नमेटिने, नटुङ्गिने मार्ग - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नमेटिने, नटुङ्गिने मार्ग

  • धनबहादुर फागो

स्थायी घर बर्मा रहेपनि रोजगारको सिलसिलामा थाइल्याण्डमा बसोबास गर्दै आउनुभएका प्राध्यापक भारथी लिम्बुनी ओख्राबोले करिब ४४ वर्ष प्राध्यापनमा बिताउनुभयो । वहाँले बुवा अर्जुन रहुन्ज्येल जन्मदेखि मुत्यु पर्यन्तसम्मका संस्कारहरु किरात लिम्बू संस्कृति अनुसारै गर्नुभयो । किनकि, वहाँका काका आफैं फेदाङमा हुनुहुन्थ्यो ।

तर, बर्मा पुगेका दोस्रो पुस्तापछि मौलिक सांस्कृतिक परम्पराहरुको अनुसरण संकटमा परेको भारथीको बुझाइ छ । ‘संस्कार गर्ने फेदाङमा कोही नपाएपछि आफैंले नेपालमा छापिएको पुस्तकको फोटोकपी पाठ गरेर बच्चाबच्चीको नाम राख्ने काम गरेका छौं,’ वहाँले भन्नुभयो, ‘हामी छैटौं पुस्ताकासम्मले पुस्तकको आधारमा वंशावली खोज्ने र संस्कार गर्ने काम गर्दै आयौं । अब नयाँ पुस्ताले त्यस्तो गर्ने सम्भावना टुट्दै छ ।’ (दूरदेशबाट माइती खोज्दै’ कान्तिपुर, २०७१ साउन १७ गते) ।

ओख्राबोले उक्त कुरा २०७१ साल बैसाकमा धरानमा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय लिम्बू सम्मेलनमा सहभागी हुन नेपाल आउनुभएको बेला बताउनु भएको थियो । वहाँको उक्त कुराले किरात समुदायको सांस्कृतिक परम्परा विस्तारै संकटतिर उन्मुख भएको औंल्याएको छ । वहाँले व्यक्त गर्नुभएको त्यो अवस्था बर्मा र थाइल्याण्डजस्तो पुख्र्यौली थलोबाट टाढिएकाहरुमा मात्र होइन, पुख्र्यौली स्थान नेपालमा बसोबास गर्दै आएका किरातहरुमा पनि देखिन थालिएको छ ।

केही वर्षअघि यस पंक्तिकारका काठमाण्डौमा बसोबास गर्दै आउनु भएका एक पत्रकार मित्रकी श्रीमतीको साप्पोक चोमेन (कोख पूजा अर्थात् गर्भवती महिला र गर्भमा रहेको शिशुको सुरक्षाका लागि गरिने अनुष्ठान) गर्नु पर्ने अवस्था आयो । आफ्नो धर्म, संस्कार, संस्कृति तथा रीतिरिवाजलाई बचाइराख्नु पर्छ भन्ने सोंच र त्यही अभियानमा जुटेका ती मित्रले चाहेर पनि श्रीमतीको साप्पोक चोमेन गर्न सक्नुभएन । कारण थियो, काठमाण्डौमा फेदाङमा सहजरुपमा नपाउनु ।

यी माथिका दृष्टान्तले के देखाउँछ भने वर्तमान अवस्थामा चाहेर पनि आफ्नो संस्कृति, कर्म संस्कार, मुन्धुम, रीतिरिवाजजस्ता जातीय पहिचानसँग जोडिएका कुराहरु जोगाइ राख्न कठिन छ । विश्वव्यापीकरणसँगै भित्रिएका बाहिरिया संस्कार एवं संस्कृति, आफ्नो पुख्र्यौली थलो छाडेर अन्य स्थानमा बसाइँ सर्ने वा रोजगारीका लागि जाने क्रमले यस्तो कठिनाइ सिर्जना भएको हो । तर, महत्वपूर्ण पक्ष चाहीँ लामो समयदेखि कर्म संस्कार गर्दै आएका फेदाङमा, नाक्छोङ (राई जातिका कर्म संस्कार गर्ने व्यक्ति) हरुजस्ता मुन्धुम र कर्म संस्कारबारे जानकार व्यक्तिहरुको बिस्तारै कमी हुँदै जानु हो । यसका साथै कर्म संस्कार, मुन्धुम, रीतिरिवाजबारे खोज अनुसन्धान, अध्यापन, तालिमको अभाव पनि हो ।

यसले गर्दा किरातहरुको मुन्धुम, संस्कार, संस्कृति तथा रीतिरिवाज संकटतिर उन्मुख हुँदै गएका छन् । यसबारे पहिचानवादीहरु चिन्तित भएका छन् । उनीहरुले त्यसलाई बचाउने प्रयास स्वरुप केही ठाउँमा फेदाङमा तालिम दिए । फेदाङमा, नाक्छोङहरुलाई मुन्धुम फलाक्न लगाएर त्यसलाई रेकर्ड गर्ने, पुस्तकको रुपमा प्रकाशन गर्ने काम पनि गर्दै आएका छन ्। यस्ता कार्यले मुन्धुमलाई दस्तावेजीकरण गर्ने काम भएको छ । तर, यतिले मात्र कर्म संस्कार बचाउन कहाँ सकिँदो रहेछ र ! मेरा पत्रकार मित्रसँग साप्पोक चोमेन मुन्धुमको पुस्तक थियो । त्यसैले मैले ती मित्रलाई ‘पुस्तक छ त, आफैं गर्नु नि’ भनी ठट्यौली पारामा जिस्याएँ । जवाफमा वहाँले ‘पुस्तक भएर मात्र कहाँ हुने रहेछ, कर्म संस्कार गर्न के के वस्तु आवश्यक पर्छ, कुन अध्यायमा के गर्नु पर्छ भन्ने थाहा हुँदैन रहेछ’ भन्दै आफ्नो अनुभव बताउनुभएको थियो । मित्रको अनुभवले के देखायो भने आफूले चाहेर पनि मुन्धुमअनुसार कर्म संस्कार नगरी बस्नु पर्ने अवस्था रहेछ । त्यसैले कि त मुन्धुमअनुसार कर्म संस्कार नगरी बस्ने कि अर्को धर्म अंगाल्न पुग्ने अवस्थामा सिर्जना भएको रहेछ ।

