सल्युट्स अफ माङसेबुङ - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सल्युट्स अफ माङसेबुङ

  • सन्जित फलना

चुलाचुलीभरी सेता सेता भुइँकुहिरोहरु उडिरहेछ । भुइँकुहिरोहरुले होचा होचा चुलीहरुलाई ढाकी सकेकोछ । अग्ला अग्ला चुलीहरु भने समुद्रबिच उभिएको कुनै टापुजस्तै देखिन्छ । केही भुइँकुहिरोहरु चेप र खोंचहरुमा अल्झिरहेका छन भने केही चुलीहरुका ओसिलो छातिहरुमा निस्सासिदै ठोक्किरहेका छन । चीिलमाथी माथी उडेका भुइँकुहिरोहरुले आकासलाई धुम्म बनाइरहेछ । आकस धुम्मीएर पानी पर्ने निश्चित छ । तिनै चुलीहरुको फेदिमा रतुवा खोला धमिलो बगिरहेछ । नागबेली बगरहरुमा फन्को मार्दै । भित्ता र पहरालाई छाल हान्दै, गडगडाउँदै ढुङ्गा,मुढाहरुको बाढी बोकेर बग्ने रतुवाको सननन आवाजले चुलाचुली पुरै थर्किरहेछ । यो रतुवामा जति ढुङ्गा मुढा बगेको छ त्यतिनै बगेको छ माङसेबुङको आँसु, पसिना र रगत पनि ।

बर्खाको समय, धमिलो रातुवासगैं ब्युँझेको छ माङसेबुङ । झ्याल खोलेर हेर्छु घाम झुल्कन बढो अल्छी गरिरहेछ(सेल्लोवा चरिकै सम्झना आउने गरि) । सिमसिम पानी परिरहेछ । ती चुलीहरुझैं मन एकदमै भारी भएको छ । लाग्छ यो कुनै स्याठेष्ट दिन हो । रोबर्ट फ्रस्टको स्नोवी इभिनिङ झैं । ग्लुमी सन्डेको हरफहरुझैं । आँगनिको धर्मध्वजाहरु निथ्रुक्क भिजेर लत्पतिएका छन । बगैंचाको सेक्मुरी फुलहरुबाट शीत खसिरहेछ । टेबलमा मार्खेजको ‘वान हन्ड्रेड इयर्स अफ सल्युट’ पुस्तक लडिरहेछ । माङसेबुङमा बर्खा त्यसैपनि हन्ड्रेड इयर्स झैं लामो र पट्यारलाग्दो हुन्छ । अझ अहिले त लकडाउनले थप सल्युट थपेको छ । कोठाबाहिर निस्किए । सडक सुनसान छ । बाथरुम छिरेर अलि फ्रेस भए ।

ट्याङ…..ट्याङ…… माङहिममा एकोहोरो प्रार्थनाको घण्टि बजिरहेछ । घण्टिको आवाज पुरै माङसेबुङभरी सुनिन्छ । एक सचेतनाको अलारम झैं । सेवासाबाहरु संख र झ्याम्टा बजाउंँदै मुन्धुम फलाकिरहेछ । माङहिमभित्र आत्माको उज्यालोझैं महाबत्ती बलिरहेछ । धुपको सुगन्ध मगमग फैलिरहेछ । विश्व शान्ति चराचर जगत र मानव रक्षाको कामनार्थ यसरी सबेरै माङहिममा पुजापाठ हुनु यहाँको दैनिकी हो । माङहिमको छानामाथी उडेको चरुको धुवाँहरु कुहिरोसङ्ग मिसिएर खुब स्पृचुयल देखिएको छ । हुन त आफैमा एक अध्यात्मिक ल्याण्ड हो माङसेबुङ । माङहिमको पर्यावरणले नै मनका बेचैनिहरु दुर गरिदिनुपर्ने हो । तर किनकिन यतिबेला यो घण्टिको स्पृचुयल आवाज पनि मलाइ मोनोटोनस लागिरहेछ ।

