महान धार्मिक तीर्थस्थल सेन्छेइ फक्ताङलुङमा ४० दिने सेवा सम्पन्न - Mangsebung News
  • बुधबार, कार्तिक ०६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

महान धार्मिक तीर्थस्थल सेन्छेइ फक्ताङलुङमा ४० दिने सेवा सम्पन्न

माङसेबुङ । किरातहरुको महान तीर्थस्थल सेन्छेइ फक्ताङलुङमा आयोजित ४० दिने सेवा समापन गरिएको छ ।

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको देवसमुपस्थितीमा इलामको माङसेबुङमा अवस्थित निजी गुरु आश्रममा मंगलबार एक कार्यक्रम आयोजना गरी सेवा समापन गरिएको हो ।

सेवा समापन कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुबाट आशीर्वचन प्रदान हुनका साथै माङवाहाङवा वितरण समेत गरिएको थियो । भने, कार्यक्रममा उपस्थित सबैलाई जलपानको व्यवस्था गरिएको थियो ।

किरात साम्यो नु साक्थिम्रेन सङजुम्भो अमेरिकाको संयोजनमा भएको सेवा गत भदौ ११ गते झापाको कन्काई माइधारमा बृहत साक्मुरा वादेम्मा गरेर सुरु गरिएको थियो । भदौ १२ गते किरात माङपोक्लुङ माङहिम बेलडाँगी झापामा येत् नाम्धुङ लाधुङ सेमी सेवा, १५ गते किरात हाङसाम मुजोत्लुङ माङहिममा येत् नाम्धुङ लाधुङ सेमी र मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको भेट दर्शन गरिएको थियो ।

तीर्थयात्राको क्रममा भदौं १७ गते ताप्लेजुङमा अवस्थित मुक्कुमलुङमा नाम्धुङ लाधुङ सेमी सेवा र भदौ २२ र २३ गते हजारे ओढारमा साक्मुरा वादेम्मा र येत् नाम्धुङ लाधुङ सेमी सेवा सम्पन्न गरिएको सेवा संयोजक संस्थाका किरात साम्यो नु साक्थिम्रेन सङजुम्भोका अध्यक्ष भक्त तिगेला खेवाले जनाएको छ ।

भदौ २७ र २८ गते फक्ताङलुङमा अवस्थित वैतरणी सेवा र मारुङ फुक्कु युमाथानमा सेवा सञ्चालन गरिएको थियो । भने, असोज १ गतेदेखि २७ गतेसम्म पारुङ फुक्कुमा निरन्तर सेवा गरिएको थियो । २८ गते सेवा समापन गरी सबै तीर्थयात्रीहरु फर्केको आयोजक समितिले जनाएको छ ।

यस वर्ष सेवाको अवसरमा अमेरिकाको विभिन्न प्रान्त, अष्ट्रेलिया, भूटान, भारतको आसाम, पश्चिम बंगाल, सिक्किम लगायत नेपालको विभिन्न जिल्लाबाट किरात धर्मावलम्बी भक्तजनहरु फक्ताङलुङ सेवामा पुगेका थिए ।

सो सेवा सम्पन्न गर्न सेवा तथा सेवासाबा संयोजक नाम फुरुम्बोको संयोजनमा २१ जना माङसेवासाबाहरु सुरुदेखि समापनसम्म लागेका थिए ।

किरात साम्यो नु साक्थिम्रेन सङजुम्भो अमेरिकाका अध्यक्ष भक्त तिगेला खेवाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथि किरात धर्म तथा साहित्य उत्थान संघका संस्थापक महासचिव डा. चन्द्रकुमार सेर्मा रहनु भएको थियो ।

सम्बन्धित खवर