कोरोना कहर र असफल नेकपा सरकार - Mangsebung News
  • बुधबार, मङि्सर २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना कहर र असफल नेकपा सरकार

कोरोनाको त्रासदी र मानव समुदाय :

कोभिड १९ (कोरोना भाइरस) रोग यस शताब्दीकै महाविपती भएर विश्वका सामु देखापरेको छ । सन् २०१९ को डिसेम्बर पहिलो साताबाट संक्रमण सुरु गरेको यस भाइरसको उद्गम थलो चीन हो । चीनको वुहान सहरबाट फैलिएको यो संक्रमण आज विश्व्यापी महामारीका रूपमा छ । कोरोना कहर जारी छ । उसले मच्चाइरहेको वितण्डको वयान गरी साध्य छैन् । मृत्युको त्रास बढिरहेको छ भने यस विषम् परिस्थितिबाट उत्पन्न महामारी र त्रासदीले मानव समुदायको अस्तित्वलाई धरापमा पारेको आँकलन गर्नु पक्कै गलत हुने छैन् । किनभने अनेकन कोशिसका बावजुद मानव जातिले विकास गरेको उच्च प्रविधि, चिकित्सा विज्ञान, वैज्ञानिक खोज र आविष्कारबाट पनि कोभिड १९ रोग नियन्त्रणमा आउन सकेको छैन । कोरोना भाइरसविरुद्ध न कुनै ठोस औषधि बन्न सकेको छ, न त कुनै खोपनै तयार भएको छ । यस प्रकोप र महामारीले विश्वका सबै क्षेत्र र भूगोलका मानिसलाई जीवन बाँच्नका निम्ति संघर्ष गर्नुपर्ने एउटा साझा कित्तामा उभ्याइदिएको छ ।

यसर्थ आज विश्वको लागि कोरोना मुख्य चुनौति हो । यसले कुनै एउटा वा एकाध मुलुक विशेषलाई नभै सिंगो विश्व र समग्र मानव समुदायको अस्तित्वलाईनै गम्भीर संकटमा पारेको छ । मानवीय सेवा, स्वास्थ्य उपचार, संक्रमण फैलन नदिने उपाय लगायत जे–जस्ता कार्यहरु विश्व स्वास्थ्य संगठनको अगुवाईमा विश्वभर गरिएका छन्, यी कार्यहरु अवश्य पनि मानव समुदायको अस्तित्व रक्षाको निम्ति अवलम्बन गरिएका उपायहरु हुन् । दुःखका साथ भन्नुपर्छ अधिकांश मुलुकहरुमा कोरोना संक्रमित बिरामीहरुको उपचार गर्दागर्दै चिकित्सक र स्वास्थ्यकर्मीहरुले जीवन गुमाएका छन् । कोरोनासँगको विश्व लडाइँमा उनीहरुको सहादत भएको छ । यो जीवन दान पनि अन्ततः मानव समुदायको अस्तित्वको निरन्तरताकै निम्ति हो ।

लकडाउन र नेपाल :

यो लेख लेख्दै गर्दा नेपालमा ७२ औं दिनको लकडाउनमा देश र जनता बसिरहेका छन् । लकडाउनको स्वरूप परिवर्तन गर्ने बारेमा विभिन्न तर्कहरु सुन्नमा आए पनि व्यवहारमा परिवर्तन देखिएको छैन् । कोरोनाको त्रास र जनताको सास्तीका बीच लकडाउन चलिहरकै बेला केन्द्रदेखि स्थानीय तहसम्म, सत्तादेखि राहतसम्म, कमिसनदेखि कालाबजारीसम्म, सांसद अपहरण, खरिद बिक्रीदेखि सवारी पाससम्म, अध्यादेश जारी र खारेजीदेखि प्रधानमन्त्रीको राजीनामा माग्नेसम्म, सत्तासिन पार्टीकै कार्यकर्ताले विपक्षी दलका नेताविरुद्ध नाराबाजी गर्ने लगायत हर्कत नेपाली परिवेशमा घटेका घटनाक्रमहरु हुन् । अनेक राजनीतिक र आर्थिक चलखेलमा छ मुलुक । यतातर्फ अहिले चर्चा नगरौं ।

