
काठमान्डौ । किरात याक्थुङ चुम्लुङको विषयगत समिति–लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ताभन्दा लामो संस्थागत यात्रा, याक्थुङ–लिम्बू समुदायको सांस्कृतिक जीवन तथा समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार गरेको प्राज्ञिक जर्नल–स्मारिका ‘थिम्–साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ ।
चुम्लुङहिम, ललितपुरमा आयोजना हुने विशेष समारोहमा किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष तथा लिम्बू सांस्कृतिक परिषद्का संस्थापक अध्यक्ष गोविन्द आङबुङको प्रमुख आतिथ्यतामा जर्नल–स्मारिकाको औपचारिक विमोचन गरिने आयोजकले जनाएको छ । समारोह बिहान ११ः५९ बजेदेखि अपराह्न २ः५९ बजेसम्म सञ्चालन हुनेछ ।
वि.सं. २०६१ सालमा स्थापना भएको लिम्बू सांस्कृतिक परिषद्ले स्थापनाकालदेखि याक्थुङ–लिम्बू समुदायको भाषा, साहित्य, कला, संस्कृति, इतिहास, मुन्धुम, दर्शन, संस्कार तथा सभ्यतागत पहिचानका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको छ । परिषद्को एक पुस्ताभन्दा लामो संस्थागत यात्रालाई केवल स्मृतिका रूपमा सीमित नगरी त्यस क्रममा आर्जित ज्ञान, अनुभव, विमर्श, अनुसन्धान र सांस्कृतिक चेतनालाई अभिलेखित गर्दै भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले ‘थिम्–साक्थिम्’ प्रकाशन गरिएको परिषद्ले जनाएको छ ।
करिब ३५० पृष्ठ लामो जर्नल–स्मारिकामा भाषा, साहित्य, संस्कृति, मुन्धुम, इतिहास, कला, शिक्षा, चलचित्र तथा सामाजिक–सांस्कृतिक विषयसँग सम्बन्धित अनुसन्धानात्मक, वैचारिक तथा प्राज्ञिक लेख–रचनाहरू समेटिएका छन् । यसमा डा. कमल तिगेला, डा. मधुराज केरुङ, प्रोफेसर कर्णहाङ ताम्लिङ, प्राज्ञ यासेली योङहाङ, प्रोफेसर युन्छोकहाङमा लिम्बू, प्राज्ञ हरिचन्द्र लावती, एमफिल स्कलर अर्पिता सुब्बा, बसन्ता सम्बाहाङफे, प्रोफेसर वीरमान लिम्बू ‘प्रनेश’, लिम्बू भाषा उच्च शिक्षा बोर्डका अध्यक्ष मलिसा याक्थुङबा, किरात सामाजिक मुन्धुम निसामहिमका प्रधानाध्यापक ललितचन्द्र फियाक, याक्थुङ प्रज्ञा प्रतिष्ठानका उपकुलपति लछामी सेर्मा ‘पापो’, लिम्बू सांस्कृतिक परिषद्का संघीय उपाध्यक्ष भवानी विक्रम सम्बाहाङफे, संघीय सचिव डिआर हाङसरुम्बा, किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष गोविन्द आङबुङ तथा ‘के’ र ‘केलाःङ’का अनुसन्धाता ऐत खजुमलगायतका विद्वान्, अनुसन्धानकर्ता तथा स्रष्टाहरूका सामग्री समावेश छन् ।

जर्नल–स्मारिकाको सम्पादन सागर केरुङ, बसन्ता सम्बाहाङफे, कञ्चन थलङ, डिआर हाङसरुम्बा र कृष्णराज थलङले गरेका छन् । आवरण–सृजना चलचित्रकर्मी खगेन्द्र पन्धाक लिम्बूले गरेका छन् भने डिजाइन बिबस हेल्लोक लिम्बूले गरेका छन् । प्रकाशन यालुङ प्रिन्टर्स, ताहाचल, काठमाडौंबाट गरिएको हो ।
‘थिम्–साक्थिम्’ले विगतको संस्थागत इतिहासलाई अभिलेखित गर्नुका साथै मुन्धुमी दर्शन, परम्परागत ज्ञान, मौखिक परम्परा, सामुदायिक विश्वास प्रणाली, ऐतिहासिक स्मृति, सामाजिक अभ्यास, भाषिक चेतना, सांस्कृतिक मूल्य तथा सामुदायिक अनुभवलाई समकालीन प्राज्ञिक विमर्शमा ल्याउने प्रयास गरेको आयोजकको भनाइ छ । परिषद्ले यस प्रकाशनलाई याक्थुङ–लिम्बू समुदायको सांस्कृतिक संविधान निर्माणका लागि आवश्यक बौद्धिक आधार निर्माण गर्ने दिशामा समेत महत्वपूर्ण दस्तावेजका रूपमा लिएको जनाएको छ ।
लिम्बू सांस्कृतिक परिषद्का संघीय अध्यक्ष सागर केरुङले ‘थिम्–साक्थिम्’लाई एक पुस्ताको संस्थागत यात्रा, अनुभव र ज्ञानलाई अभिलेखित गर्ने प्रयासका रूपमा लिइएको बताए । उनका अनुसार प्रकाशनको उद्देश्य विगतलाई केवल स्मरण गर्नु नभई विगतबाट ज्ञान ग्रहण गर्दै वर्तमानलाई आलोचनात्मक रूपमा बुझ्नु र भावी पुस्ताका लागि सांस्कृतिक मार्गदर्शन निर्माण गर्नु हो ।
उनले भने, “एक पुस्ताको संस्थागत यात्रालाई एउटा दस्तावेजमा समेट्नु विगतका श्रम, संघर्ष, योगदान, परम्परागत ज्ञान र उपलब्धिप्रतिको सम्मान मात्र होइन, वर्तमानप्रतिको बौद्धिक जिम्मेवारी र भविष्यप्रतिको सांस्कृतिक उत्तरदायित्वको अभिव्यक्ति पनि हो ।”
विमोचन समारोहमा जर्नल–स्मारिका सार्वजनिक गर्नुका साथै केलाःङ, पालाम, यालाङ, गायन तथा नृत्यलगायतका याक्थुङ सांस्कृतिक प्रस्तुति समेत रहने आयोजकले जनाएको छ । यसले कार्यक्रमलाई औपचारिक पुस्तक विमोचनमा मात्र सीमित नगरी याक्थुङ सांस्कृतिक अभिव्यक्ति र सिर्जनात्मक प्रस्तुतिसँग जोड्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा लिम्बू सांस्कृतिक परिषद् ललितपुर, भक्तपुर र काठमाडौं सह–आयोजकका रूपमा सहभागी हुनेछन् । आयोजकले याक्थुङ–लिम्बू समुदायका अग्रज, अभियन्ता, विद्वान्, स्रष्टा, साहित्यकार, कलाकार, चलचित्रकर्मी, अनुसन्धानकर्ता, विद्यार्थी, युवा तथा सामाजिक–सांस्कृतिक व्यक्तित्वलगायत सम्पूर्ण शुभेच्छुकलाई समारोहमा उपस्थित हुन आह्वान गरेको छ ।
परिषद्का अनुसार ‘थिम्–साक्थिम्’को विमोचन केवल एउटा प्रकाशन सार्वजनिक गर्ने कार्यक्रम नभई लिम्बू सांस्कृतिक परिषद्को संस्थागत इतिहास, याक्थुङ ज्ञान–परम्परा र सांस्कृतिक स्मृतिलाई सार्वजनिक अभिलेखमा स्थापित गर्ने अवसरका रूपमा आयोजना गरिएको हो ।






