धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका राजारानीमा लिम्बू भाषा शिक्षा छात्रवृत्ति पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
याक्थुङ लेखक संघ (यालेस) जिल्ला कार्य समिती धनकुटाको आयोजनामा शनिबार चौबिसे गाउँपालिकाको सभा हलमा लिम्बू भाषा शिक्षा छात्रवृत्ति पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा शैक्षिक सत्र २०८० को वार्षिक परीक्षामा लिम्बू भाषाबाट कक्षा १२ मा बोर्ड टप गरेकी केराबारी २, मोरङकी छात्रा बसन्ता माङयुङ र फाल्गुनन्द, इम्बुङ, पान्थरका छात्र मिलन फेजोङलाई लिम्बू भाषा शिक्षा छात्रवृती पुरस्कार प्रदान गरिएको हो ।
यसैगरी कार्यक्रममा २०६४ सालदेखि निरन्तर साहित्य क्षेत्रमा कलम चलाउँदै आएका र हालै मात्र तक्सङ माइली कविता कृति प्रकाशन गरेका चौबिसे ८, देउराली धनकुटाका कवि श्रीमान खजुम र लिम्बू भाषा शिक्षा कक्षा सन्चालन मिति २०७९ सालदेखि सुरु गरेर स्थापनादेखि लगातार बोर्ड टप गराउन सफल सरस्वती मा.वि. केराबारी १, पाटी मोरङका लिम्बू भाषा शिक्षक सुक्र आङदेम्बेलाई सम्मान गरिएको थियो ।
यसैगरी कार्यक्रममा लिम्बू भाषा शिक्षा कक्षा ११ र १२ पास गर्ने विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।
चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङको प्रमुख आतिथ्यता र उपाध्यक्ष टंकमाया मगर लगायत केन्द्रीय स्तर, जिल्ला स्तरका संघ संस्थाहरुका प्रतिनिधि, चौबिसे गाउँपालिका वडा अध्यक्षहरुको विशेष आतिथ्यता सम्पन्न कार्यक्रममा पालिकामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि तथा लिम्बू भाषा शिक्षकहरु र भाषा साहित्य प्रेमीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
याक्थुङ लेखक संघ (यालेस) अध्यक्ष कबिन तुम्बापोको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य सदस्य कवि दिवा चेम्जोङ र सञ्चालन सचिव टीका थोक्लेनले गरेका थिए ।