कोमामा, संघको स्टाटस् अस्तित्व भेण्टिलेटरको बलमा - Mangsebung News
  • शनिबार, माघ १८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोमामा, संघको स्टाटस् अस्तित्व भेण्टिलेटरको बलमा

  • विक्रम फागो वनेम

किरात धर्म अस्तित्वमा उभिनु अघि महागुरु फाल्गुनन्दले हाङसाम साम्यो भनेर मुखरित गर्नु भो । जहानियाँ निरङकुश राणाकालिन शासकीय अवस्थामा महागुरुले आफूलाई छदम भेष बदलेर आफ्नो समुदायको सामाजिक, धार्मिक उत्थानार्थ गाउँघर परिभ्रमण गर्दै जानु भो । हातमा कमण्डलु, चिम्टा र त्रिशुल बोकी हिंड्नु यो महागुरुको हकमा आफैमा बाध्यता थियो । र त्यो राजा र राणा शासकहरु विरुद्धको एउटा् सशक्त प्रतिकात्मक विम्ब पनि थ्यो । दुर्भाग्य महागुरुको त्यो रंगरुपलाई आफ्नो समुदायले चिन्न र खुट्याउँन सकेनन् । उसताका चिन्न त सकेनन् नै । किनकी त्यो समयकालिन अवस्थामा हामीहरुको मान्छेहरुको चेतनास्तर उस्तै दुःखलाग्दो थ्यो । परन्तुः अफसोंच भनौं की, अहिले हामीहरु प्रविधि दुनियाँको डिजिटल नेट्वर्किङ सिष्टममा छौ । जसको कारण हरपल त्यसैको बन्धक पनि बनि रहेछौ ं । तापनि महागुरुलाई बुझ्ने र हेर्ने दृष्टिकोण खप्परको चेतनास्तर भने उहीँ राणाकालिन बौंउ बाजेकै पालाकै चक्रपथमा रुमलिन्दो छ । त्यसलाई यद्यपी आत्मासाथ नजर अन्दाज गर्न सकिरा छैनौं । अहिलेको प्रविधि युगले लोकलाई कहाँ–कहाँ पु¥याइ दिईसक्यो तर हामीहरुको बुझाई र चिन्तनको लेवल भने पुरातनवादी शैली मै कामयाब् भईरा अवस्थामा छ । महागुरुले आफ्नो समुदाय र सिंगो समाजको सामाजिक, सांस्कृतिक र धार्मिक रुपान्तरण गर्नको खातिर आफूलाई एउटा अध्यात्मवादी बटुवा यात्रीको रूपमा आफूलाई बदले र जीवनभर आफ्नो दिग्दर्शन अभियानको रूपमा बाँडिरहे । र सन्देशवाहक दुत बनेर आफ्नो भाषा, कला, संस्कृति, मुन्धुम, साम्यो र लिपिलाई संरक्षण सम्बद्र्धन अनि पुस्तान्तरण गर्नु भो । अतः यसैको आलोकमा महागुरुले ज्ञानगुनका शिक्षा–दिक्षा दिएर समाधिस्थ (२२ चैत २००५) हुनु भो । यो वहाँको आफ्नो समुदाय र समाज प्रतिको त्याग र समर्पण थियो ।

अत एवः आज महागुरुले त्यहीँ दिएर जानु भएको पथ–प्रदशकलाई एउटा मुख्य दिग्दर्शन आलोकको रूपमा पुस्तान्तरण हुन पुगेको छ । जुन पथ–प्रदर्शनलाई पुजनीय धर्मगुरु आत्मानन्द लिङ्देन सेइङज्यूले मुल–मार्गदर्शनको रूपमा दिशाबोध गर्दै आम किरात (आदिवासी÷गैर–आदिवासी) समुदायबीच लैजानु भएकोछ । जसको साक्षात्कार र आलोकले आम–मान्छेमा त्यसको दूरगामी असर र प्रभाव पनि देखिन्दो छ । साथै धार्मिक अनुयायीहरुको आस्था र प्रेम पनि उस्तै जाग्दो छ । तसर्थः त्यसैको मूलमियोमा महागुरुले पुस्तान्तरण गर्नु भएको दिग्दर्शन हाङसाम साम्योलाई अन्ततगोत्व किरात साम्यो अर्थात किरात धर्मको नाउँमा यसको अस्तित्व उठान् र न्वारान गरियो अतः श्री–३ राणाकालिन सत्ताच्युत (२००७) बने नि फेरि अर्को श्री ५ सरकार (पञ्चायती तानाशाह राजा) महेन्द्रको आगमन (२०११) भइसकेथ्यो । उनी उस्तै कठोर र निरङकुश निर्दयी थिए । उनै राजाले एक जाति, एक भाषा र एक धर्मको अविलम्ब नीति स्वरुप अति हिन्दु बाहुनवादी राज्य विस्तार लागू गरे । उसताका पुज्य धर्मगुरुज्यू वयसंक् टिनेजर (१७) उमेरमा हुनुहुन्थ्यो सायद । उसताका महागुरुज्यूको दिग्दर्शनलाई थाप्लोमा बोक्नु त उसै नि थ्यो नै । उस्तै देशको तानाशाह परिस्थितिकालमा महागुरु र वर्तमान गुरुज्यूले त्यस्तै वेथिति र नियतिहरु समान रुपले भोग्नु भएको थियो । त्यस्तो त्रासदीपूर्ण विषम परिस्थितिमा पुज्यगुरुज्यूले महागुरुज्यूकै पदचापहरुलाई अक्षरस पालना गर्दै यात्रारत रहन्दा बस्दा, त्यस्ता अनेकन बर्बर दमन र पीडादायी सास्तीहरु भोग्नु÷झेल्नु पर्यो ।

फिरः तो त्यस्तो त्रासदीपूर्ण दमनकारी अवस्थामा हिजो महागुरुज्यूले वीजारोपण गरिदिनु भएको सामाजिक, धार्मिक जागरण अभियानलाई वर्तमान धर्मगुरुज्यूले किरात धर्म तथा साहित्य उत्थान संघको नाममा बदल्नु भो र राज्यको अंगभार भित्र संस्थागत बोर्डको रूपमा उभ्याउने साहस औं आँट गर्नु भो । आज यसैको (कि ध. तथा. सा. उ. संघ) अस्तित्व उठान्, उत्खनन् र निवर्तमान नेतृत्वकालसम्म आइपुग्दाको इतिवृती÷सेरोफेरो भित्र रहेर मेन्जो सार–संक्षेपमा यो आलेख प्रस्तुत गर्न खोजिएकोछ ।

संघको अस्तित्व उठान् र संस्थागत दर्ता प्रकृया

किरात धर्मलाई संस्थागत अस्तित्वको रूपमा उठान् गर्न र उभ्याउँन त्यो समयकालमा परिकल्पना गर्नु मात्रै पनि अकथ्य गार्हो विषय थियो । संस्थाको नाम जुर्यो । तर संस्थालाई राज्यको अंगभारमा आधिकारिक दस्तखत गर्न भने उति सहज थिएन । उसताका शासकीय अवस्था उहीँ थियो । मात्र राजगद्दीमा राजा बदलिएका थिए । राजा वीरेन्द्र थिए । त्यही समय निर्दल की ? बहुदल ? भन्ने राजनीति विद्रोह पनि चलिरा थियो । उसताका बामे–कांग्रेस भन्ने खुब गाउँघर भरी हल्ला चले थियो । जो चाहीँ पञ्चायती शासन विरोधी र प्रजातन्त्र ल्याउँन चाहन्थे । मतलव उनीहरु जन विद्रोही ट्याग लागेका बहु दलवादी न थिए । त्यो वेला आम जनताबीच निर्दल कि ? बहुदल रोज्ने ? भन्नेमा कित्ता–काटाकाट् भए थियो । जुन शासकीय स्वरुप बदल्ने ? नबल्दने भन्नेमा जनमत संग्रह (२०३६) निर्वाचन हुँदै थियो । त्यस्तो अप्ठ्यारो विषम परिस्थितिमा धर्मगुरुज्यू धर्म संकट्मा उभिनु भा थियो । अन्तः भोलि जनमत संग्रहमा कसलाई मत जाहेर गर्ने ? भन्नेमा थियो । आखिर पञ्चायती शासकले आफ्नो समुदायको मौलिक हक अधिकार स्वतन्त्रता निषेध गरेसी त्यसको प्रतिशोध बदलाबमा जसै बहुदल कित्ता मै उभिने र जनमत गर्ने निचोट्मा पुग्नु भाथ्यो । उसताका देशमा पान्थर यासोकका पद्मसुन्दर लावती शक्तिशाली मन्त्री बनेका थिए । अन्तः उनै मन्त्रीको सहजीकरणमा लिम्बुवानको पान्थर थुमको सदरमुकाम फेदेनमा किरात धर्म तथा साहित्य उत्थान संघ नामक संस्था/संगठन दर्ता गरिएको थियो । उक्त संस्था धर्मगुरुज्यूको नाममा दस्तखत भएको हो । जिप्रका.(जिल्ला प्रशासन/सिडिओ.कार्यालय) मा २०३६ माघ ७ गते, च.न.–१७१६ र दर्ता न.–०२ मा आधिकारिक प्रमाण–पत्र प्राप्त गरेको थियो । उक्त उल्लेखित संस्थामा गुरुज्यू संस्थापक अध्यक्ष र चकुसे.(चन्द्रकुमार सेर्मा) महासचिव रहनु भएको हो । उसबेलाको समय परिस्थितिकालमा यी चकुसे र (पद्मसुन्दर लावती) पसुला. राजनीति ओहोदामा अग्लो कदको कारण ज्यादै शक्तिशाली थिए ।