कोरोना संक्रमणको अवस्था हेर्दा नेपाल दिनानुदिन संक्रमणबाट ग्रस्त छ । पर्याप्त र प्रभावकारी परिक्षणको अभावका कारण कोरोना भित्रभित्रै फैलिरहेको हुन सक्ने गम्भीर खतराका बीचबाट हामी गुज्रिरहेका छौं । देशबाहिर थुप्रै संख्यामा नेपालीहरुको मृत्यु भइसकेको भए तापनि नेपालमा भने अहिलेसम्म आठ जनाको मात्र ज्यान गएको छ । कोरोना परिक्षणको हालत कछुवा गतिमा चलिरहेको भए पनि स्वास्थ्य मन्त्रालयले यसलाई अपूर्व सफलता र प्रगति मान्दै आएको छ । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि जारी गरिएको लकडाउनका कारण अन्य रोगका बिरामी, दीर्घरोगी, वृद्धवृद्धा, अपाङ्गता भएका मानिसहरुलाई नियमित औषधि उपचारमा सास्ती भएको छ । हुने खाने वर्गलाई बन्दाबन्दीले मानसिक समस्या पारेको छ भने हुँदा खाने वर्गका मानिसलाई दैनिक हातमुख जोड्न सकस परिरहेको छ ।

भारतीय र रेमिट प्रभावमा नेपाल :

चीनको वुहान प्रान्तबाट विश्व यात्रामा विचरण गरिरहेको कोरोनाको ताण्डव्य हाम्रो अर्को छिमेकी मुलुक भारतमा पनि फैलिरहेको अवस्था छ । १ अर्ब ३७ करोड (अनुमानित) जनसंख्या भएको भारतमा कोभिड १९ रोगबाट संक्रमतिको संख्या दिनप्रतिदिन जुन दरमा वृद्धि भइरहेको छ र भारतमा कोरोना संक्रमणकै कारण मृत्यु हुनेहरुको जुन आँकडा देखिएको छ त्यसले हामीलाई स्तव्ध बनाएको छ, झस्काएको छ । रोजगारीको सिलसिलामा भारतमा रहेका नेपालीहरुको पीडा र वेदना नसुन्ने भीष्म प्रतिज्ञा गरेर सरकार बसेको छ । खाडी मुलुक लगायत अन्य तेस्रो मुलुकमा रहेका नेपालीहरुको सन्दर्भमा त झन् सरकारलाई गुञ्जयास पनि छैन । लकडाउन सुरु भएपछि कतिपय मानिसहरु भारततिरबाट अवैध प्रवेश गरेका र उनीहरुबाटै कोरोना पनि भित्रिएका घटनाहरु पुष्टि भइसकेका छन् । यसर्थ गम्भीर भएर सोच्नुपर्ने विषय के हो भने भारतको स्वास्थ्य स्थितिका आधारमा नेपालले आफ्नो सुरक्षा रणनीति र रोकथामका उपायहरु अघि बढाउनुपर्ने देखिन्छ ।

हामीले लेख्ने हिम्मत नगरेका मात्रै हौं । व्यवहारिक अर्थमा हामी भारत निर्भर मुलुक हौं । खाद्यन्न, कृषि, इन्धन, औषधि, औजार, मेसिनरी, यातायातका साधन, प्रविधि, कच्चा पदार्थ, विद्युत, दक्ष जनशक्ति आदि आवश्यकताहरुको पूर्ति भारतबाटै हुने गरेको छ । ७० लाख बढी युवा विदेशमा छन् । उनीहरुले भित्र्याएको रेमिट्यान्सले नेपाल धानिएको छ । नेपालमा विकसित उपभोक्तावादी सामाजिक स्वरूप रेमिट्यान्सकै प्रभाव हो । जसले सुविधा र शिक्षाको निम्ति सहर बजारमा भीड बढाएको छ । गाउँहरु रित्तोप्राय बनेका छन् । खेतीयोग्य जमिन बाँझिने क्रम बढेको छ । कोरोना कहरमा सहर बढी प्रभावित हुनुमा पनि रेमिट संस्कृतिको भूमिका छ भन्न सकिन्छ ।

नेपालको भावी रणनीति :

