महागुरु फाल्गुनन्द जन्मजयन्तीको अवसरमा अङसीमाङ तथा अङसीमामाङको सवार केर्खा र दमकमा हुने - Mangsebung News
  • सोमबार, कार्तिक ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

महागुरु फाल्गुनन्द जन्मजयन्तीको अवसरमा अङसीमाङ तथा अङसीमामाङको सवार केर्खा र दमकमा हुने

माङसेबुङ । किरात धर्म दर्शनका महान दार्शनिक, समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १४१ औं जन्मजयन्ती समारोहलाई भव्यताका साथ मनाउने तयारी गरिएको छ ।

महागुरु फाल्गुनन्द लिङ्देनज्यू जन्मजयन्तीको अवसरमा आगामी कार्तिक २५ गते झापाको कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खाको फाल्गुनन्द टोलमा आयोजित महागुरु फाल्गुनन्दको जन्मजयन्ती कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको समुपस्थितिमा कार्यक्रम हुने गुरु सवार संयोजक संस्था किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताएको छ ।

जन्मजयन्ती कार्यक्रम मनाउने क्रममा यस वर्ष केर्खाको फाल्गुनन्द टोलमा निर्माण गरिएको किरात तियेङलुङ माङहिम समुदघाटन एवं महागुरु फाल्गुनन्दको पूर्ण कदको शालिक अङसीमाङ तथा अङसीमामाङको हस्तवाहुलीबाट अनावरण हुने कार्यक्रम रहेको गुरु सवार संयोजक संस्था माङगेन्ना समितिका अध्यक्ष योङहाङले जनाएको छ ।

यसरी झापाको केर्खामा आयोजित कार्यक्रम समापनपछि झापाको दमक नगरपालिका वडा नं. ६ मा अवस्थित किरात युमा माङहिममा पनि मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको सवार हुने कार्यक्रम रहेको छ ।

सो माङहिममा स्थापित महागुरु फाल्गुनन्दको पूर्ण कदको शालिक अनावरण कार्यक्रमको लागि अङसीमाङ तथा अङसीमामाङज्यूहरुको सवार हुने भएको छ । यसरी केर्खा र दमकमा आयोजना गरिएको कार्यक्रममा मात्र नभई किरात धर्मावलम्बीहरु बसोबास भइरहेको संसारको जुनसुकै ठाउँमा पनि महागुरु फाल्गुनन्द जन्मजयन्ती भव्यताका साथ मनाउने तयारी भइरहेको किरात धर्मावलम्बीहरुको भनाई छ ।

जन्मजयन्ती कहाँ कहाँ मनाइन्छ ?

किरात धर्मावलम्बीहरु बसोबास रहेको विश्वको विभिन्न मुलुकमा महागुरु फाल्गुनन्द जन्मजयन्ती कार्यक्रम मनाउने गरिएको छ । किरात धर्मावलम्बीहरु बसोवास भइरहेको नेपालको विभिन्न जिल्लाहरुमा जन्मजयन्ती मनाउने गरेका छन् । किरातजन्य धार्मिक तथा सामाजिक संघ संस्थाहरुले विशेष गरी फाल्गुनन्द जन्मजयन्ती मनाउने गरेको किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताएका छन् ।

नेपालको ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, उत्पत्यकाको काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, उदयपुर, खोटाङ, भोजपुर लगायतका जिल्लाहरुमा साथै प्रत्येक किरात माङहिमहरु र महागुरु फाल्गुनन्दको शालिकहरुमा भव्यताका साथ जन्मजयन्ती मनाउने तयारी भइरहेको जनाइएको छ ।

पछिल्लो समयमा नेपालमा मात्र नभई भारतको विभिन्न प्रान्त, भूटान, हङकङ, बेलायत, मलेसिया, कतार, दुबइ, साउदी, ब्रुनाई, कोरिया, जापान, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, क्यानडा, साइप्रस लगायत विश्वका विभिन्न मुलुकहरुमा महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाउने गरिएको छ । किरात धर्मदर्शनका महान दार्शनिक एवं राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन १४१ औं जन्मजयन्ती समारोह मनाउने गरिएको छ ।

सम्बन्धित खवर