(किरात धर्म तथा साहित्य उत्थान संघ नामक संस्थारसंगठन दर्ता गर्दा महत्वपुर्ण सहजीकरण गर्नुभएका तात्कालिन मन्त्री पद्मसुन्दर लावती )

त्यहीँ समयकालमा अर्का सामाजिक ब्यक्तित्वको रूपमा अग्लै कदमा उभिनु भएका केसिंयो.(केहेरसिं योङहाङ) पनि थिए । यी शक्तिशाली ब्यक्तिहरुलाई आफ्नो हातमा लिए आफ्नो सरकारी कामकाजमा फत्ते/सहयोग गराउँन सहज हुन्छ भन्नेमा गुरुज्यूको तेस्रो आँखाले सिम्बोलिक् स्वरुपमा बुझि देखिसक्नु भाथ्यो । अन्ततः जे देख्नु र चिन्नु भो आखिर त्यो राज्यसँगको वैद्यता लिएरै छाड्नु भो । यो मामिलामा यी ब्यक्तित्वहरुको अतुलनीय योगदान र भूमिका रहिआएको छ । सो मानेमा पसुला बाहेक, चकुसे.र केसिंयो. यद्यपी गुरुज्यूको पथ–प्रदशक/पदचापमा निरन्तर सेवारत छन् । किरात धर्म सम्बद्ध संघ/संस्थाको प्रमुख ओहोदा र भूमिकाहरुमा अहिलेतक् उनैद्वय ब्यक्तित्वहरुको निरन्तरताको लगाव उस्तैनै रहिआएको छ ।

त्यहीँवीच शक्तिशाली बनेका गृहमन्त्री, पसुला.प्रजातन्त्रको प्रादुर्भावपछी(२०४६) भने शक्तिहीन् देखिए । तै पनि राप्रपा.(राष्ट्रिय प्रजातन्त्र पाटी)मार्फत मध्यावधी निर्वाचन(२०५४)मार्फत आफ्नै थातथलोबाट संसद जिते,र कृषिमन्त्री पनि पड्काउँन भ्याएथे।दुर्भाग्य भनौं,लिम्बुवानको वादशाह मानिने उनै नेता,मर्दाचेन् गुमनाम बनेर आफ्नो कायाचोला(२७–जेठ–२०७२) विसर्जन गरे ।उनै वादशाहले आफ्नो राजनीति शक्ति दाउमा राखेर किरात धर्म सम्बद्ध संस्था,किरात धर्म तथा साहित्य उत्थान संघलाई राज्यको अंगभार बनाउँन उनले गरेको महान योगदानलाई संस्थाको नेतृत्व वाहकहरुले कति सम्झ्यो?र के सम्मानार्थ तोम्मा गर्न सक्यो?भन्ने विषय प्रसंगले पनि कभी–कभी यादगार दिलाउँछ।अभावमा पाएको/लगाएको गुन्, आफ्नो भरिपुर्ण भएसी,मान्छेले त्यो गुन् विर्सन्छ रे,भनिन्छ।सायद आजको तितो यथार्थ र सत्य पनि यहीँ हो की?बरै..!त्यो बेला किरात धर्म सम्बद्ध संस्था सरकारी निकायमा दस्तखत गर्नलाई सफलता हासिल गर्नु भनेको एउटा ठुलो युद्ध जित्नु जस्तै थियो । युद्व जितेपनि प्राप्त गोल्ड्मेडल छातीमा गर्वका साथ देखाएर हिड्ने अवस्था भनै अझै थिएन र उहीँ खासखुस साउतीमारमै संस्थाको गतिविधिहरु गर्नुपर्ने विवशताहरु थिए । यस्तै अप्ठ्यारा बाधा, अड्चन र उल्झनहरुको बीच गुरु माङगेन्ना सेवा तदर्थ समितिका(२०३४) तत्कालीन संयोजक अध्यक्ष केसिंयोको नेतृत्वमा धर्मगुरु ज्यूको नुमाङगेन्ना सेवा (मंिसर १८ र १९) शुभजन्मोत्सव कार्यक्रमहरु भने साविक बाँझों ९,लारुम्बा स्थित गुरुनिजी आश्रममा निरन्तर गर्दै आइ रहयो । जुन अहिले अन्तर्राष्ट्रिय स्तरमै समृद्धिपूर्ण विशाल नुमाङगेन्ना कार्यक्रम आयोजनाहरु सम्पन्न हुँदै आइरहेछन् । दुःखद पक्षचेन् के रहयो भने, स्वयंम् गुरुज्यू नेतृत्वको संस्थाले (संघ) आधिकारीक संस्था सञ्चालनको लाइसेन्स प्राप्त गरेपनि खुलेआम संगठन निर्माण र कार्यक्रमहरुको आयोजना विस्तारहरु गर्न पाइन्नथ्यो । तैपनि यसले आन्तरिक रुपमै किरात धर्म विशेष अथाह भूमिका र जिम्मेवारी कार्यहरु गरेथ्यो । प्रजातन्त्र (२०४६) प्राप्तिपछि मात्र संस्था स्वतन्त्र रुपले फुकुवा बन्यो । त्यसपछि मात्रै संघले छलाङ् मार्ने अवसर पायो । नयाँ संविधान (२०४७) जारीपछिको ५ बर्षपछि मात्र यो संस्थालाई पुनः पान्थर, फेदेनमै २०५१ चैत २४ गते, दर्ता न.४६ मा दस्तखत ऋनो गर्यो । संघको तेस्रो केन्द्रीय महासम्मेलन भने, गुरुज्यूकै नेतृत्व मै, झापाको दमकमा (२०५१) सम्पन्न भएको थियो । यहीँ महासम्मेलन मार्फत गुरुज्यूले आफ्नो थाप्लोमा बोकी रहनु भएको संघ÷संस्थाको नेतृत्व हस्तान्तरण डिल्लीराम चाम्लिङ राईलाई सुम्पन्नु भएको हो । गुरुज्यूले विषम परिस्थितिमा जिम्मेवारी वहन गर्नुभएको संस्थाको नेतृत्वभार करिवन डेढ दशक (१५ बर्ष) लामो समयपछि विसाउँने सु–अवसर प्राप्त गर्नु भएको हो ।

संघको तेस्रो केन्द्रीय महासम्मेलन(झापा, दमक२०५१)बाट चयन हुनुभएका अध्यक्ष डिल्लीराम चाम्लीङ 

संघको पहिलो अधिबेशन (२०३६) पान्थर थुमको यासोकमा भूमिगत रूपमा भएको थियो । यहीँ अधिबेशनले नै संघको आधिकारिक नाम र संस्थालाई राज्यको अंगभारको रूपमा स्विकृति स्वरुप अनुमोदन दस्तखत गराउँने भनि निर्णय पारित गरेको थियो । अन्तः संघले राज्यको निकायमा मान्यता दर्ता लिइसकेपछि, आन्तरिक रूपमा थुप्रै संस्थागत गतिविधिहरुको कार्यहरु भए, गरे । पाँच बर्षे कार्यकालको समाप्तिपछि दोस्रो अधिबेशन (२०४१) गुरुनिजी आश्रममा भएको थियो ।

