सफल ढाका व्यवसायी - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सफल ढाका व्यवसायी

भनिन्छ, हरेक सफल व्यक्तिको जीवनमा असफलताको लामो कथा लुकेको हुन्छ । यसरी असफलताका कैयौं खुड्किलोहरु संघर्षबाट पार गर्न साहस बोकेर मेहेनत गर्ने व्यक्तिनै अन्तत समाजमा सफल व्यक्तित्व पनि बनेका छन् ।

तिनै सफल व्यक्तिको रुपमा स्थापित हुन जीवनका उकाली ओरालीहरुमा अनेकौं संघर्ष गर्दै ‘द हाइल्याण्ड आर्ट’ तथा ‘कल्पना ढाका बुटिक’ सञ्चालनमा ल्याएकी कल्पना योङ्हाङ लिम्बूले सफल ढाका व्यवसायीको परिचय बनाएकी छन् । नेपाली ढाका कपडा एवं पहिरनलाई विश्व बजारमा प्रवद्र्धन गर्दै आउनु भएकी योङ्हाङ मेहेनत र लगनसिलताले सफलता हासिल गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरणीय व्यक्तित्व हुन् । सायद त्यसैले होला ढाका पहिरन भन्ने वित्तिकै कल्पनाको नाम आउँछ ।

वाल्यकाल केहीँ सुखमयमा वितेपनि सानै उमेरमा विबाह गरेपछि दुःखै दुःखको भुँमरीमा परेको बताउनु हुने उहाँको संघर्षको यात्रा भने, श्रीमानसँगको विछोडपछि सुरु भएको थियो । जीवनमा कहिल्यै हरेश नखाने, उहाँले भैंसी पालेर दुध बेच्ने व्यवसाय समेत अंगाल्नु भएकी थिईन । तर, त्यसबाट पनि समस्यालाई टार्न नसकेपछि विराटनगरमा आस्था गल्ला स्टोर सञ्चालन गरेर आफ्नो जोहो टार्न थाल्नुभयो । पाकिस्तानबाट छाला ल्याएर व्यापार शुरु गर्नुभयो । फर्निचर व्यापार, चाईनाको व्यापार त्यसपछि पेइङ गेष्ट सञ्चालन गर्न थाल्नुभयो तर, पनि उहाँको संघर्षका दिनहरु उस्तै उस्तै नै रह्यो ।

महिला सहकारी संस्था त्रिपुरेश्वरबाट १५ हजार ऋण लिएर आफ्नै व्यवसाय सुरु गर्ने सोच बनाउनुभयो । त्यसैबाट उहाँले हाते तान किनेर ढाका बुन्न सुरु गर्नुभयो । यसपछि भने, उहाँको जीवनले गति लियो, सुनौलो दिनहरु फर्किन थाल्यो । किराती पहिरन तागा मेख्लीको प्रवद्र्धन गर्न थाल्नुभयो । फलस्वरुप उहाँले २०६४ सालमा ’द हाईल्याण्ड आर्ट’ सञ्चालनमा ल्याउनुभयो । अहिले उहाँको काठमाडौंको गोकर्णमा द हाइल्याण्ड आर्ट रहेको छ भने बौद्धमा ‘कल्पना ढाका बुटिक’ रहेको छ । उहाँको उद्योगमा ढाका बुनेर २५ देखि ५० हजारसम्म मासिक तलब खाने थुप्रै नेपाली चेलीहरू रोजगारीमा छन् । उहाँको ढाका उद्योगमा हाल २ सय जनाले रोजगारी पाएका छन् ।

पान्थर याङवरक थर्पुमा जन्मनु भएकी उहाँ ढाकाको अनुसन्धान र प्रवद्र्धनको लागि अमेरिका युरोप लगायत विश्वको ३३ राष्ट्र पुगिसक्नु भएकी छन् । विश्वका हरेक देशमा उहाँको कम्पनीको ढाका पुगेको छ । नेपाली ढाकालाई अन्तर्राष्ट्रिय वजारमा प्रवद्र्धन गर्ने उद्देश्यले करिब डेढ वर्षअघि मात्र अमेरिकाको एरिजोनमा उहाँले ‘कल्पना ढाका बुटिक’ को शाखा विस्तार गर्नुभएको थियो ।

राष्ट्रपतिको ढाका पहिरन समेत डिजाईन गर्नुभएकी उहाँको ढाकाको डिजाईन खोज्न नेपालका प्रसिद्ध कलाकारदेखि उच्च तहका व्यक्तिसम्म आउने गर्छन् । हाल उहाँ प्रत्येक प्रदेशमा पुगेर त्यहाँका स्थानीयलाई ढाका बुन्ने तालिम दिने अभियानमा जुट्नुभएको छ । नेपालको सफल महिला उद्यमीको रुपमा चिनिनु भएकी योङहाङको जीवन सघंर्ष र सफलताको कथा कुनै पनि महिलाका लागि प्रेरणा बन्न सक्छ ।

सम्बन्धित खवर