यो लेख तयार पार्दासम्मको सरकारी तयारी हेर्दा नेपालमा कोरोना जित्ने ठोस रणनीति के हो ? त्यसका बारेमा नीति निर्माण गर्ने तहमानै छलफलसम्म भएको देखिँदैन । कुनै दुरदराजको सरकारी कार्यालयमा दैनिक उपस्थित हुने र हाँजिर गर्ने कार्यालय सहयोगीको झैं दैनिकीमा ओली सरकार कोरोना रोकथामका नाउँमा समय व्यतित गरिरहेको छ । लकडाउन छ । सीमा नाकाहरु शिल गरिएका छन् । नगन्य संख्यामा प्रयोगशालाहरुमा परिक्षण हुन्छ र रिपोर्ट आउँछन् । ७२ दिनसम्मको यो सरकारी दैनिकीमा अलिकति पनि परिवर्तन आएको देखिँदैन । वास्तवमा नेपालमा कोरोना रोकथाम र यसको जोखिमको सम्भाव्य अध्ययनका निम्ति आवश्यक प्रविधि, विज्ञता हाँसिल गरेका विज्ञहरुको अभाव छ होला । त्यो एउटा कुरा हो । तर, यतिका दिनसम्म पनि कोरोना विरुद्धको तयारीमा गुणात्मक प्रगति नदेखिनु निरासजनक अवस्था हो ।

नेपाल भन्दा कयौं गुणा विकसित मुलुकहरुमा कोरोनाका कारण ज्यान गुमाएकाहरुको शव उठाउन समेत भ्याइनभ्याइको स्थिति रहेको पनि सुन्नमा आए । अमेरिका, यूरोपमा कोरोना कहर शताब्दीकै महा संकट भएको भनाइहरु सार्वजनिक भएका छन् । हामीकहाँ कोरोना संक्रमणको मात्रात्मक प्रभाव न्यून रहनु हामी सुरक्षित हुनु भन्ने अर्थमा बुझ्नु महाभूल हुनेछ । कल्पना गरौं, यूरोप र अमेरिकामा झैं महामारीको अवस्थामा नेपालमा कोरोनाले आक्रमण ग¥यो भने हाम्रो हालत के हुन्छ ? यतातर्फ तीनै तहका सरकारहरु, राजनीतिक दलहरु, स्वास्थ्य क्षेत्र, सरोकारवालाहरु र नेपाली नागरिक तहबाट गम्भीरतापूर्वक सोच्न जरुरी छ ।

निष्कर्ष :

सरकारी संयन्त्रको मात्रै भर परेर अहिलेको कोरोना महामारीबाट नेपाल र नेपाली जनताले उन्मुक्ति पाउने सम्भावना न्यून हुँदै गएको छ । केन्द्रदेखि प्रदेश र स्थानीय तहका सरकारहरुको कार्यशैली, योजना र रणनीति हेर्दा उनीहरु आपसमै अलमलमा परेका छन् । नीतिगत रूपमा उत्पन्न समस्या एकातिर छ । केन्द्रीय सरकारका मन्त्रीहरुनै औषधिजन्य वस्तुको आयातमा समेत कमिसन खाने खेलमा लाग्नु, प्रधानमन्त्रीकै नाउँ सांसद अपहरण जस्तो गम्भीर र जघन्य अपराध कार्यमा मुछिनु, सत्ता सञ्चालक दल नेकपाभित्रै भाँडभैलोको स्थिति सिर्जना हुनु र चिनियाँ पक्षले कुटनीतिक मर्यादा समेत लत्याएर नेकपा विवाद समाधानका नाउँमा नेपालको घरेलु राजनीतिक मामिलामा गरेको हस्तक्षेपकारी चासो इत्यादि घटनाक्रमहरु हेर्दा नेपाल र नेपाली जनताको भाग्य र भविष्य एकातिर कोरोनाको महामारीबाट आक्रान्त छ भने अर्कोतिर राजनीतिक अदूरदर्शिता र सत्ताको छिनाझम्टीका कारण थप अन्योलमा परेको निश्चित छ । यस्तो विषम् अवस्थामा देश र जनता एकढिक्का भएर मानवताको रक्षार्थ कोरोनाविरुद्ध लड्न आवश्यक छ । त्यो भनेको स्वास्थ्य सुरक्षा र सावधानीबाट मात्रै सम्भव छ । अर्को कुरा, आजको प्रतिकूल अवस्थामा पनि देश र जनताको अहितमा सत्ता स्वार्थको खेलमा अनेकन प्रपञ्चमा अल्मलिएका जुनसुकै दल, नेता वा जो कोही हुन्, तिनीहरुलाई सत्ता, राजनीतिक, अख्तियारी र जिम्मेवारीबाट अलग्याउने, गलहत्याएर मैदान खाली गर्ने जिम्मेवारी पनि जनताकै हातमा छ । यो जिम्मेवारीबाट नेपाली जनता पछि सर्नु हुँदैन ।

सम्बन्धित खवर