
माङसेबुङ । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा शनिबार सम्पन्न खेलमा विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी क्वालिफायरमा प्रवेश गरेको हो ।
यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको लुम्बिनी ११ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।
विराटनगर किंग्सले दिएको १६७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।
लुम्बिनीले विराटनगरलाई पराजित गरेसँगै प्लेअफ समिकरण पुरा भएको छ । प्लेअफमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्ससँगै काठमान्डु गोर्खाज र चितवन राइनोजले पनि प्लेअफमा स्थान पक्का गरेको छ ।
लिग चरणको ७ वटै खेल खेलिसकेको विराटनगर भने यो हारपछि ६ अंकसहित पाँचौ स्थानमै सिमित रह्यो र लिग चरणबाट बाहिरियो । कर्णाली याक्स, जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेका छन् ।




