आईपीएल : मुम्बईमाथि राजस्थानको सानदार जित - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : मुम्बईमाथि राजस्थानको सानदार जित

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई पराजित गर्दै जित दर्ता गरेको छ ।

शेख जायद क्रिकेट मैदान अबुधाबीमा आइतबार राति भएको खेलमा राजस्थानले मुम्बईलाई ८ विकेटले पराजित गर्दै सानदार जित दर्ता गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य राजस्थानले १८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

राजस्थानको जितमा बेन स्टोक्सले ६० बलमा ३ छक्का र १४ चौका प्रहार गर्दै १ सय ७ रनको शतकीय इनिङ्स खेल्दै अविजित रहे ।

यसैगरि सन्जु सामसनले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ्स खेल्दा स्टोक्स र सामसनले तेस्रो विकेटका लागि अविजित १ सय ५२ रनको साझेदारी गरे ।

राजस्थानका रोबिन उथप्पाले १३ तथा कप्तान स्टिभ स्मिथले ११ रन बनाए भने मुम्बईका जेम्स पाटिनसनले २ विकेट लिए ।

यस अघि मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । मुम्बईका लागि हार्दिक पाण्डयले २१ बलमा ७ छक्का र २ चौका प्रहार गर्दै ६० रनको अर्धशतकीय इनिङ्स खेल्दै अविजित रहे ।

यसैगरि सूर्यकुमार यादबले ४० रन जोडे भने इशान किशनले ३७ रन जोड्दा सौरभ तिवारीले ३४ रन बनाए । क्विनटन डी कक र कप्तान केइरन पोलार्ड समान ६/६ रन बनाएर आउट भए ।

राजस्थानका श्रेयस गोपाल र जोफ्रा आर्चरले २/२ विकेट लिदा कार्तिक त्यागीले १ विकेट लिए ।

सम्बन्धित खवर