दोस्रो नेतृत्वकाल र संस्थाको कायाचोला

गुरुज्यूको समकालीन अवस्थाको परिस्थितिमा साथ सपोर्टरका अर्का सहयोगी अनुयायी भक्त थिए, डिराचा.(डिल्लीराम चाम्लिङ) उनी हक्की र निडर र स्वभावका थिए । उनको जीवनकाल पहिले वेलायती सिपाहीं हुँदैं, भारतीय सिपाहीँमा भर्ति भएथे । लामो समयकाल वृटिसमा जागिर खाएनन् । फेरि भारतीय सिपाहीँमा भर्ति हुन पुगे । त्यहाँ नि उनको कायाचोला र मन रम्न सकेनन् । अन्तः त्यहाँबाट पनि विरक्तिएर कुलेलम् ठोकेपछि उनी भगौडा सिंपाहीँको ट्यागमा दर्ज हुनपुगेथे । हाल भन्नुपर्दा उनी रिकुटे लाहुरे जस्तै भा हुन् । लाहुरे मोहबाट मुक्त बनेपछि उनै डिराचा समय बस्तुस्थिति क्रमले गुरुज्यूको अनुयायी भक्त बन्न पुगे । गुरुज्यूको समिपमा अनुयायी सेवक बन्न पुगेसी उनी प्रिय चेलोको रूपमा दर्ज हुन पुगे । अन्तः उनै चेलोलाई पहिलोपटक संस्थाको नेतृत्व सम्हाल्न दिइएको थियो । गुरुज्यूको समिपमा हरपल साथ–साथमा रहनुले उनलाई धार्मिक आचारसंहिता अनि धर्मको दिग्दर्शन र संस्थाको कार्यविधि योजना नीतिहरुबारे नजिकैबाट बुझ्दै गएका थिए । जो गुरुज्यूले आत्मासाथ दिशाबोध गर्दै लग्दै जानू भा थ्यो । जसको कारण पनि डिराचा.लाई संस्थाको नेतृत्व सुम्पिन गुरुज्यूलाई सहज लागेको हो र थियो । लिम्बु वादको मात्र ट्याग बोकेको संघको नेतृत्वमा पहिलोपटक नै गुरुज्यूले खम्बु/राई समुदायका प्रखर किरात धार्मिक अनुयायी बनेका डिराचा.लाई नेतृत्व हस्तान्तरण अर्थात सुम्पिनु भा हो । यो आफैमा एउटा ऐतिहासिक उपलब्धि थियो । त्यसयता भने संघको नेतृत्वमा उनी बाहेक अरु कोही पनि राई समुदायबाट मनोनित हुन वा पाउँन सकिरा छैन् ।

विवादको चेसुङ र संघको हविगत

संस्थामा डिराचाको नेतृत्वकालको आयु भने पाँच बर्षको थियो । दुर्भाग्य उनको नेतृत्व आयुको, चीरायु र दीर्घायु बन्न सकेन । पुग–नपुग् अढाई बर्ष नि वित्न नपाउँदै उनको नेतृत्वकाल विवादको रोग लाग्न पुग्यो । र त्यसको घेराबन्दीमा बन्धक बन्न पुगे । त्यो विवादको मुख्य कारकतत्व निशाना बनेथ्यो, कोरियन वन, अर्थात याङ÷पैसो थियो । जसलाई कोरियाबाट चेसुङ÷कोशेली भेटिको रूपमा पान्थर थुम गोपेटार निवासी शुभेच्छुक अनुयायी जीतवहादुर सिगु लिम्बुले पठाई दिएथे । त्यसताका उनी श्रम रोजगारको शिलशिलामा कोरिया गएका थिए । उनले संस्थाको हितार्थ कोरियाली वन÷पैसोको भेटी रकम भने निकै मोटो पठाएथे । पोईसोमा महादेवको त त्रीनेत्र बल्छ रे।मतलव चढाएको भेटीदानमा भगवान त लोभिन्छन् भनिन्छ।पोईसोको अभावमा खडेरी परेको बेला, कोरियन वन पोइसोको भारी वर्षा बर्सेपछि पोईसोमा नरुझ्ने, न लोभिने र नदुख्ने अनि आशक्ति नदेखाउँने को थियो होला र ? कठै..! अन्तः त्यहीँ कोरियन वनको सौदा भनौं या चेसुङ त्यसैको भारले डिराचा.को नेतृत्व एम्बुसमा पर्यो, उनलाई नैतिकताको कठघरामा उभ्याई दियो । उनले संस्थाको आजीवन सदस्य सभाको(२०५४) सम्पन्न भेलाको प्रतिवेदन–पत्रमा तत्कालीन महासचिव एम.वि.माखिमले सफाई दर्ज पेश गरेका थिए । तर अफसोंच त्यो सभाले समन्वयकारी भूमिका र निकास दिनुको खातिर सभाको शोभा थिएन । बस्तुतः सभाचेन् सबामा (बाँदर) परिणत भएथ्यो । त्यस सभामा प्राय संघकै पदाधिकारी र सदस्यगणहरुले एकाध बाहेक, डिराचालाई बेश्कनै गाली–गलौजले भकुरेका थिए । त्यो धार्मिक सभामा गाली–गलौजको रूपमा त्यसता कयैंन निर्लज अपशब्दहरुको बाण हुत्याइयो । जुन त्यो धार्मिक सभाको हकमा शोभनीय रत्ति देखिन्न थियो र थिएन । भलैःआफ्नो नेतृत्वमाथी अविश्वास, शंका र घृणित बोलीको बुलेटहरुले छेड्दा पनि, उनै डिराचाः भने आफ्नो सभामुखको कुर्सीबाट न्यास्रो देखिने मुहारको अधरबाट फिका मुस्कानहरु बाँडिरहेको प्रतीतमा देखिन्थे । यो उनको हकमा धार्मिक आचरणमा देखिएको नम्रता र सहनशीलताको सौन्र्दर्यता थियो । यो नेतृत्व हुनुको ब्यक्तित्व, साधक र धार्मिक अध्यत्मिकता हुनुपनि हो ।

संस्थाको अस्तित्व विस्तार र गतिविधिहरु तिब्रत्तर गतिशील हुनुपथ्र्यो, दुर्भाग्य त्यहीँ चरम विवादले संस्थाको गतिमा ब्रेक लाग्यो । संस्था जहाँ पुग्नु पथ्र्यो, आखिर त्यहीँ आईसब्रेक बन्न पुग्यो । अन्ततः आईसब्रेक बन्न पुगेको संस्थालाई ब्रेक् थो गर्न डिराचा. नेतृत्वको समिति माथि गुरुज्यू समक्ष अविश्वासको प्रस्ताव लैजाने संस्थाका तहगत जिल्ला समितिहरुले निर्णय गरे । संस्थाको विधानत आजीवन सदस्य संख्याको २५%. प्रतिशत आजीवन सदस्यहरुले संस्थाको नेतृत्वप्रति विवाद, असहजता र नैतिक इमान्दारिता नदेखिए संरक्षक गुरुज्यू समक्ष अविश्वासको प्रस्ताव दर्ज गर्दै, विशेष सम्मेलन बोलाउँन/गराउँन सक्ने हक दिएकोछ । विडम्बना, डिराचा. नेतृत्वमा जे नगर्नु÷नहुनु पथ्र्यो, आखिरमा त्यहीँ अविश्वासको सिफारिस दर्ज र दस्तखत गराएरै छोडियो । उक्त अविश्वासको दस्तखत प्रस्तावलाई अन्ततः गुरुज्यूले स्वीकृति र अनुमोदन स्वरुप विशेषः सम्मेलनको तोक् आव्हान गरिदिनु भयो ।

विशेष सम्मेलन र नयाँ नेतृत्वको आगमन

संस्थाको विशेष सम्मेलन गुरुज्यूले आफ्नो नुमाङगेन्ना सेवा/शुभ–जन्मोत्सव लगत्तै २० मंसिर २०५५ माङसेबुङ मै सम्पन्न गराउँने तोक् आव्हान गर्नु भएको थियो । संस्थामा नयाँ नेतृत्व को आउला ? र होला ? भन्ने संस्थाको आधिकारिक सदस्यगण र सामान्य चिन्तन र बुझ्न सक्ने शुभेच्छुक अनुयायीहरुमा पनि उस्तै चासो, कौतुहलता र ब्याग्र प्रतिक्षित थिए । प्राय संस्थाका तहगत शीर्ष नेतृत्वहरुले नयाँ नेतृत्व चकुसेले सम्हाल्ने, र गुरुज्यूले उनैलाई मनोनयन गर्नुहुने चर्चासँगै लखहरु काट्थे । अतः नभन्दै उनै चकुसेलाई गुरुज्यूले नेतृत्वमा चयन गर्नु भएथ्यो । यी चकुसे.उनै हुन्, जो गुरुज्यूको नेतृत्वकालमा संस्थाको महासचिव जस्तो गरिमामय पदभार सम्हालेर गुरुज्यूलाई अतुलनीय सहयोग प्रदान गरेथे । उनी संस्थाको नेतृत्वमा जसै आउँनै पर्ने विशेष व्यक्ति नै थिए । उसो त उनी पनि त्यस समयकाल मै संस्थागत हिसाबले निष्कलंकित र विवादरहीत भने रत्तिभर थिएनन् नै । गुरुज्यू किंकर्तब्य विमुढमा थिए । प्रजातन्त्र प्राप्तिको आलोकमा दशक समय पुग–नपुग् नहुँदैं संस्थाले गति लिनु भन्दा आर्थिक लेनदेन र कारोबारको चरम विवादले संस्था लथालिङग र भताभुङग हुने अवस्थामा थियो । त्यस्तो अवस्थामा गुरुज्यूमा झनै चिन्ता र संकट आइपरेको थियो ।

संघको विशेष सम्मेलन(इलाम, माङसेबुङ२०५५)बाट चयन हुनुभएका अध्यक्ष चन्द्रकुमार सेर्मा

