माङसेबुङ । म्यानचेस्टर सिटीलाई हराउँदै साउदी क्लब अल–हिलाल फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
ओल्र्यान्डोमा मंगलबार बिहान भएको खेलमा सिटीलाई ४–३ गोल अन्तरले हराउँदै अल–हिलाल क्लब विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
हिलालको जितमा मार्कोस लियोनार्डोले २ तथा माल्कम र कालिदु कुलीबालीले समान एक–एक गोल गरे । सिटीका लागि बर्नार्डो सिल्भा, एर्लिङ हालान्ड र फिल फोडेनले समान एक–एक गोल गरे ।
निर्धारित समयमा २–२ गोलको बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा हिलालले ४–३ ले जित निकालेको हो ।
अब हिलालले क्वार्टरफाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सेसँग प्रतिस्पर्धा गर्नेछ । यस हारसँगै सिटीको क्लब विश्वकप यात्रा समाप्त भएको छ ।