
ताप्लेजुङ/ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडान नं. ६, फचङमा अवस्थित केदेमहरुको ऐतिहासिक हिमपाङयक (पुर्खौली घर घडेरी) १० रोपनी ५ आना पुनः केदेमहरुले आफ्नो स्वामित्वमा लिएको छ ।
अलैचीबारी स्थानीय वडा अध्यक्ष समेत रहेका मनोजकुमार तुम्बाहाम्फेको स्वामित्वमा रहेको केदेम हिमपाङयक केदेम थरीहरुको संस्थाले देश विदेशमा रहेका केदेम दाजुभाईहरुबाट आर्थिक संकलन गरी सो जग्गा खरिद गरेको केदेम समाजका अध्यक्ष कृष्ण केदेमले बताएका छन् ।
मेरिङदेन गाउँपालिकामा बसोबास गर्ने अथवा थातथलो भएका ९ थरी सेरेङ वंशीहरुमा तुम्बाहाम्फे, केदेम, नाल्बो, लिङथेप, साम्याङखाम, लङवा, चङबाङ, मादेन र हाङगाम रहेका छन् । यसमध्ये केदेमहरुको पुर्खाघर मेरिङदेन ६ साविक नाल्बू गा. सि. सको फचङ गाउँमा रहेको छ ।
तत्कालिन १७ थुम लिम्बुवानका १० राजाहरु मध्ये मेवा मैवा खोला थुमका सिसिगेन सेरेङ राजाका १७ औँ पुस्ता पछिका पुर्खा साम्फुन्याङ (यरेबा) ले केदेमहरुको माङगेन्ना मुन्धुमको बर्णन अनुसार, सेरेङहरुको मुलघर (माङगेन्ना–यक) मासेरेङबाट छुटेर गई फचङमा निर्माण गरेको घरको अवशेष आज पनि जिर्ण अवस्थामा रहेको समाजका अध्यक्ष कृष्ण केदेमको भनाई छ ।
वर्तमान समयमा नेपाली समाज लगायत विश्व समुदाय पहिचानमय बनिरहेकोछ । मानिसहरुमा आफ्नो इतिहास, पुर्खा, वंश, उदगमस्थल बारे जान्ने बुझ्ने उत्सुकता बढिरहेको सन्दर्भमा केदेमहरुले गैर केदेमहरुको स्वामित्वमा रहेको फचङ गाउँमा अवस्थित हिमपाङयक (पुर्खाघर) र यसको आसपास २ कित्ता गरी १० रोपनी ५ आना अलैची बारी पुनः केदेमहरुले खरिद गरेर संस्थागत बनाएको हो ।
सो केदेम पुर्खाघरमा कसैको साक्मुरा/माङदे (गालिश्राप) परेकोले केदेम वंशले उपभोग गरे फलिफाप हुँदैन भन्ने मान्यता रहि आएकोले केहीँ वर्ष पहिले हिमपाङयक लगायत त्योसँग जोडिएको जमिन गैह्र केदेमहरुमा विक्री गरिएको थियो ।

पछिल्लो समयमा आएर यो गालीश्राप (माङदे) भन्ने कुराको मान्यतालाई वेवास्ता गर्दै केदेम पुर्खाहरुको ऐतिहासिकस्थललाई पुनः प्राप्ति गरेर चिनो स्वरूप राख्ने अवधारणा अनुसार हिम पाङयक पुनः खरिद कार्य गरिएको समाजले जनाएको छ ।
ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारदेखि करिब २ घण्टामा दोभान हुँदै मेरिङदेन सडक भएर फचङ गाउँ पुग्न सकिने स्थानीयको भनाई छ । हिमपाङयक नजिकै रहेको अनलुङमा (ढुंगे आकृतिको घोडा), ऐतिहासिक सोरिङ गुम्बा, तत्कालिन फेदाप अथवा सम्पूर्ण लिम्बुवान राज्यका राजा साम्युकहाङको दरबार रहेको विश्वास गरिएको रमणीय साम्युक्पा गाउँलाई स्थानीय स्तरमा पर्यटन प्रवद्र्धन गर्न सकिनेछ । केदेम पुर्खाघर प्राङ्गणबाट मिक्वाखोला पारीको थलङ, साँबा र चर्चित फङफङगे झरनाको दृश्यावलोकन गर्न सकिन्छ ।