आइलाग्यो बाबू कोसँग लड्ने ? भन्ने नेपाली आख्याँन झै अन्ततः गुरुज्यूले उनै चकुसेलाई संस्थाको नेतृत्व बागडोर सम्हाल्न दिनुको दोश्रो विकल्प एकरत्ति थिएन । जुन गुरुज्यूको हकमा पनि त्यस्तै बाध्यता र विवशताहरु थिए । फिरः संस्था र धर्मलाई पूरापुर बुझ्न सक्ने, अनि लोजिकल्ली आँक्ने र हाक्ने उनी भन्दा प्रखर अग्लो कद भएका दोस्रो ब्यक्ति नै थिएनन् । तसर्थः पनि चकुसेको थाप्लोमा निर्विकल्प संस्थाको नेतृत्वभार सुम्पिनु भएको हो । अतः उक्त पदभार भने उनको हकमा डिराचा नेतृत्व कार्यकाल समयावधिको परिपुरक पदपूर्ति मात्र भएको थियो । यसको मतलब उनको नेतृत्व कार्यकाल भने, परिपुरकको रूपमा पुग–नपुग् अढाई बर्षजति मात्र रहेको थियो । त्यसपछि लगत्तै उनले चौथो केन्द्रीय महासम्मेलन २०५७ तोक् आव्हान गर्नुपर्ने बाध्यता विधान त अनुमोदन गर्नु छँदैं थियो ।

परिपुरक कार्यकाल र संस्थाको गतिशिलता

चकुसेले संस्थाको बागडोर सम्हाले लगत्तै केही राहत र उपलब्धिमूलक हुनेमा अपेक्षा राखिएको थियो । उनको यो परिपुरक नेतृत्वकालमा संस्थाले केही हद् भने आफ्नो काँचुलीहरु फेर्न सक्यो । द्रुतगतिमा संस्थाको संगठन विस्तार, आजीवन सदस्यता वितरण, जन–जागरण प्रशिक्षण अभियान र अक्षयकोष स्थापनालाई महत्वपूर्णताको साथ चलायमान गरेथे । चकुसे.ले अपेक्षा गरेभन्दा अनपेक्षित धेर/बढी कायापलट् गर्लान की भन्ने उनको संस्थागत अभ्यास्तताले त्यो आत्माबोध गराउँथ्यो । अतः संस्थामा पर्याप्त स्रोत साधनको अभावताकोबीच पनि उनले संस्थालाई द्रुतगतिमा परिणाममुखी नेतृत्व दिएथे । संस्थाको संगठन विस्तारहरुलाई राष्ट्र अन्तर्राष्ट्रिय क्षेत्रहरुमा पनि सविस्तार गरे । त्यस्तै किरात धर्म दर्शनको मूल प्रवाहलाई पनि बृहत प्रचारप्रसार गर्नमा संगठनको संयोजन भूमिका रहयो । उसो त उनको नेतृत्वमा डिल्लीप्रकाश साम्पाङ राई जस्तो दिग्गज ब्यक्तित्व महासचिवमा पदासिन थिए । त्यसमा प्रखर बहु आयामिक युवा व्यक्तित्व नबिन लिङ्देन पनि समितिको सचिवमा कार्यभार सम्हालेथे । उसै नि संस्थामा टिमवर्क पनि स्ट्रोङ नै बनेथ्यो र कार्य सम्पादन पक्ष पनि निर्वाध राम्रो रंगढंगले चलेको थियो । जसको कारण पनि उसवेलाको चकुसे.नेतृत्वको परिपुरक कार्यकालले केही उपलब्धिमूलक गतिविधिहरुको साथ थोर बहुत राहत स्वरुप बढी जस् र श्रेयको तारिफ अनि प्रशंसा बटुल्न भने सफल भएको हो ।

चौथो महासम्मेलन र नेतृत्व कार्य सम्पादन

फिरः तो चकुसे.को परिपुरक नेतृत्व कार्यकालको समयावधि समाप्तिपछि भने, संस्थाको नियामवली मुताविक चौथो महासम्मेलन सम्पन्न गर्न मुखरित बन्यो । उक्त महासम्मेलन साविक वहीँ झापा कै दमकमा २०५७ माघ २६, २७ र २८ गते तोक् आव्हान गरेथ्यो । प्रस्तुत आयोजित महासम्मेलन कार्यक्रम भब्यतापूर्वक सु–सम्पन्न भएको थियो । उक्त सम्मेलनले पुनः उनै चकुसेलाई पुज्य गुरुज्यूले मनोनयन गर्नुभएको थियो । उनको त्यहीँ नेतृत्वमा केही हेरफेर पदाधिकारी र सदस्यगणहरु बाहेक उहीँ साविक समिति टिमलाई नै अनुमोदन गरेको हो र थियो । चकुसेको हकमा यो उनको दोस्रो कार्यकाल थियो । उनको हकमा यो कार्यकालको अवधी आयुचेन् पुरापुर पाँच बर्षको रहेथ्यो । आफ्नो नेतृत्व पदभारको पूर्ण चिरायु समयकालमा कागजी दस्ताहरुमा उल्लेखनीय कार्य सम्पादनमा भूमिकाहरुको चाङ देखाईए पनि जसको कार्यान्वयनमा उदासिन मात्र देखिन पुग्यो । संस्थालाई संस्थागत विकास र पद्धतिको रूपमा अक्षरस चलायमान रुल अफ् रुढ्मा रुपान्तरण गर्न भने सकेनन् । अतः धार्मिक अनुयायीहरुको हकमा उनीहरुको आस्था र आम सार्वजनिक चासो राखिने विषयहरु उपर नेतृत्वले उति तादारुकता देखाएनन् । संस्थालाई महासंघमा बदल्ने निर्णय सिर्फ उदघोष मात्र बन्यो । संस्थाको नाममा एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने सपनाबीच बाटो मै बाटो भूलेको बटुवा यात्री जस्तो दोसाँधमा अलपत्र बन्न पुग्यो । संस्थाको अस्तित्वलाई राष्ट्र–अन्तर्राष्ट्रिय क्षेत्रहरुमा जोडे पनि जसले एकत्रित र समन्वय गर्ने संयोजनकारी भूमिकामा चुक्यो र उपेक्षाको रूपमा अहिलेतक् मौनतामा दर्ज बनी रहयो/गर्यो । अन्तः महागुरु फाल्गुनन्दज्यूको जन्मजयन्तीको विशेषः(कात्तिक २५) दिनलाई विश्व शान्ति तथा मानव एकताको रूपमा सम्बोधन गरिने र अथ्याईन लगाइयो ।

परन्तुः त्यसको सार्थकता, औचित्यता र उपयोगिताको न्यायिक सम्बोधन साथै कार्यान्वयन पक्षमा एकरत्ति दिशाबोध गरिएनन् । अझ त्यस्तै महागुरुज्यूले वि.स. १९८८ मा सत्यधर्म मुचुल्का दस्तखत गरेको बैसाक २४ गतेको दिन विशेषलाई पनि समाज सुधार दिवशको रूपमा सम्बोधन गरिन्दै आएको जग जाहेर नै छ । विडम्बना अफसोंच नै भनौं की, आखिर यो पनि उहीँ नारा मै मात्र विलय हुँदै गयो । संस्था र नेतृत्वको हकमा सुन्दर स्लोगान नारा भित्रको केवल देखावटी कबुलियती राजनीति नाराहरु भए झै मात्र अवस्थामा सिमित र परिणत भए ।

फिरः कहनुपर्दा संस्थाको मूल शीर्ष नामको टाउसँग साहित्य पनि नै जोडिएको छ । जसको उत्थान गर्नुपर्ने विषय हो । साहित्य भनेको मुन्धुमसँग अन्तर–सम्बन्ध जोडिएको दर्शन र भाषा लिपिलाई उजागर गर्दै पाठ्यपुस्तक, पत्र पत्रिकाहरु प्रकाशन गर्नुपथ्र्यो होला नि सायद । खोई त साहित्यको अस्तित्व ? पत्र–पत्रिकाको अस्तित्वमा किरात नाम्साङ र किरात समाचार प्रकाशनमा आएको हो । अन्तः चकुसे.आफै उनी धुरन्धर अध्येता लेखक नि हुन् । तर खोई संस्थामा साहित्यिक पुस्तकको ठेलीहरु ? न लाईब्रेरी होस् । अन्तः संस्थाको नाम अनुसारको काम सम्पादन हुन सकेन । आज यी सम्बोन्धित स्लोगान टपिक्स/ब्यानरहरु सिर्फ राजनीति दले पार्टीहरुको चुनावी घोषणा पत्रहरु जस्तै मात्र देखिन/सुनिन गएको छ । यी सम्बाेिन्धत टपिक्सको ब्यानरले न समावेशी एकता र शान्तिको याचनाहरु गर्न सकेको छ, न की सम्वाद, बहस÷छलफल र समन्वय नै गर्न सकिरा छ के । फिरः समाज सुधार गर्ने टपिक्सको ब्यानर बोकेर वर्षमा एकपटक (२४ बैसाक) सम्झिन्छ र फलाक्ने गर्छन् । उसो त सम्झें नि भो, नसम्झे नि बाल भएन । यी टपिक्सहरु सबै उपेक्षित अवस्थामा किनारा लाग्दै गएको देख्न सकिन्छ । अन्तः हिजोको उ दिनहरु गमेर उहीँ सम्झिने पानी छर्किने भन्ने गीतको भाव जस्तै बन्न पुगेको छ ।

