उपाध्यक्षको जग्गा लिजमा, ४१ लाख खर्च गर्दै - Mangsebung News
  • शुक्रबार, कार्तिक ०८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

उपाध्यक्षको जग्गा लिजमा, ४१ लाख खर्च गर्दै

  • पदम सुखी सम्बाहाम्फे

कुम्मायक । पाँचथरको कुम्मायक गाउँपालिकाले उपाध्यक्ष महेन्द्र बहादुर खड्काको जग्गा लिजमा लिएको छ । राजश्व संकलनको दरिलो आधार तयार गर्न भन्दै कुखुरा पालन योजना अघि बढाउन खड्काको जग्गा लिजमा लिएको हो । कुम्मायक–५ को निगालेमा रहेको खड्काको २० रोपनी जग्गा बार्षिक ६० हजार रकम बुझाउने गरी गाउँपालिकाले लिजमा लिएको हो ।

लिजमा लिएको जग्गामा गाउँपालिकाले गत आर्थिक वर्ष २०८१÷०८२ को बजेटबाट १० लाखको घेराबारा गरेको छ । घेराबारा गरेको जग्गामा कुखुरा पाल्न चालु आर्थिक वर्ष २०८२÷०८३ को बजेटमा ३१ लाख रकम बिनियोजन गरेको छ । गाउँपालिकाले आन्तरिक राजश्यको श्रोत बलियो बनाउँन र मासुमा पालिकालाई आत्मनिर्भर बनाउँन कुखुरा पालन गर्न लागेको गाउँपालिकाले जनाएको छ ।

कुम्मायक गाउँपालिकाले ‘कृषि उत्पादन केन्द्र स्थापना तथा संचालन कार्यक्रम’ अन्तर्गत जग्गा लिजमा लिन प्रथम पटक २०८२ बैशाख २८ गते ७ दिने सुचना जारी गरेको थियो । कम्तिमा १० वर्षसम्म जग्गा उपयोग गर्ने गरी न्यूनतम २० रोपनी जग्गा बजारको ३ किलोमिटर आसपासको जग्गा मध्ये गाउँपालिका उपाध्यक्ष खड्काको जग्गा प्राविधिक र व्यवसायीक रूपमा उपयुक्त ठहर गर्दै छनोट गरेको थियो ।

गाउँपालिकाले सार्वजनिक खरिद ऐन अनुसार कम्तिमा तीन वडा सुचना वा प्रस्तावको आधारमा जग्गा छनोट गर्नुपर्ने हो । तर सार्वजनिक खरिद ऐन विपरित स्थानीय केदार खड्का र उपाध्यक्षको गरी दुई प्रस्ताव आएको थियो । सोही प्रस्तावको आधारमा उपाध्यक्ष खड्काको जग्गा छनोटमा परेको हो । सोही जग्गामा गाउँपालिकाले घेराबारा गरी कुखुरा पाल्न लागेको हो ।

स्थानीयभन्छन् जग्गाको छनोट उपयुक्त देखिएन

गाउँपालिकाले ७ दिनको सुचना प्रकाशित गरेको अवधिमा दुई प्रस्तावकले मात्र निवेदन दिएका थिए । यस्तो अवस्थामा थप प्रतिस्पर्धी ल्याउने प्रयास नै नगरी गाउँपालिकाले खड्काको जग्गा छनोटमा पारेको थियो । तर छनोट गरिएको जग्गा ओसिलो, जलनिकासी कमजोर र हिउँदमा शीत पर्ने क्षेत्र भएकाले गाउँपालिकाको आलोचना बढ्न थालेको छ ।

जुन स्थानमा कुखुरा पाल्न उपयुक्त नहुने स्थानीय जकेन्द्र लावतीले बताए । एकातिर जग्गाको छनोट उपयुक्त छैन त्यसमा पनि उपाध्यक्ष आफै जोडिनु गलत छ लावतीले भने । यासोक बजारदेखि ३ किलोमिटर भित्रको जग्गा लिजमा लिने सर्त राखेर प्रतिस्पर्धा सीमित बनाउन खोजिएको स्थानीयको भनाइ छ । गाउँपालिकाको बिभिन्न स्थानमा कुखुरा पालनको लागि उपयुक्त जग्गाको छनोट गर्नुपर्ने अर्का स्थानीय राजु खतिवडाले बताए । गाउँपालिकाले दुई आर्थिक वर्षको बजेटबाट ४१ लाख रुपैयाँ लगानी गर्ने भएको छ ।

सम्बन्धित खवर