यस्तो अवस्थाबाट ती जातिलाई बचाउन त्यस्ता अप्ठ्यारालाई गम्भीर रुपमा मनन् गर्दै अगाडि बढ्नु आजको आवश्यकता हो । ती अप्ठ्यारालाई समाधान गर्ने बाटो भने नभएको होइनन् । समाधानका लागि दीर्घकालीन सोंच, चिन्तन र अध्ययनको खाँचो छ । मानव जातिलाई सत्मार्गमा डो¥याउने दर्शनलाई आत्मसात् गर्दै अघि बढ्ने पथिकको खाँचो छ । त्यस मार्गमा हिँड्न सके मानिस युगयुगान्तरसम्म धर्मदर्शन, मुन्धुम, कर्म संस्कार एवं संस्कृतिविहीन हुने छैनन् ।

मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनले किरात मुन्धुम, दर्शन र कर्म संस्कार एवं संस्कृतिलाई युगौंसम्म बचाइराख्न करिब एक शताब्दी अघि नै किरात साम्जीक मुन्धुमलाई संहिताकृत गर्दै त्यसलाई लेख्य परम्परामा ल्याउनुभएको थियो । विभिन्न माङहिमहरुलाई धर्मदर्शन, मुन्धुमको पठनपाठन र कर्म संस्कारको अभ्यास गर्ने थलोको रुपमा विकास गर्नुभएको थियो । वहाँको जीवनकालमा नै ती माङहिमहरुबाट धर्मदर्शन, मुन्धुम र कर्म संस्कारबारे ज्ञान भएका दर्जनौं संख्यामा माङसेवासाबाहरु उत्पादन भएका थिए । वहाँको जीवनकालपछि मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङले उक्त कार्यलाई संस्थागत गर्दै व्यवस्थित गर्नुभएको छ । वहाँको निर्देशनमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाले किरात साम्जीक मुन्धुमको करिव एक दर्जन भाग प्रकाशन गरिसकेको छ । अन्य भाग प्रकाशनको तयारीमा छ ।

यस्तै, धर्मदर्शन, मुन्धुम र कर्म संस्कारबारे पठनपाठन गराउन ‘किरात साम्जीक मुन्धुम निसामहिम’ नामक औपचारिक विद्यालय इलामको माङसेबुङमा दुई दशकअघि स्थापना भएको छ । यस निसामहिममा धर्मदर्शन, साम्जीक मुन्धुम र कर्म संस्कारबारे सैद्धान्तिक तथा प्रयोगात्मक पढाइ हुने गर्दछ । यस निसामहिमबाट अहिलेसम्म मुन्धुमको अध्येता, व्याख्याता तथा कर्म संस्कारका ज्ञाताहरु सयौंको संख्यामा उत्पादन भइसकेका छन् । र, भविष्यमा पनि भइरहने छन् । यस कार्यले किरात धर्मदर्शन, मुन्धुम र कर्म संस्कारको ज्ञान एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै लगेको छ ।

‘इष्टिच्युट’बाट यसरी मुन्धुम अध्यापन गराएपछि त्यो विश्वव्यापी हुँदै गएको छ । यही मुन्धुम विद्यालयमा अध्ययन गर्नेहरु विश्वका विभिन्न मुलुकमा पुगे, त्यहाँ उनीहरुले मुन्धुम अनुसार कर्म संस्कार गर्दै आएका छन् । भारत, भूटान, बर्मा, हङकङ, अमेरिका, क्यानडा, अष्टे«लिया, बेलायतमा रहेका किरात धर्मावलम्बीहरुले मुन्धुम अनुसारनै कर्मसंस्कार गर्दै आएका छन् । यसबाट किरात धर्मदर्शन, मुन्धुम र कर्म संस्कारको विश्वव्यापीकरण गर्ने र युगौंयुगसम्म बचाइ राख्ने प्रक्रियाको विकास भएको छ । यो मार्ग नै नमेटिने, नटुङ्गिने दर्शनको मार्ग भएको मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देनले बताउँदै आउनुभएको छ ।

त्यसैले पहिचानलाई माया गर्ने विद्वतवर्गले आफ्नो धर्मदर्शन, मुन्धुम, रीतिरिवाजलाई बचाइ राख्न तथा जन्मअघिदेखि मृत्युपछिसम्मका सम्पूर्ण कर्म संस्कारहरु मुन्धुम अनुसारनै गर्नका लागि मुहिङगुम अङसीमाङ फाल्गुनन्दले देखाउनुभएको मार्गको यात्री हुनको विकल्प छैन् । जुन मार्गले किरात पहिचानलाई बचाई राख्ने छ । अमर बनाउने छ ।

सम्बन्धित खवर