
माङसेबुङ/इलामको माङसेबुङमा जारी पवित्रहाङमा कप १० औं संस्करण खेलकुद प्रतियोगितामा एपीएससी माङसेबुङ इलाम फाईनलमा प्रवेश गरेको छ ।
इलामको धार्मिक पर्यटकीयस्थल माङसेबुङस्थित आत्मानन्द खेलमैदानमा चुलाचुली गाउँपालिका खेलकुद बिकास समिति इलाम र एपीएफसी माङसेबुङ इलाम बिच सोमबार सम्पन्न खेलमा चुलाचुली इलाम बिरुद्ध ४–० को फराकिलो जीत निकाल्दै एपीएससी माङसेबुङ फाईनलमा प्रवेश गरेको हो ।
खेलकोे सुरुवाती समयमै चुलाचुली इलाम माथी हाबी भएको एपीएफसी माङसेबुङले खेलको पहिलो हाफको थप गरिएको अन्तिम तीन मिनेटमा सुजुहाङमा लिम्बुको गोलमा अग्रता लिएका थिए ।

मध्यान्तर पछि पनि निरन्तर चुलाचुली इलाम माथी हाबी हुदैं खेलको दोस्रो हाफको ५९ औं मिनेटमा पुनः एपीएससी माङसेबुङका सुजुहाङमा लिम्बूको गोलमा अग्रता दोब्बर बनाएकी थिईन् ।
त्यसपछि ७१ औं मिनेटमा सुजुहाङमाले थप गोल गर्दै ह्याट्रीक गरेकी थिईन । खेलको ७८ औं मिनेटमा सुजुहाङमालेनै गोल गर्दै व्यक्तीगत ४ गोल गदै टीमलाई जीत दिलाएका थिए ।
फराकिलो हार बेहोरे संगै चुलाचुली इलाम भने प्रतियोगिताबाट बाहिरिएको छ । खेलको वुमन अफ दी म्याच एपीएससी माङसेबुङ इलामका सुजुहाङमा लिम्बू घोषीत भईन् ।
जन्मोत्सव समारोहका खेलकुद विभाग संयोजक तथा आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा विगतका वर्षझै मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित फूटबल प्रतियोगिता अन्तरगत मंगलबार माउण्ट एभ्रेष्ट स्पोर्टस क्लव सुनसरी र लेटाङ फूटबल क्लव मोरङ बिच दोस्रो तथा अन्तिम सेमीफाईनल खेल हुने आयोजक समितिका सचिव सरिता राईले बताईन ।

यसरीनै प्रतियोगितामा फूटबलको विजेताले नगद १ लाख १ सय ६४ रुपैयाँ र उपविजेता टिमले नगद ७५ हजार १ सय ६४ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।
त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचले जनही तीन हजार एक सय ६४ रुपैयाँ प्राप्त गर्ने अध्यक्ष आङबुहाङले बताए ।
आगामी फागुन २ गते फाइनल हुने प्रतियोगितामा फूटबलका साथै अन्य विभिन्न खेलहरु पनि हुनेछन् । अन्य खेलहरुमा म्याराथुन, छेलो (पक्लुङ), म्युजिकल चियर, हाँडी फुटाउने, लठ्ठा तान्नेलगायतका खेलहरु सञ्चालन हुने जनाइएको छ ।

पुरस्कार मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभजन्मोत्सव समारोहको अवसरमा फागुन ३ गते वितरण हुने आयोजकले जनाएको छ । म्याराथुनमा प्रथम हुनेले रु ५१६४, दोस्रोले रु ४१६४, तेस्रोले रु ३३६४ र सान्तवना हुनेले रु २१६४ रुपैयाँ सहित मेडल र प्रमाण पत्र पाउँनेछन् । साथै छेलो (पक्लुङ) र अन्य अतिरिक्त खेलकुदमा सहभागी भई विजेता हुने खेलाडीहरुले पनि आकर्षक पुरस्कार दिइने आयोजकको भनाई छ ।
माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोग र फूटबल संघ इलामको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख खर्च लाग्ने आयोजक समिति हक्चात यक्चुमका अध्यक्ष आङबुहाङले जानकारी दिए ।