विवादको पराकाष्ठा र संकट मोचन

चकुसे. विवादको घेराबन्दीमा त उसै नि थिए नै । दुधले नुहाएको विशुद्ध ब्यक्ति नि थिएनन् । उहीँ नहुनु मामा भन्दा..को आख्याँन जस्तै उनलाई संस्थाको बागडोर सम्हाल्न दिन गुरुज्यूलाई बाध्यात्मक आइलागे थियो । चकुसेको जीवनशैली सारमा लोकले देख्दा, सादगी देखेपनि उनको ब्यबहार त कृयाकलाप भने बढो महंगो नै थियो । उसताक् संस्थाको नेतृत्व थाप्लोमा बोक्दै गर्दा, उनी फिलहाल अहिलेको जस्तो आहार–विहारमा भने विशुद्व थिएनन् । परन्तुः संस्थाको नेतृत्वबाट रिटाएर भएसी मात्र उनी विशुद्ध धार्मिक अध्यात्मवादी योगीको रूपमा देखिए । अहिले उनको आफ्नो जीवनशैलीलाई बदलेको स्वरूपमा काफी देख्न/भेट्न सकिन्छ । त्यो समयकालमा उनमा जिम्मेवाल सुब्बाको जीन् र पंञ्चेको टाउके (प्रधानपञ्च/अञ्चालाधीस) हुनुको/बन्नुको शासकीय रवाफको प्रवृति र राजषीठाँट्को धङधङीहरु,उसै नि उनको धमनीमा दौडी रहेथ्यो । आखिर नेतृत्वमा रहन्दा बस्दा, उनको सादकी जीवनशैली भित्र देखिने महंगो खर्चवर्चहरुले र ऐस–आरामको पदयात्राहरुको कारण उनी आलोचित र विवादहरुमा मुछिन्दै गएका हुन/थिए । संस्थागत कामकाजीहरु कार्यहरुमा राजधानी धाउँदा र आउँदा भूईँमा गुड्ने यात्रा गरेनन् सायद । उनले खाली आकास माथिको यात्राबाट मात्र काठमाडौ ओर्ले/चढे । भनिन्छ संस्थाको अक्षयकोषको संकलन भेटी यात्राहरुकै दौरानमा उल्टै दानहरु चढाई दिए सायद ।

फिरः उनीसँग विवादको अर्को अग्लो पहाड बनेथ्यो संस्थाको भातृ युवा संगठन विस्तार गर्ने क्रममा किरात धर्म युवा संघको अस्तित्व निर्माण र गठन गरिनु पनि थियो । यस युवा संगठनले त्यो समय २०५८ को राष्ट्रिय जनगणना लक्षित किरात धर्म लेखौं भन्ने टपिक्समा, किरात ब्युँझ अभियान जस्तो लोभलाग्दो जन–जागरण कार्यक्रमहरु देश ब्यापी रूपमा चलाएथ्यो । मोरङको उर्लाबारीमा सम्पन्न यी युवापुस्ताहरुको सम्मेलनमा (फागुन २०५७) संगठनको शीर्ष टाउकोको विशेष नामलाई लिएर विवाद चुलियो । युवा संघ नभएर युवा समिति मात्र बन्न सक्ने प्रावधान मूल संस्थाको जिकिर रहेसी सम्मेलन विवादबीच नै टुङगिएको थियो । यसको पछाडि अनेकन थुप्रै कारणहरुको उल्झनहरु कारक बनेको थियो । यो आलेखमा चिरफार गर्न सम्भव भएन । यसै प्रसंगमा छुट्टै आलेख दस्तखत गरौंला । तथापी चकुसे. नेतृत्वको माऊ संस्थाले सन्तान जन्माएर शर्षि नाम विरुद्ध आफ्नै सन्तानको हत्या गरेथ्यो । यो उनको नेतृत्वकालमा भएको विवादास्पद, ऐतिहासिक घटना र एउटा कलंकको धब्बा थियो । यिनकै नेतृत्वकालमा पूर्वमा शसस्त्र माओवादी (२०५८–०५९) द्वन्द्वले घेराबन्दी गर्दै लगेथ्यो । त्यसमा गुरु आश्रम थातथलो रहेको किरात धार्मिक परिसर भित्रको सघन आधार क्षेत्रहरु लारुम्बा माङसेबुङ पनि माओवादीको निशानामा थिए । त्यस्तो द्वन्द्वको शंसय र त्रासदीबीच सुरक्षा÷कम्ब्राङ गरिरहेको अवस्थामा भने, चकुसे. माओवादी परस्त बनेका थिए । माओवादीसंग मध्यस्थकर्ताको नेतृत्व बन्ने लहड्मा यिनले झनै विवादहरु थोपरे, र विवादको केन्द्रमा तानी रहे ।

भलैः विवादहरु भन्दा पर,चकुसे. नेतृत्वकालमा भए,गरेको ऐतिहासिक उपलब्धि भनेकै,किरात धर्म अन्तर्राष्ट्रिय महासम्मेलन(२४, २५ र २६–कात्तिक–२०५७)संघीय राजधानी,काठमाडौमा सफलता पुर्वक सम्पन्न गर्नु हो।यहीँ सम्मेलनले पहिलोपटक आफ्नो मौलिक परिधान÷भेषभुषा,तागा र मेख्लीलाई सार्वजनिक गरेको थ्यो।र संसारको ध्यान खिच्न सफल बनेथ्यो।यो सम्मेलनले आफ्नो मौलिक पहिरनको रूपमा तागा–मेख्लीलाई चिनाएको थ्यो,र हो।यसको क्रेडिट् जस् र श्रेय,पुज्य गुरुज्यु,र उनै चकुसे.उनको सहयात्री पदासिन समिति टिमलाई जानेछ।अन्तःचकुसे.लाई सम्मेलन सफलताको जस् र श्रेयको पगरी गुथाउँदै गर्दा,अपजस् र कार्यक्रमको आर्थिक ब्यायभारमा पारदर्सी नदेखाएको आरोप र उस्तै आलोचनाको टिप्पणीहरु,त्यो सफलता संगै थाप्लोमा बोक्नु परेको बाध्यताहरु त छदैंथ्यो।खैरःजे होस् मान्छे कुनै छापावाल अकवरी सुन जस्तो त पक्कै हुन वा बन्न सक्दैन क्यारे । बन्न सक्ने मान्छे भनेकै त,केवल वहीँ तेजावी सुन जस्तो न हो।मान्छे गुण र दोषहरु संगै यो लोकमा जन्मिने हुन्।चकुसे.को क्यारेक्टरमा देखिएको पनि,आखिर त्यहीँ गुण र दोष न हो।अहिले ऊनी प्रखर ज्योतिषविद् छन्।अरुको मात्र भाग्य र चरित्र देख्ने, कोरी दिने ज्योतिषले,आफुलाई हेर्दाचेन् कस्तो देखिनु हुन्छ? भन्ने हो।धर्म या पाप कमाए,या त त्यो भन्दा अघोरै पुण्य कमाए?अहिले धर्मकाँटामा ऊनी आफै उभिने दौड्मा बाजी खेलिरा छन्।तथापी ज्युँदो हुँदा,या चोला उठ्दा होस्,आफुले कर्म गरेको योगफलको हिसाब–किताब सचित्र रूपमा,एकदिन पर्दाफास होला।तसर्थःउनले यो विवादास्पद धुलमिल आफ्नो छविलाई सफेद् रूपमा किनारा लगाउँलान्,।र संकट मोचन नि गर्लान् भन्नेमा अपेक्षा राख्न सकौं।साथै उनले गरेको अतुलनीय योगदान र समर्पण त्यागको कदर सम्मानको साथ सामाजिक न्याय पाउँन सकुन्,भन्ने हो, बस् ।