त्यसै त सल्युडले मन अवरुद्द भइरहेको बेला असारे झरिले ठाउँठाउँमा पहिरो गएर सडक पनि अवरुद्द भएको छ । सायद मेरो मनको प्रतिबिम्ब बनेर टाँगिएको छ पर्यावरण । रतुवा छेउको सडकको पर्खालहरु बाढिले बगाइदिएको छ । अत्यावश्यक खाद्दान्न ओसारपसार गर्ने सिफारिस लिएका ट्र्याक्टर र ट्रकहरु घरघरमा थन्किएको छ । पहिरोले गर्दा पैदल हिड्न चाहने बटुवाहरु नि देखिदैनन् । घर फर्कन खोज्ने लस्करहरु सहरमै थुनिएका छन । गोरेटोहरु सुनसान छ्न । चौताराहरु रित्ता छन् । मन खेलाउँदै किचनमा छिरेर ब्ल्याक टि बनाए । सिलिण्डरमा ग्यास नि सकिन आटेछ । त्यत्तिकै बस्दा बस्दा दिमाग सकस भएकोले चिया पिउदै टिभी अन गरे । ठ्याक्कै बिहानको ८ बजेको समाचार आइरहेको रैछ । कोरोनाको प्रभाव देशमा दिनानुदिन फैलिरहेको बेला प्रधानमन्त्रीज्युले जनताहरुको सम्बोधनमा बढो हाँस्यब्यग्यं प्रस्तुत गरिरहेको रैछ । उता परदेशमा घर फिर्न चाहने नेपालीहरु दुतावास धाइरहेका रैछन । देशको बिडम्बना सम्झन्छु । अत्यास लागेर स्पोर्ट्स च्यानल फेरे । लिग हरु पुन स्टार्ट भइसकेछ । सोचें लकडाउनले कहाँ सिर्जना र उत्पादनको जोशलाई छेक्दो रैछ र ? झ्याल खोलेर हेरे । सिमसिमे पानी जोडले बर्सन थालिसकेछ । बाछिटाले गर्दा कोठाभित्र चिसो पस्यो । चिया सुरुप्प पारे । पानीले सिग्नल नटिपेर टिभी अफ गरे । टेबलमा उहि मार्खेजको वन हन्ड्रेड इयर्स अफ सल्युट लडिरहेछ । पढ्न पटक्कै मन छैन । जाँगर गायब भएको छ । हैन सिर्जनशिल त हुनु पर्ने हो ! सम्झिएँ बरु कविता लेख्छु । ल्यापटप अन गरेर किवर्डमा औँलाहरु राखे । अहँ लेख्छु भन्दैमा कहाँ रहरले लेखिँदो रैछ र कविता । एकछिन घोरिए । दिमागमा के खेलिरहेछ ? सोचमग्न भए अहँ । दिमाग रित्तो रैछ । सायद दिमागमा पनि सल्यूट होला ! लकडाउनको बारे कति लेखौ ? जत्ती लेखे नि अपुर्ण । हुन पनि यो समयलाई अझै बुझ्न बाँकी छ । बरु कुण्ठाहरुको बारे यसो एकदूई हरफ अङग्रेजीमा लेखे ।

Sometimes

to nowhere

life wants to take holiday…

साच्चै यतिबेला जिन्दगिबाट केहिक्षण होलिडे लिन मन लागिराछ । कुनै सुन्याभाषमा । तर अहँ मन मान्दैन । हामी जिवनवादी मानिस हौ पलायनवदी होइनौ । हामीले जीवनलाइ प्रेम गर्नुपर्छ । यसरी भावनामा बगेर काल्पनिक मात्र बन्नुहुन्न अब । मनका कुण्ठाहरुलाई एकपल्ट चिच्याएर काथार्सिस गर्छु । सायद मान्छेहरु बेलाबेला मलाई बहुलाएको संज्ञा दिदो हो । लेख्नलाई पुरै भुगोल छ मसगं भर्जिन । अलिखित टि एस इलियटको ‘द वेस्ट ल्याण्ड’ झै नखोजिएको । कवि लेखकहरुको लागि त आख्यानटार हो यो भुगोल । सँस्कृति, ईतिहास, मानबशाष्त्र,प्रकृति के छैन यहाँ ? जीवन एकदमै सरल र शान्त छ । न कुनै सपनाहरु, न त कुनै महत्वाकांक्षा र अहम् । बस पेटको तृप्तिमा छ खुसी । सपना र महत्वाकांक्षाहरु त बरु सहरमा हुन्छ । त्यै भएर निक्कै अतृप्त हुन्छ सहर । अशान्त हुन्छ सहर । तर अहिले सहर नि सेलाएको छ । निक्कै कमजोर भएको छ सहर । बरु कति खुसीले बाँचिरहेछ गाउँ यसबखत । बिहान उठ्यो, खाना खायो, कुटोकोदालो गर्यो, सुत्यो । लकडाउनले नि प्रभाव नपारेको किसानहरु छन गाउँमा । माटोको उत्पादनलाई कहाँ छेक्दोरैछ र लकडाउनले । यो संक्रमणकालिन समयले बरु मान्छेहरुलाई यहिँ चेतना जगाइदिएको छ । सम्झन्छु अब म यिनै चेतनाको कविता लेख्छु । भारी मन सोचको भारले झनै भारी भयो ।

