मेसीको ७ सय गोल पूरा, बार्सिलोनालाई उपाधिका लागि सकस - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मेसीको ७ सय गोल पूरा, बार्सिलोनालाई उपाधिका लागि सकस

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्नो करियरको सात सय गोल पूरा गरेका छन ।

अर्जेन्टिनाका समेत कप्तान रहेका मेस्सीले ला लिगा अन्तर्गत गएराति एट्लेटिको मड्रिडविरुद्धको खेलमा गोल गरेसंगै करियरको सात सय गोल पूरा गरेका हुन् । मेस्सीले बार्सिलोनाका लागि ६३० गोल र अर्जेन्टिनाको राष्ट्रिय टिमको जर्सीमा ६० गोल गरेका छन् ।

मंगलबारराति स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले एथ्लेटिको मड्रिडसँग बराबरी खेलेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

बराबरीको नतिजासँगै उपाधि होडमा रहेको बार्सिलोनालाई पुनः धक्का लागेको छ । उसले लिग तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । बार्सिलोनाको ७० अंक भएको छ । शीर्ष स्थानको रियल मड्रिडको ७१ अंक छ ।

डिएगो कोस्टाको आत्मघाती गोलसँगै बार्सिलोनाले १२ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो । साउल निगाजले १९ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै एट्लेटिकोलाई बराबरीमा पु¥याएका थिए ।

त्यसैगरि लियोनल मेसीले ५० औं मिनेटमा पेनाल्टीमा बार्सिलोनालाई २–१ को अग्रता दिलाएका थिए । तर ६२ औं मिनेटमा निगाजले पेनाल्टीमा ब्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

यस्तै गएराति नै भएका अन्य खेलमा सेभिल्लाले लेगानेसलाई ३–० ले हराउँदै शीर्ष चारको दौडमा आफुलाई कायम राखेको छ भने मालोर्काले सेल्टा भिगोमाथि ५–१ गोल अन्तरले पराजित ग¥यो ।

सम्बन्धित खवर