संगठनको प्लेटफर्म र प्रभावहीन् नेतृत्व

डकेन्द्रसिंह थेगिम डसिंथे संघको नेतृत्वमा पदासिन् र अनुबन्धित बनेपछि धार्मिक संगठनको नेतृत्व गर्न स्कूलको हेडमास्टर भए/बने जस्तो रत्ति सहज भने थिएन । जसको उनीसँग न ज्ञान, न अभ्यास, न त अनुभव नै थियो । उसै नि नयाँ अनुहारमा नेतृत्वको आगमन गराउँनु थियो । संगठनको प्लेट्फर्मको लिगमा जसै संघलाई डा¥ेयाउँनु थियो । उनको टिममा खारिएका पुराना अनुहारहरु पुनः अनुमोदित भएका छँदैं थिए । संगठनको संस्थापक कार्यकाल देखिन् उपाध्यक्ष पदभार सम्हाल्दै आएका स्व. देवदास राई र चकुसेको नेतृत्वकाल यता, महासचिवमा पदासिन् डिपी. साम्पाङ लगायत थुप्रै पदाधिकारी तथा सदस्यगणहरु संस्थाको पदभारहरुमा आसिन थिए । संगठन संस्थाको रुलले अनदेखा गरेको नेतृत्वसँग कामकाजीहरु गर्नु पुरानो टिमलाई असहज र सकस् हुनु यथार्थ र बाध्यता हो । संगठनको रुलले नेतृत्वमा जो कोही नयाँ अनुहारमा आए पनि उसलाई सम्मानपूर्वक स्वीकार्नु प्रकृयागत विधि हो । अतः संगठनले नचिनेको र रुल भन्दा परको मान्छे नेतृत्वमा मनोनित हुँदा पुरानो पदासिन समितिहरुलाई केही सकस् परेको हो । संघको विधानले धर्मगुरु संरक्षक तथा नेतृत्व छान्ने÷चयन वा मनोनयन नियुक्ति गर्ने सर्वाधिकार दिइएको छ । जसको मुताविक नेतृत्वमा को ल्याउँने ? कसलाई चुन्ने ? भन्ने सदिच्छा निगाह गुरुज्यू कै तजविजमा निर्भर रहन्छ । यो धार्मिक संस्था बढी विधिले चलाउनु पर्ने भएकोले पनि संगठनको रुल्समा देखिन्न । जो मुताविक नेतृत्व, संस्था र संगठनसँग लिगेसी र सम्बद्ध नभएको ब्यक्ति पनि रहन सक्ने हो । सो मानेमा गुरुज्यूको सदिच्छा अनुरुप नेतृत्व चयन हुने भएको हो ।

खैरः डसिंथेको पहिलो नेतृत्वको कार्याकाल समयको आयु किरात धार्मिक विधि संस्कार र संस्थासँग सम्बद्ध संगठनका आम कार्यकर्ता र शुभेच्छुक जनहरुसँगको चिनाप्रची साक्षत्कार अभियान मै वित्यो । खास् त्यस्तो सम्झनयोग्य उपलब्धिमूलक कुनै कामकाजहरु देखिएनन् । संगठन संस्थामा समय लगाव भन्दा बढी ध्यान जागिर र स्कूलतिरै रहयो । यथार्थमा नेतृत्वकर्ता जो त्यो हो जसले आफ्नो पहिलो कार्यकालमा शक्तिशाली प्रभाव छोड्न सक्छ । त्यसले नै नेतृत्वको वजन र उसको प्रभावको मापन गर्ने गर्छ ।

तसर्थः नेतृत्वमा रहनेले एउटा त्यो प्रभाव छोडेर छाप छोडेर जाने गर्छ । अफसोंच यी डसिंथे.को पहिलो नेतृत्वकाल भने बाटो विराएको बटुवा जस्तो रनभुल्ल अलपत्रमा परे झैं भए । त्यहीँ मानेमा उनको नेतृत्वकाल निस्प्रभावी निस्काम देखियो र बेखवर जस्तै बन्यो । अत एवः उनको हकमा यो संस्थागत कामको नेतृत्व गर्ने पहिलो प्लेट्फर्म र अवसर दुबै थियो । जसको कारण उनको यो नेतृत्वकाल सिकाई र अभ्यासमै अलमलि रहयो । भन्नुपर्दा संस्थामा उनको स्टाटस् परिचय र पहिचान, अघिल्लो नेतृत्व चकुसेः नेतृत्वकालले निर्माण गरेको संगठनवलको क्रेडित मात्र थियो र मेन्जो एउटा आधार बन्यो÷रहयो ।

छैठौं महासम्मेलन र कार्यान्वयन् उपलब्धिको लेखाजोखा

संघको छैठौं महासम्मेलन (२०६५) पनि साविक माङसेबुङ धार्मिक परिसर मै सम्पन्न भएको हो । अतः नेतृत्व चयन पनि गुरुज्यूले साविक उनै डसिंथेलाई पुनः सदर गर्नुभएको थियो । यिनको पहिलो नेतृत्वकाल भन्दा यो दोस्रो नेतृत्वकालमा केही उपलब्धिमूलक कार्य सम्पन्नहरु भएको देखिए, सुनिए । नेतृत्वकालको दोस्रो क्लासको भर्र्याङ् उक्लिनुले पनि केही सहजता दिलायो सायद । यो दोस्रो नेतृत्वकाल उपलब्धि मुलक देखिनु र बन्नुमा किरात धर्म दोस्रो ऐतिहासिक महासम्मेलन(२१, २२ र २३ चैत २०६७) पुनः सदर राजधानी काठमाडौ मै सफलता पुर्वक सु–सम्पन्न गर्नु हो । उनको यो दोस्रो पाँच बर्षे नेतृत्वकालको धर्म अन्ततः यहीँ कार्यक्रमले नाक् राखिदिएको हो ।

चकुसेको नेतृत्वमा शक्तिशाली प्रभाव छाडेको यो कार्यक्रमले दस बर्षपछिको दोस्रो निरन्तरता थियो । जुन कार्यक्रम चकुसेकै वलमा साहस औं आँटमा डसिंथेले कार्यक्रम हाँकेका थिए । जसले औधी ऐतिहासिक सफलताको छलाङ् मारेथ्यो । अत एवः समग्रतामा उल्लेख गरिनुपर्दा उनको पूरापुर पाँच बर्षे कार्यकालको सम्पूर्ण सफलताको उपलब्धि भनेकै सिफ् यहीँ अन्तर्राष्ट्रिय महासम्मेलन मात्र न हो । अन्तः यहीँ कार्यक्रम सफलताले उनको स्टाटस् बायोग्राफी प्रोफाईल लोकसामु खुलेको हो र थ्यो । नभए संस्थामा संगठनको नेतृत्व डसिंथेलाई आफ्नै सम्बद्ध कार्यकर्ताहरुले एकाध बाहेक उति चिन्न सक्दैनथे । यो तितोसत्य र यथार्थ पनि हो ।

गुमनाम सातौं महासम्मेलन र चियो चर्चा

संघ (संस्था) आफ्नो कार्यकालको सातौं महासम्मेलन (२०७०) तर्फ लाग्दै गर्दा, महासम्मेलन कहिले ? र कहाँ भयो ? पत्तोसम्म नभई गुमनाम रहयो । तर उनै डसिंथेले पुनः आफै नेतृत्वमा गुरुज्यूले सदर नियुक्ति गरेको दलिल् पेश गरे । र तेस्रो कार्याकाल पनि हात पारेसी, दले नेताहरुले सत्ता कब्जा गरेजस्तै यिनले नि संस्था कब्जामा लिएजस्तै अनुभूत गराए । यो नेतृत्वको तेस्रो कार्यकालको पदभार बोक्दै गर्दा डेराभाडामा बस्दै गरेको संस्थाको कार्यालय घरलाई खरिद गरे र घरभाडा मुक्त गरी संस्थाको आफ्नै स्वमित्वमा ल्याए । जुन कार्यालय घर (साविक दमक–१, हवल्दार चौक, झापा) अहिले निर्माण कार्यको अन्तिम चरणमा पुगेकोछ । यो तेस्रो कार्याकालले देखाएको उपलब्धि थियो । उनको नेतृत्वले उपलब्धि भन्दा धेरै चरम अत्याँसलाग्दा विवादास्पद उपलब्धिहरुको सिर्जना गरेको देखिन्छन् ।

