर्यटकीय क्षेत्र बनाउन सकिने मन्त्री किरातीको भनाई छ ।

कार्यक्रममा विशेष अतिथि संविधान सभा सदस्य माननीय नगेन्द्र कुमाल, धरान उप महानगरपालिकाका मेयर हर्क साम्पाङ रहनु भएको थियो । भने, कार्यक्रममा निजी प्रवक्ता डिल्लीराम चाम्लीङ, माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङ लगायत विभिन्न राजनीतिक, धार्मिक तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थित रहेको थियो ।

विश्व किरातीहरुको आस्थाको धरोहर पवित्र एवम् पुण्य भूमि पर्यटकीय धार्मिक तीर्थस्थल इलामको माङ्सेबुङ ५, लारुम्बामा आयोजित महान सेवा समारोहको पहिलो दिन समारोह समुद्घाटन, शुभकामना मन्तव्य, धन्यवाद आशीर्वचन साथै विशेष महान समारोहबीच सावायेहाड नुमाङगेन्ना सेवा सम्पन्न गरिएको थियो । नुमाङगेन्ना सेवामा ७० जना माङसेवासाबा, माङसेवासामाबाट साम्जीक मुन्धुम वाचन गरिएको थियो ।

यस वर्षदेखि अङसीमाङ तथा अङसीमामाङज्यूको नुमाङगेन्ना सेवासँगै सावायेहाङ माङगेन्ना कार्यक्रम समेत आयोजना गरिएको थियो । यसका लागि आवश्यक सामग्रीहरु दियो कलस, थाली, चामल, तेल, धागो, पानी, फूल र माङगेन्ना भेटी भक्तजन आफैंले व्यवस्थापन गरेका थिए । भने, सोही अवसरमा सम्पूणर् प्रत्येक भक्तजनहरुलाई सावायेहाङ जलपान कार्यक्रम पनि व्यवस्था गरिएको थियो ।

जन्मोत्सव कार्यक्रम अन्तर्गत मंसिर १९ गते मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ’ ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाडमा लिङ्देनज्यूबाट विशेष माडआशीर्वचन, मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङमा मिक्तोक (उपहार) अर्पण, संस्थागत धन्यवाद-पत्र वितरण, पुस्तक पुस्तिका विमोचन, माङगेन्ना चामल वितरण हुने गरिएको थियो ।

समारोहका सांस्कृतिक विभाग संयोजक तथा किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको व्यवस्थापनमा विगतका वर्षझैं मंसिर १८ र १९ गते साँझ बृहत सांस्कृतिक कार्यक्रममा माङसेबुङ इक्ला गायन प्रतियोगिता सञ्चालन गरिएको थियो ।

महान सेवा समारोहको अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसिमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिंं योङहाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो । मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ जन्मोत्सवको अवसरमा मंसिर १८ गते इलामको माङ्सेबुङ गाउँपालिका र माई नगरपालिकाले एक दिन सार्वजनिक बिदा समेत दिएका छन् ।

सम्बन्धित खवर