भदौ १८, ललितपुर । किरात याक्थुङ चुम्लुङको ३६ औं स्थापना दिवस ५ दिनसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरि सम्पन्न भएको छ ।
याक्थुङ लिम्बू जातिको प्रतिनिधिमुलक संस्था चुम्लुङ स्थापना दिवस कार्यक्रमको अन्तिम दिन सोमबार आयोजित मूल समारोहमा यस वर्षको कियाचु रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार ‘तङसिङ मुन्धुम’का संकलक तथा सम्पादकद्धय मेहरमान लाबुङ र हर्कजंग कुरुम्बाङलाई संयुक्त रुपमा प्रदान गरिएको थियो ।
चुम्लुङका पूर्व अध्यक्ष स्वर्गीय मन्जुलकुमार सिंह याक्थुङवाद्वारा स्थापित सो पुरस्कारको राशी १ लाख रुपैयाँ र सम्मान पत्र रहेको छ ।
यसैगरी चुम्लुङ स्थापना दिवसको अवसरमा आयोजित ५ दिने कार्यक्रमको पहिलो दिन गत भाद्र १३ गते साम्केलो केवाफुङवा चुम्लुङ संगीत पुरस्कार तथा मुन्धुम स्वर्णिम साँझ आयोजना गरिएको थियो ।
यसै वर्षदेखि वितरण गर्न सुरु गरिएको साम्केलो केवाफुङवा चुम्लुङ संगीत पुरस्कार लिम्बू भाषाको गीत गायन, संगीत र शब्द लेखनमा विशेष योगदान पुर्याउनुभएका भगत सुब्बा, यासेली योङहाङ र प्रेम पन्धाकले प्राप्त गरेका थिए ।
कार्यक्रमको दोस्रो दिन साविक १ नम्बर प्रदेशलाई कोशी नामांकन गरिएकोमा त्यसको खारेजी तथा मुक्कुम्लुङ संरक्षणको सवालमा विचार गोष्ठी र तेस्रो दिन भाद्र १५ गते मुन्धुमी स्थल मुक्कुम्लुङमा ‘नो केवलकार’ शीर्षकको कला प्रर्दशनीसंगै ‘कलामा आदिवासी प्रतिरोध’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।