दुई कार्यकाल बोनस्, गतिविधिहरु शून्य

यी डसिंथेले तेस्रो नेतृत्वकालपछि २०७० देखि अहिलेसम्मको नेतृत्व इलिगल रूपमा बोनसमा पदभार सम्हाली रहेका देखिन्छन् । यसताकासम्म संघले आफ्नो आठौं र नवौं महासम्मेलनहरु सम्पन्न गरिसक्नु पथ्र्यो र उनी भन्दा अब्बल नयाँ नेतृत्वहरुले संस्थालाई रक्त सञ्चारको रूपमा लिड् गरिरहेको हुनु पथ्र्यो । दुर्भाग्य संस्था कब्जामा लिएजस्तै उनको नेतृत्व जबर्जस्त कायम रहयो । उनी त असफल नेतृत्वमा दर्ज त भए नै । तर संस्थाको अस्तित्वलाई पनि दबाएर राख्न खोजे । संस्थाको संगठनमा एउटै नेतृत्वमात्र चीरकाल लामो समयसम्म पदासिन्(कार्यकालमा)रहीरहनु मुनासिव् होईन।त्यसले संगठन संस्थाको अस्तित्व सौन्दर्यतालाई कुरुप बनाउँदै लैजान सक्छ भने,दोश्रो नेतृत्व जन्माउन र पुस्तान्तरण गर्न सक्दैन।त्यस्तो नेतृत्व आफैमा स्वेच्छाचारी बन्दै जान सक्छ।तसर्थःत्यो नेतृत्व कार्याकाल,संघ÷संगठनमा होस् की देशमा,दुईपटक मात्र हुनुपर्छ।त्यो पद्धति प्रकृयाले मात्र सवल र क्षमताशिल नेतृत्वहरु आई रहन्छन्।अतःत्यसो नभएको अवस्थामा संगठन र नेतृत्व विकास निर्माणमा दुरगामी असर पार्छ।नेतृत्वमा ईत्छाशक्ति राख्ने युवापुस्ताहरु पलायन हुने र संगठनप्रति विस्तृष्णा अनि कामगर्न अनिच्छुक देखिन सक्छन्। यो इलिगल शून्य समयमा प्रदेश नम्बर १ को नाम कोशी भएको विरुद्ध, पहिचान पक्षधरको कित्तामा उभिएर केही गतिविधिहरुमा संग्लनता देखाए । पहिले एमालेमा उभिए । फेरि जसपा बनि टोपले । राज्यको सम्मान पदक पाउँने भएसी फेरि एमाले कित्ता मै फर्किन पुगे । अनि फेरि उम्मेदवारी टिकट दाउमा पाएपछि फेरि कट्टर अघोषित पहिचानी नेता बन्न पुगे । अर्थ बुझी नसक्नु नौ रंगी रूपमा देखिएका यी डसिंथे कहिले किरात सगरमाथा भन्दै उफ्रिए त कहिले लिम्बुवान किरात फलाक्दै हिंडे । कहिले नो केवलकार भन्दै मुक्कुमलुङ पक्षको आन्दोलनमा देखिन्छन् । तो, फिरः अहिले उज्यालो पार्टी नेपालको कुलमान घिसिङको (मन्त्री) फेरो समाएर हुईंकिरा देखिन्छन् । यथार्थमा उनको इलिगल नेतृत्वकालको मोष्ट वाण्टेड् सूचीहरुमा यी र यस्तै गतिविधिहरुमा उनको दिनचर्याहरु वित्दो छन् क्यार ।

अपितुः अहिले उनको नेतृत्वकालको सदस्य टिमहरु एकाध सिवाए प्राय सबै छिन्नभिन्न अवस्थामा छन् । उसो त पाका उमेरका कति पदासिन ब्यक्तिहरुले आफ्नो कायाचोलाहरु विसर्जन पनि गरिसके । विडम्बना यी डसिंथे भने बहुरुपी चोलाहरु फेर्दै संस्थाको नेतृत्वमा निर्लज्ज् छन् । संस्थाको अस्तित्व चोलालाई मुर्दा घरको कोमामा बन्धक बनाएर उनी भने निस्फिक्री राजनीति दलेहरुको पार्टीमा नेता बन्ने दौड्मा कुदिरा छन् के भन्ने ?

स्मरण रहोस् की, यो संगठन÷संस्थाले अर्थात चकुसे.नेतृत्वकालपछि भने, आफ्नो कार्यकाल आयुको समाप्तीपछि कुनैपनि गतिलो महासम्मेलनहरु सम्पन्न गर्न सक्ने आँट र साहस बटुल्न सकेनन् । भन्नुपर्दा दुर्भाग्य त्यस्ता इत्छा शक्ति मन पालेका मास्–लिडरहरु यो संस्थाले त्यसपछि यताचेन् कहिल्यै उभ्याउँन सकेन, कठै..!

चरम विवादको पराकाष्ठा, उन्मुक्तिको खोजी

संस्था/संघको नेतृत्व मोहले मुखदेखि नाकसम्म छाद्ने गरी पुग्दा पनि अझै अघाएका छैनन् । खड्के ओली कै ब्यहोरातिर लम्पट् भएझैं देखिए । उनको हकमा यो संस्थाको नेतृत्व सत्ता भोग जस्तै रहयो । त्यसैले पनि उनी चरम विवादमा मुछिएका छन् । यहाँ सबै फेहरिस्त सूचीकृत रूपमा खोतल्न चाहिन । जो यो लोकलाई जग जाहेर नै छ । त्यसो त उनी चाहेर–नचाहेर पनि चरम विवादको भूमरीभित्र रुमलिन पुगेका छन् नै । तर यिनले आफूसँगै संस्थाको अस्तित्व र गरिमालाई पनि रसतालमा धरायसी बनाउँन उद्वत देखिए । आफ्नो महत्वाकांक्षी मोहले नैतिक भ्रष्टताको पराकाष्ठा नाघ्दा र प्रहरी कष्टडीसम्म पुग्दा पनि धार्मिक नैतिक इमान्दारिताको आचरण देखाउन नसक्नुले लोकले आफनै कारण गिज्याउँने बने । संस्थाको स्टाटस् प्रोफाइल पनि अन्तत उनलाई हेर्ने आँखाले हेर्ने बनाई दिए । यो भन्दा दुर्भाग्य र निर्लज्जता के होला ? कठै..! तैपनि अहिले उनी राजनीति कित्तामा उभेर, संस्था भाँड्मा जाओस् खल्लीवल्ली नो बाल तर आफुचेन् जसै उन्मुक्ति खोज्ने भगिरथ प्रयासमा देखिन्छन् । तथापी उन्मुक्ति त्यति सहज देखिन्न । होला पदबाट उन्मुक्ति होला तर संस्थासँग जोडिएको अन्य नासोहरुसँगको सम्बन्धहरुबाट न्यायिक सफाई पेश नगरेसम्म उम्किन र उन्मुक्ति नमिल्ला की ? भलैः यो मामिलाको भागदौड्मा चकुसेभन्दा यी डसिंथे.उसै नि २, ४ कदम अघि नै देखिएका छन् । अन्तः यस्तो मामिलाको प्रतिस्पर्धीमा सहभागि जित्ने खेलाडीलाई स्याबास् भन्ने की थुईक्क. भन्ने नि ?

महत्वाकांक्षी मोह र पदीय दुरुपयोग

पदीय लोलुपता र महत्वाकांक्षीमा पनि यी डसिंथे. चकुसे भन्दा नि जसै अघि नै देखा परे । यीद्वय पात्रहरुको बाह्यय जीवनशैली र हाउ–भाउहरुको तादाम्यता कमेस्ट्री नमिले पनि, आन्तरिक महत्वाकांक्षीत्वचेन् हुबहु बेश्कनै मिल्न जान्छ्न् । यी डसिंथेसँग अहिले पनि किरात धर्म सम्बद्ध आधा दर्जन बढी संस्थाहरुको नेतृत्वमा होलान् । तर एउटै माखो पनि मार्न सकेको देखिएन । बरु ती सम्बद्ध संस्थाहरुको रश्वादान गर्नमा खुबै माखो मार्नमा बहादुरिता कमाए सायद । उनको हकमा पदभार ओगट्नु अनि दुरुपयोग गर्नु मात्र हो । उनी धार्मिक जस्तो विशुद्ध संस्थाको नेतृत्वमा पदधारण गर्छन्, दुर्भाग्य राजनीति दलेको पार्टीको कर्ता र उम्मेदवार नेता बन्छन् । पहिचान विशेषः साझा मुद्दाहरुमा संस्था आन्दोलनहरुमा सहभागि बन्छन् तर त्यसको हिस्सामा चुनाव नै लड्ने अग्राधिकार भने संस्थाको नियामवलीले दिएको छैन । यदी चुनावी उम्मेद्वार बन्न इत्छुक भए, संस्थाको नेतृत्वबाट नैतिक रुपले जसै राजीनामा दिने हो । हिजो पहिचानवादको पक्षमा उप–निर्वाचनमा (१५ बैसाक २०८१) उम्मेद्वारी हुँदै ंगर्दा जबर्जस्त राजीनामाको माग उठेथ्यो ।

यिनले सार्वजनिक रूपमा चुनावी आमसभा (माङसेबुङ) मार्फत गुरुज्यू समक्ष राजीनामा तोम्मा गरेको परिपत्र पढेर सुनाएथे । जुन परिपत्र गुरुज्यू समक्ष पुग्यो भन्नेमा विश्वास दिलाएनन् । चुनाव त हारे नै फिरः वहीँ संस्थाको पदभारमा आसिन् भएको देखिन पुगे । भन्नोस् यिनमा पदीय लोलुपता कति छ ? नैतिक धरातल कहाँ छ के ? एउटा धार्मिक संस्थाको नेतृत्वमा देखिने धार्मिकता र सभ्यता खोइ त ? अन्त यस्तो दैत्य चरित्र प्रवृतिले संस्थाको अस्तित्व माथि आँच आउन्न र ? संस्थाको माङगेन्ना÷गरिमा र आस्था लोकमा कसरी उठ्न र बाँच्न सक्छ ? नेतृत्वको चरम महत्वाकांक्षी हुनु र पदीय दायित्वको दुरुपयोग मात्र गर्दै जाने हो भने संस्थालाई सिंगो संगठन भित्र बाँध्नुको अर्थ र औचित्यता के ? नेतृत्व लोभी पापी भए के सम्बद्ध संस्थालाई पनि आफुसँगै त्यहीँ घृणा गर्न लायक कित्ता कै भड्खालोमा जाक्ने हो त ? यी यस्ता नेतृत्वहरुबाट संस्था सदा दूर र उन्मुक्त हुनैपर्छ । तबमात्र संस्थाले नयाँ काँचुलीको चोलाहरु फेरि रहन, अवसरहरु प्राप्त गरिरहनेछन् ।

