डा. केसीलाई अनसन तोड्न सरकारको आग्रह - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

डा. केसीलाई अनसन तोड्न सरकारको आग्रह

काठमाडौं । सरकारले डा.गोविन्द केसीलाई अनसन अन्त्य गर्न आग्रह गरेको छ ।

चिकित्सा सुधारको माग गर्दै विगत २७ दिनदेखि आमरण अनसनरत्डा गोविन्द केसीलाई सरकारले अनसन अन्त्य गर्न आग्रह गरेको हो ।

शनिबार विज्ञप्ति जारी गरी डा. केसीसँग वार्ता गर्न गठित सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले मुलुक कोरोनाले आक्रान्त रहेको बेला अनसन अन्त्य गर्न आग्रह गरेको हो ।

असोज २२ र २३ गते दुई पक्षबीच वार्तामार्फत् उठेका मागहरु प्रष्ट गरिसकेकोले कोरोना महामारीको विषम परिस्थितिमा अनसन अन्त्य गर्न आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ ।

शिक्षासचिव मैनालीले सरकार डा. केसीले उठाएका मागप्रति संवेदनशील भएको भन्दै गुणस्तरीय चिकित्सक शिक्षाको विस्तार तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहमा प्रतिबद्ध भएको समेत बताए ।

सरकारले मेडिकल शिक्षाका लागि विभिन्न ठाउँमा कलेज स्थापना गर्न लागेको भन्दै विज्ञप्तिमा गेटा मेडिकल कलेज भवन र अस्पताल भवन निर्माण सम्पन्न भइसकेको र अन्य पूर्वाधार निर्माणको काम अन्तिम चरणमा रहेको उल्लेख छ ।

विज्ञप्तिमा चिकित्सा शिक्षाको नियमनका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५, तथा राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ जारी भइसकेको र सोबमोजिम चिकित्सा शिक्षा आयोग गठन भइ एकीकृत प्रवेश परीक्षा, सिट निर्धारण, एकीकृत शैक्षिकसत्र, गुणस्तर प्रत्यायन बोर्ड गठन, नेसनल मेडिकल स्पेसियालिटिज बोर्ड गठन, सरकारी शिक्षण संस्थामा ७५ प्रतिशत छात्रवृत्तिलगायतका नियमनसम्बन्धी व्यवस्था नियमितरुपमा कार्यान्वयनमा आइसकेको जनाइएको छ ।

यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा एमबीबीएस कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगसमक्ष स्वयम मूल्यांकन प्रतिवेदन पेस गरिसकेको र प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापनाका लागि बर्दिबास, बुटवल र सुर्खेतमा जग्गाप्राप्ति र गुरुयोजना स्वीकृत भइसकेको जनाइएको छ ।

यसैगरी, विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदन्ड निर्धारण समिति तथा कार्यदलका प्रतिवेदन प्राप्त भइ कार्यान्वयनकोक्रममा रहेको र राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा संशोधन प्रयोजनका लागि चिकित्सा शिक्षा आयोगद्वारा कार्यदल गठन भइ कार्य प्रारम्भ भइसकेको जनाइएको छ ।

यसअघि, शुक्रबार राति सरकारी वार्ता टोली र डा. केसी पक्षका वार्ता टोलीबीच भएको वार्ता बिनानिष्कर्ष टुंगिएको थियो ।

सम्बन्धित खवर