गीत गाएर बाबुलाई भोट माग्दै गायिका ‘सुनिता थेगिम’ - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गीत गाएर बाबुलाई भोट माग्दै गायिका ‘सुनिता थेगिम’

बैशाक ५, इलाम । ‘बिनायो कङकङ, बिनायो कङकङ

                                ए कान्छा घुम्न जाऊँ लै लै मलायो हङकङ’

यो गीत कुनै सांगीतक कार्यक्रमको ‘स्टेज प्रोग्राम’ मा घन्किएको होइन । यो गीतका भाका इलामको माङसेबुङको खुल्ला आकाश, माटो अनि कुना कन्दरा र भीर पाखा छिचोल्दै घन्किएको गीत थियो ।

त्यसमा पनि गायिका सुनिता थेगिमको आवाजमा । गायिका थेगिम यतिबेला इलाम निर्वाचन क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा चुनावी प्रचार प्रसारको दौडधुपमा व्यस्त छिन् । किनकि त्यस क्षेत्रको उम्मेदवारको रुपमा रहेका पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमलाई जिताउनु जो छ ।

डेकेन्द्रसिंह थेगिम सुनिताका लागि केवल इलाम क्षेत्र नम्बर २ का उम्मेदवार मात्रै होइनन् । सुनिताको जीवनका चित्र रेखा कोर्नका लागि बाल्यकालदेखि आजसम्म साथ दिने उनको बुवा पनि हुन् ।

सधैँजस्तो हुँदो हो त उनी यतिबेला नयाँ वर्षको आगमनसँगै विभिन्न जिल्लामा स्टेज प्रोग्रामको चटारोमा कुदिरहेकी हुन्थिन् । माथि उल्लेखित गीतको माध्यमबाट दर्शकलाई छमछम नचाइरहेकी हुन्थिन् । तर, यतिबेला बुवा जिताऊ अभियानमा व्यस्त छिन् । इलामेली जनतालाई नचाई–नचाई गीतको शब्द, धुनसँगै भोट पनि मागिरहेकी हुन्छिन् ।

संगीतको तालसँगै घरीघरी भन्छिन्, ‘भोट के मा ?  भोट के मा ?’

उनको गीतसँगै साथ दिन आएका अझ भनौं त्यस क्षेत्रका मतदाताहरु गीतको ताल छिचोल्दै ठूलो आवाजमा भन्छन्, ‘मुढामा, मुढामा‘

त्यसो त यो जित केबल थेगिम परिवारको मात्रै नभएर पूर्वमा लड्दै आएको पहिचानको आन्दोलनको जित रहेको उनीहरुको भनाइ छ ।

बुवासँगै नेपालको राष्ट्रिय झण्डा ओडेर चुनावी अभियानमा होमिएकी गायिका थेगिम बुवाकै भाषामा घरीघरी भन्छिन्, ‘जय मुढा ।’

०७९ फागुन १७ गते तत्कालीन प्रदेश १ ले कोशी नाम पाएसँगै उग्ररूप लिएको नामकरणको आन्दोलनको ‘सेफल्याण्डिङ’ निर्वाचन जितेर हुन्छ या त वार्ता र छलफलले हुन्छ यसको नतिजा आउन बाँकी नै छ । यद्यपि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको दर्बिलो साथ पाएको थेगिमले यो क्षेत्रमा जित्नु पहिचानको आन्दोलनको माङगेना (शिर) उठ्नु हो भन्ने भनाइ पनि त्यस क्षेत्रका नागरिकहरुको छ ।

त्यसो त सहजै जीत हासिल गर्न सकस नै छ । यद्यपि लारुम्बा र पहिचानको आन्दोलन भावनात्मक हिसाबले पनि जोडिएको केही आशा भने रहेको छ । यता, एमालेका उम्मेदवार सुहाङ नेम्वाङ, रास्वपका उम्मेदवार पूर्व पत्रकार मिलन लिम्बू, नेपाली कांग्रेसका उम्मेदवार डम्मर खड्कालाई पनि कम आँक्न भने नहुने स्थानीयहरुको भनाइ छ ।

–थाहा खबर

सम्बन्धित खवर