किरात धर्मावलम्बीहरु झै झगडा नहोस् भन्ने भावनाका छौं : अङसीमाङ आत्मानन्द सेइङ - Mangsebung News
  • शुक्रबार, कार्तिक २९, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात धर्मावलम्बीहरु झै झगडा नहोस् भन्ने भावनाका छौं : अङसीमाङ आत्मानन्द सेइङ

झापा । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ले किरात धर्मावलम्बीहरु झै झगडा नहोस् भन्ने भावनाका रहेको बताउनुभएको छ ।

मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको १४१औं जन्मजयन्तीको अवसरमा झापाको कमल गाउँपालिका–३‚ केरखा‚ फाल्गुनन्द टोलमा आयोजित कार्यक्रममा धर्मगुरु लिङ्देनले आशीर्वचन दिनुहुने क्रममा सो कुरा बताउनुभयो ।

‘किरात धर्मावलम्बीहरू सधैं शान्तिको पक्षमा छौं,’ उहाँले भन्नुभयो‚ ‘विश्व शान्ति मानव एकता होस् । मानव मानव बाझेर के पाउने ! सद्भाव राखेर अगाडि बढ्ने भन्ने हाम्रो कामना हो ।’

धर्मगुरु लिङ्देनले नेपाल अहिले अप्ठ्यारो अवस्थामा रहेकाले जनता एकापसमा बाझ्न नहुने बताउनुभएको हो ।

‘अहिले नेपालको वातावरण अप्ठ्यारो भएको छ‚’ धर्मगुरू लिङ्देनले भन्नुभयो‚ ‘नेपाली जनता नबाझौं । नजुधौं । नबाझी‚ नजुधी देशलाई विकास गरौं। देशलाई उन्नतिशील बनाऔं । यही नै मेरो आशीर्वाद छ ।’

आशीर्वचन दिने क्रममा धर्मगुरु आत्मानन्द लिङ्देनले अहिले सबै नेपाली मिलेर देशको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो । ‘देशको रक्षा गरौं । देश रहेन भने हामी हराउँछौं‚’ कार्यक्रममा उपस्थित प्रदेश नं. १ का मुख्यमन्त्री हिकमत कार्कीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो‚ ‘हाम्रो प्रदेशका मुख्यमन्त्री यहाँ आउनुभएको छ । उहाँ देशको रक्षा गर्ने ठाउँमा पुग्नुभएको छ । देशको रक्षा गर्नुहोला । देश भोलि इन्डिया र चाइना भयो भने हाम्रो उपाय छैन। त्यसैले गर्दा देशलाई डुब्न नदिनू । म त्यो ठाउँमा पुगेको छैन ।’

धर्मगुरु लिङ्देनको पृथ्वीको रक्षाका लागि सम्पूर्ण मानिस गम्भीर हुनुपर्ने उपदेश दिनुभयो । ‘हामीले पृथ्वीलाई खन्नु‚ जोत्नु‚ सुरुङ खन्न मात्र जानेका छौं‚’ उहाँले भन्नुभयो‚ ‘पृथ्वीलाई बिमार लाग्यो सकिन्छ । पृथ्वी सकियो भने हामी पनि सकिन्छौं ।’

धर्मगुरु आत्मानन्द लिङ्देनले पृथ्वीमा समय समयमा प्रलय भएको उल्लेख गर्नुहुँदै भविष्यमा पनि यस्तो प्रलय हुनसक्ने सम्भावना रहेको बताउनुहुँदै सचेत गर्नुभयो । तर‚ यस्तो अवस्था आउन नदिन मानिसले माङको सेवा गर्नुपर्ने सुझाव दिनुभयो ।

‘पृथ्वीले शरीर फेर्दा जल‚ अग्नि प्रलय‚ हावा प्रलय हुन्छ । यस्तो हुँदै आएको छ‚’ उहाँले भन्नुभयो‚ ‘पृथ्वीमा मानिस धेरै भएका छौं । त्यसैले कुनै समय फेरि त्यस्तो हुनसक्छ । यस्तो नहोस् भनी हामीले माङसँग प्रार्थाना गर्नुपर्छ ।’

पृथ्वीमा यस्ता नराम्रो घटना हुन नदिन माङलाई सम्झिनु र सेवा गर्नुपर्ने धर्मगुरुले उपदेश दिनुभयो । ‘हामीले माङलाई सम्झिनुपर्छ । माङलाई सम्झियौं भने हामीलाई रक्षा गर्नुहुन्छ‚’ उहाँले भन्नुभयो‚ ‘महागुरुले भन्नुभएको छ‚ तिमीहरूले सत्य चिताउनु । सत्य चितायौ भने माङ प्रसन्न हुनुहुन्छ । माङ प्रसन्न हुनुभयो भने तिमीहरुको चिताएको‚ हाँकेको सम्पन्न हुन्छ ।’

सम्बन्धित खवर