‘नो कोशी’ भन्दै झापामा चासोक तङनाम धुमधामका साथ मनाइयो - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘नो कोशी’ भन्दै झापामा चासोक तङनाम धुमधामका साथ मनाइयो

पुस १२, कमल । प्रकृतिपूजक किरातीहरुको महान चाड चासोक तङनाम (उधौली पर्व) धुमधामका साथ मनाइएको छ ।

मंगलबार झापाको कमल गाउँपालिका–५ पाडाजुङ्गीस्थित आदिवासी रंगशालामा किरात याक्थुङ चुम्लुङ दमक नगर र कमल गाउँ समिकिो संयुक्त आयोजनामा बृहत् कार्यक्रमकाबीच चासोक तङ्नाम ५०८३ र ३१९ औं सिरिजंगा सिंथेबे जन्म जयन्ती कार्यक्रम सम्पन्न भएको हो ।

किरात याक्थुङ चुम्लुङ संघीय महासचिव निरन्ती तुम्बापोको प्रमुख आतिथ्यतामा सम्पन्न चासोक तङ्नाम तथा ३१९ औं सिरिजंगा सिथेबे जन्मजयन्ती प्रदेश १ को नाम ‘नो कोशी’ भन्दै मनाइएको हो ।

पहिचानबादीहरुले प्रदेश १ को नाम कोशी खारेजीको माग गर्दै आन्दोलन गरिरहेको बेला यस बर्षको चासोक तङनाममा कोशी नाम खारेजीको माग गर्दै मनाएका हुन् । जातिय भेषभूसा, गरगहनामा सजिएर साँस्किृतिक बाजागाजा र मौलिक साँस्कृतिक केलाङ र यालाङमा रमाई रहेका सहभागीहरुले हातमा ‘नो कोशी’ लेखिएको प्लेकार्ड समेत प्रदर्शन गरेर आक्रोश पोखेका थिए ।

याक्थुङ (लिम्बू) लिपि, साहित्यको संरक्षणमा लागेका सिरिजंगा सिंथेबेको ३१९ ओैं जन्म जयन्तीको अवसरमा शैक्षिकसत्र २०७९/०८० मा लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्ड याम्बोङ् पान्थरले लिएको लिम्बू भाषा साहित्य कक्षा–११ को परीक्षामा सर्वोकृष्ट अङ्क ल्याई बोर्ड टप्पर हुनेद्वय सरस्वती मा.वि. केरावारी –१ पाटी मोरङका छात्रतर्फ योमन थेगिम र छात्रातर्फ सेमी आङ्देम्बेलाई किरात याक्थुङ् चुम्लुङ क्यानाडाद्वारा प्रदान गरिएको छात्रवृत्ति/पुरस्कार समेत वितरण गरेका थिए ।

कार्यक्रममा केलाङ र यालाङ (धाननाच) कार्यक्रम आयोजना गरिएको थियो । साथै सांस्कृतिक कार्यक्रममा द भ्वाइस अफ नेपाल किड्सकी फाइनलिस्ट रुक्साना लिम्बू, गायक गायिकाहरु जेपी नेम्बाङ, कञ्चन थलङ, दीपा सुहाङ, चोलुङ केदेम, कञ्चन थलङ, दिलिप माखिम, राजन पंधाक, सुनिता सङ्यक लिम्बू, सुनिता मिभक, सिद्वान्त खडका लगायतले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

कियाचु दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङको अध्यक्षतामा भएको कार्यक्रम विहानको सत्रमा फेदाङ्बा विधि र किरात धर्म अनुसार सेवा गरेर न्वागी पूजा र मध्यान्नमा औपचारिक कार्यक्रम र साँझमा साँगितिक कार्यक्रम गरि तीन चरणमा सम्पन्न भएको थियो ।

यसैगरि किरात याक्थुङ चुम्लुङ शिवसतासी नगरको आयोजनामा सोमबार र मंगलबार गरेर दूई दिने शिवसतासी स्थित दूधे रंशालामा पनि चासोक तङ्नाम भव्य मनाइएको छ । यस्तै धरमपुरको फूलबारी रंगशालामा, बुद्धशान्तिमा समेत चासोक तङनाम मनाइएको छ ।

 

सम्बन्धित खवर