प्रस्तावित दस्तावेजी प्रतिवेदन र अनुमोदन प्रकृयाहरु

संस्थाको विधानत नेतृत्व एकरत्ति चल्ल सकेनन् । विधानलाई धोती लगाएर शासक बने भए जसरी आफै स्टेट्, किङ र रुल बन्न खोजे । संस्थामा आजीवन सदस्य संख्या कति ? उनीहरुको दायित्व र भूमिका के ? संस्थासँग रिलेसन छ की नाई ? तहगत संगठन संरचना कति कृयाशिल र निस्क्रियता छन् ? संगठनहरु कहाँ भत्कियो ? र कहाँ पुनर्निमाण गरिनु पर्ने हो ? संस्थाको संगठन निर्माण हुनुको औचित्यता उद्वेश्यहरु कति थाहा छन् ? विधानमा (परिच्छेद–२,अनुसूची–५) उल्लेखित संस्थाको २० वटा जति उद्देश्यहरु कार्यान्वयन भए, भएनन् ? दुर्भाग्य भनौ त्यो २० मा एउटा पनि कार्यान्वयनमा आएको देखिन्नन् । के यी यावत संस्थाको सांगठनिक प्रकृयाहरुको विषय उपर नेतृत्व तह कति जानकार र उत्तरदायी छन् ? हेक्का होला की, नहोला ? यो विचरणमा गम् खान्छु ।

अतः यो आलेख थु¥याउँदै गर्दा, संघको सातौ महासम्मेलन (पुष २४, २५ र २६ गते÷माङसेबुङ) तोक् गरेको सुन्नमा रहयो । यहीँ सम्पन्न हुने सम्मेलनले सम्बद्ध आधिकारिक समितिमा रहेका पदासिन टिमले र सहभागि प्रतिनिधिहरुले जुन नेतृत्वले प्रस्तुत गर्ने दस्तावेजी प्रतिवेदनहरुलाई नजिकैबाट अध्ययन् गर्नु सक्नुपर्छ । बन्दसत्रमा अनुमोदन प्रस्ताव पेश गर्नु अघि नै उक्त प्रतिवेदनहरु माथि टिप्पणीहरु राख्ने र कोइसन मार्क दर्ज गर्ने । जब नेतृत्व तहले त्यसको आधिकारिक पुस्ट्याँई र कार्यक्रम हाउसमा जिम्मा लिदैंनन्, तबसम्म उक्त प्रतिवेदनहरु एकरत्ति अनुमोदन गर्न दिनु हुन्न । यदी हावातालमा त्यसै थपडी बजाएर अनुमोदन गरिए मान्नुस् की, त्यो भ्रष्ट नेतृत्वले सदाको लागि उन्मुक्ति पायो । तसर्थः यो नेतृत्वलाई नैतिक कठघरामा उभ्याउँन यो महासम्मेलन सु–अवसर हो । यसले उक्त संस्थामा दुई दशक लामो नेतृत्व गरेको डसिंथेको विशेषः साङगो–पाङगो अर्थात हुबहु–दुरुस्त घाम जस्तै छर्लङगै देखिन सकिने छन् ।

संगठन शुद्धीकरण अन्तिम निकास र निदान

यो संघ÷संस्थाले आफ्नो स्थापनाकालको झण्डै साढे चार दशक (४६) लामो समयकालको नेटो काट्दै गर्दा, संघको अस्तित्व यिनै नैतिकहीन् नेतृत्वको कारण संस्थाको अस्तित्व कोमामा पुगेको अवस्थामा छ । ब्लड क्यान्सर रोगी जस्तै थलिन पुगेको छ । संस्थाको हविगत आइसियु.कक्ष हुँदै कोमामा बसाइँ सारिएको रोगी विरामी जस्तै हुन पुगेको छ । जो भेण्टिलेटरको वलमा मात्र अन्तिम श्वास फेरिरहेको अवस्थाको क्षणमा बाँचिरहेको छ । विरामी कोमामा पुग्नु र भेण्टिलेटरको वलमा जोडिनु भनेको उन्नानसय प्रतिशत मरेतुल्य जस्तै हुनु हो, भने बाँच्ने आशा एक प्रसेन्ट मात्र रहन सक्नु हो । मात्र प्राविधिक कारणले कोमामा गएको विरामीको अन्तिम श्वास अड्केको छ भन्ने बुझ्नु पनि हो । मतलव यिनै नैतिकहीन् नेतृत्वहरुको (एकाध सिवाए) कारण पनि संस्थालाई कोमामा थन्किने गरिको रोगी बनाई दिएका हुन् । उसो त मुर्दाघरको कोमामा बासस्थान गरेर पुनः बाँचेर घर फर्कने विरामीहरु काफी छन् । जसरी ब्लड क्यान्सर रोगीको रगतलाई शुद्धीकरण गरी नयाँ रगत उसको शरीरमा सिञ्चित गरिन्छ । त्यस्तै अहिले किरात धार्मिक संघ÷संस्थाहरुमा पनि शुद्धीकरणको अत्यन्तै खाँचो देखिएको छ । संस्थाहरुमा पुरातनवादी शैलीका पदासिन कार्य कर्ताहरुलाई ब्याग् गरेर अहिलेको डिजिटल प्रविधि सिष्टमलाई आत्मासाथ लिएर जानसक्ने त्यस्ता नयाँ तन्नेरी जेञ्जी पुस्ताहरुको अति खाँचो देखिएको छ । जसको युग सापेक्ष नयाँ सिर्जना, विचार र नेतृत्व कार्य सम्पादनले किरात धर्मको दिग्दर्शनलाई नयाँ उचाईं मै पुर्याउँन सक्नेछन् । यसमा दुईमत नै छैन । यसको अन्तिम विकल्प भनेकै संघ संस्थाहरुसँग सम्बद्ध आधिकारिक पदासिन सम्पूर्ण कार्यकर्ताहरुलाई, सघन उपचार्थ शल्यक्रिया मार्फत शुद्धीकरण गर्दै लैजानु हो । यसो गर्नुको एकरत्ति विकल्पै होप÷छैन । मतलब संस्थामा जो धमिराको रूपमा भाइरस बनेर दुर्गन्ध फैलाउँदै लोभी पापीको रूपमा आफ्नो नैतिकतालाई लिलाम गरी जो बन्धक बनेकाहरु छन् हो त्यस्तो पदासिन् नेतृत्वहरुलाई धार्मिक कठघरामा उभ्याएर कार्बाही स्वरुप पदमुक्त गर्दै लैजानु आजको आवश्यकता हो र जुन कार्यान्वयन पक्षमा लैजान झनै ठूलो आवश्यकता खड्किएको छ । यसै शुद्धीकरण अभियानलाई सघन उपचार्थ शल्यक्रिया अर्थात अप्रेसन गर्नु भनिएको हो । यो शुद्धीकरणको अभियान किरात धर्म सम्बद्ध आधिकारिक सम्पूर्ण संघ/संस्था, संगठनहरुमा चलाइनु अहिलेको हकमा निकै ढिला नै भइसकेको अवस्था हो र छ । बस् तत्कालै यो अप्रेसनको अभियानहरु चलाउन सके, किरात धर्म र सम्बद्ध संघ÷संस्थाको संगठनहरुमा एउटा ऐतिहासिक नयाँ शक्तिशाली दिग्दर्शनको रक्त सञ्चारको प्रवाह र नुतन सन्देशहरुको वीजारोपण हुँदै जान सक्नेछन् । अहिलेको अन्तिम निकास र निदानको सघन उपचार पद्धति भनेकै यहीँ मात्र हो । अत एवः कोमामा पुगेको सम्बद्ध संघ/संस्थाको अस्तित्वमा निर्माण भएका संगठनहरुलाई यो भन्दा दोस्रो उपचार पद्धति र विकल्पको अर्को मार्गदर्शनको रोड्म्याप नै छैन । आगे, सोंच विचारहरु गरौं, बस् ..!

(लेखक माङसेबुङ मासिकका स्तम्भकार हुन् /प्रस्तुत लेख माङसेबुङ मासिकको मंसिर(२०८२)अंकमा प्रकाशित लेख हो)

सम्बन्धित खवर