- आन्छुमे नसान
दमक । निर्देशक सागर केरुङको लेखन तथा निर्देशन रहेको लिम्बू भाषाको चलचित्र ‘चे’ झापाको दमकमा भव्य प्रदर्शन गरिएको छ ।
सोमबार दमकस्थित डि म्याक्स सिनेमा हलमा याक्थुङ लिम्बूहरुको पहिचान बोकेको चलचित्र ‘चे’ अर्थात ‘लास’को विशेष प्रदर्शनी भव्य रुपमा सम्पन्न भएको हो ।
चलचित्रमा आधुनिक विकासका नाममा लिम्बू जातिहरु आन्तरिक र बाह्य रुपमा कसरी लास सरह भइरहेका छन् भन्ने कुरालाई आकर्षक ढंगले देखाइएको छ ।
आधुनिकताका नाममा सांस्कृतिक सम्पदा नास्ने र जोगाउने बीचको द्वन्दात्मक कथा प्रस्तुत गरिएको चलचित्रमा बिमला खजुम, सागर केरुङ, यासेली योङ्हाङ, निशाम तुम्बापो, भवेन्द्र थाम्सुहाङ, कर्णहाङ ताम्लिङ, प्रनेश थेबे, रत्ना लिङ्देन लावती, चन्द्रकला साँवा, राजु घिमिरे, उदय बेघा लगायतको अभिनय रहेको छ ।
चलचित्रले आधुनिक विकासको नाममा भत्काईरहेको याक्थुङ आदिवासीहरुको समाधिस्थलहरु सकिएपछि याक्थुङ समुदायमा चे/लास नै प्रमुख समस्याको रुपमा उभिएको संकेत गर्छ ।
राज्यले आदिवासीहरुलाई कसरी दमन गरेको छ, उनीहरुको भाषा, लिपी, संस्कार संस्कृति र ऐतिहासिक स्थलहरुमा दमन गर्न कसरी मान्छे प्रयोग गरेको छ भन्ने कुरालाई स्पष्ट ढंगले देखाउन खोजिएको चलचित्र हेर्दा र अहिले भईरहेको पहिचानको आन्दोलन, मुक्कुमलुङ संरक्षणको आन्दोलन र कोशी नाम खारेजीको आन्दोलनको झल्को दिलाउँछ ।
चलचित्रमा याक्थुङ लिम्बूहरुको समाधिस्थल बचाउन गरिएको पहिचानको आन्दोलन र याक्थुङ लिम्बूहरुको समाधिस्थल उत्खनन् गरे त्यस भित्रबाट ऐतिहासिक पुरातात्विक वस्तुहरु निकालेर वेच विखन गर्ने देखि लिएर, याक्थुङ लिम्बूहरुको समाधिस्थल हटाएर विकासको नाममा भिउटावर बनाउन गरिएको राजनितिक खेल र संघर्षको कथा भनिएको छ ।
चलचित्रे विहानको १०ः३० वजे र मध्यान्नको १२ः३० वजे गरेर दूई शो प्रदर्शन गरिएको थियो । दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको दूवै शो हाउसफुल भएको थियो ।
चलचित्रलाई दर्शकहरुले औधी रुचाएका छन् । याक्थुङ लिम्बूहरुले एक पटक हेर्नै पर्ने चलचित्र बनेको प्रतिक्रिया समेत दिएका छन् ।
सागर केरुङ, इन्दु फोम्बो र सबु लिम्बू थाम्सुहाङ निर्माता रहेको चलचित्रलाई पान्थरको विभिन्न ठाउँहरुमा छायांकन गरिएको हो । युबराज राइको छायांकन, मोनि ताम्लिङ, इन्दु फोम्बो र नोगेन लिम्बुको स्वर, बुद्धराज लिम्बुको संगीत, अमृता जबेगुको शृङ्गार, पर्शु लिम्बुको सम्पादन, मोनि ताम्लिङ्को पाश्र्व संगीत रहेको छ ।
लिम्बू चलचित्र ‘चे’ ले तेस्रो ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ मा ‘उत्कृष्ट पटकथा’ को अवार्ड जितेका छन् ।
यसैगरी चलचित्र ‘चे’ एफ एल एफ अवार्ड २०२४ र याक्थुङ सिने अवार्ड २०८१ विजेता हुन ।
माङ्गेन्ना पब्लिकेशन एण्ड मिडिया हाउसको आयोजना तथा याक्थुङ लिम्बु साहित्य प्रतिष्ठानको व्यवस्थापनमा चलचित्र प्रदर्शन गरिएको हो ।