मनमा कविताको प्लट सोच्दै ल्यापटप बन्द गरेर कोठाबाहिर निस्के । बर्षा अलि रोकिएछ । अझ फ्रेस हुन गाउँ डुल्न हिडे । बाटाभरी पानीको भल कुदिरहेछ सललल । मलाई अनायसै कागजको डुङ्गा बनाएर मनका कुण्ठाहरु बगाउन मन लाग्छ । झल्याँस्स रबिन्द्रनाथ टाइगोरको ‘पेपर बोट’ कविताको याद आउँछ । गाउँमा बिकासका योजनाहरु निक्कै परेका रैछन् । संघिय सरकार बनेदेखी यस्ता योजनाको कार्यक्रमहरु अटुट पर्न थालेका छन गाउँघरतिर । धन्न यो कुँजो समय धेरै सिर्जनशिल र पौरखी हातहरुलाई आंसिक रोजगारीको प्रत्याभुती दिलाएको छ । तर बर्खामा रतुवाको बाटोले सँधै थुनिरहन्छ माङसेबुङलाई । सायद योजनाहरुको उचित सदुपयोग नभएर हो । तर यी योजनाहरुको कार्यक्रम नि असार पन्ध्रबाट समाप्त भएको छ । सामुदायिक भवन, सिँढी, सडक र खेलमैदान बाहेक अन्य क्षेत्रमा योजना पर्न सकेको देखिन । उहीँ पुरातन सोचको पराकाष्ठा देखियो योजना मागमा ।अब त युवाहरु जागरुक भैसके । युवाकेन्द्री बिकास निर्माणको माग कहिले गरिने ? यो सल्यूटको समयमा मनलाई सिर्जनशिल बनाउन के छ र यहाँ ? उफ ! कति हिड्नु सडकमाथी सडक ? कति चढ्नु भवनमाथी भवन ? त्यसै युवाहरुमा फ्रस्टेसन र डिप्रेसन बढिरहेको अवस्था छ । दिनानुदिन नसाहरुमा लठ्ठिएर कृत्रिम रिफ्रेस्ड हुन अभ्यस्त छन । बरु रिङरोड घुम्दा मन बहलाउन यसो पार्क भए ठिक हुने । रिङरोडमाथिको जङ्गलतिर मेडिटेसन गर्ने ठाउँ भए ठिक हुने । जहाँबाट मेडिटेसन गर्दै सुन्न सकिन्छ चरिहरुको आदिम गित । झ्याउँकिरिको भजन । रुखपातहरुको सुस्केरा र आफैलाई एकाकार गर्न सकिन्छ प्रकृतिमा । आत्मिक शान्तिमा ।

रिङरोडछेउको लाइब्रेरिमा पुगे । लाइब्रेरिको भित्ताभरि माकुराले जाल हालेको रैछ । कुनै नयाँ पुस्तकहरु छन कि भनेर भित्र छिरे । उहीँ पुरानै पुस्तकहरु रैछन । पहिल्यै पढिसकेका । कभर च्यात्तिएर थोत्रा भएका । त्यहाँ कार्यरत सिस्टरसगं बुझे प्राय यहाँका मान्छेहरुले पुस्तक पढ्न रुचि नराख्दा रैछन । बजेट बिनियोजनमा नि वार्डले खासै चासो नदेखाउँदो रैछ । त्यै भएर लाइब्रेरी टिमले नयाँ पुस्तक खरिद नगरेको गुनासो पोखिन् । मैले पठन सँंस्कृतिको बिकासको निम्ति लाइब्रेरिको भुमिका अहम हुन्छ भन्दै मसगं भएका पुस्तकहरु नि त्यहाँ सौजन्य गर्ने निधो गरि बाहिर निस्के ।

चुलीहरुमा कुहिरोहरु उसरिनै ओथारो बसिरहेका छन । मोबाइलको क्यामेरा अन गरेर चुलिको फोटो खिचे । सोचे यो चुलाचुली र रतुवासगं माङसेबुङको कस्तो सम्बन्ध छ है । सोचे पहिरोहरुले कलेटी पारेको सुख्खा छातिहरु देखाउँदै कसरी माङसेबुङजस्तै उभिन्छ यी चुलीहरु हिउँदमा । पिडाहरुको अवशेषजस्तै । बिहानिको मधुरो घामको प्रकाश जब ती चुलीहरुमा खस्छ लाग्छ माङसेबुङकै दुखहरुको थुप्रो टल्कन्छ त्यहाँ । आसाको त्यान्द्रो जस्तै कसरी टल्कन्छ ती चुलीहरुको डिलमा उभिएका टिनका घरहरु ? कसरी अल्छी गर्दै बिस्तारै बग्छ रतुवा ? कसरी नुनको थुप्रोजस्तै देखिन्छ दमक ? जसलाई ढाकरमा ओसार्न तत्पर देखिन्छ भरिया माङसेबुङ । अहो म त क्या फ्यान्टासिमा गएछु । तर यो फ्यान्टासी हैन । रियालिटी हो । बर्षौदेखी बिद्यमान । मान्छेहरुको आ–आफ्नै साइकोलोजी बन्न सक्छ्न । आ छाडौं यस्तो कुरा ! एयरफोन लाएर बिपुल छेत्रीको ‘असार’ सुन्न थाले । अलि रिल्याक्स फिल भो । पेटमा भोकले लात मार्न थालेछ । अब त खाना खाने बेला भो ।

माङसेबुङ

सम्बन्धित खवर