त्रासमा हिँडेको तिहार - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

त्रासमा हिँडेको तिहार

  • सन्जित फलना

भोलि मावलि जाने भनेर ड्याडीले भन्नुभएकोले हर्ष कि खुसिले हो रातभरि निद्रै आइरहेको थिएन । मनभरि नयाँ लुगा लगाउने र गाडिमा चढ्ने कल्पना गर्दागर्दै कतिबेला हो भुसुक्कै निदाएछ । बिहान चारै बजे बिउँझिए । हतारहतार उठे र सिरक पट्याए । म उठेको थाहा पाएपछि दिदि र भाइ पनि उठे । आमा र ड्याडी अझैसम्म सुतिरहनुभएको थियो । हामी तिनजनाको कल्याङमल्याङले आँखा मिच्दै वहाँहरुपनि उठ्नुभो ।

‘हैन तिमेरलाइ मावलि जाने भनेपछि निद्रा लाग्दैन है ?’–ड्याडिले हाँस्नहाँस्न खोज्दै जिस्कदै भन्नुभयो ।

म सगै उभिरहेको भाइलाई वास्ता नभए पनि मलाइ भने अलिअलि लाज लाग्यो । यसो दिदीलाइ हेरे । उनलाई पनि म भन्दा बढ्ता लाज लागेकोले हुँदो हो शिर निहुराइन् र मेरो आँखामा पुलुक्क हेर्दै हाँसिन् ।

‘ल छिटोछिटो हातखुट्टा धोएर लुगा लगाउ’ –यति भनेर ड्याडी ट्वाइलेटतिर लाग्नुभो । आमा पनि मुस्कुराउँदै खाजा बनाउन भान्सातिर हिड्नुभो । दिदि, भाई र म हतारहतार रमाउँदै लुगा लगाउन थाल्यौँ ।

२०५९ सालको संकटकालिन समयमा माङसेबुङ बसाइँ सरेर आएदेखि हामि हरेक बर्ष तिहारमा मावली जान्थ्यौ । उता जिर्मलेमा दुइ घण्टा लाग्थ्यो मावली पुग्न । घरबाट नजिक भएकोले प्राय स्कुल बिदा हुने बित्तिकै मावली गइ हाल्थ्यौ । माङसेबुङ बसाइँ सरेर आएपछि भने मावलि जाने क्रम छोटिएको थियो । दशैँ नमनाउनाले दशैँको खासै वास्ता हुन्थेन । तिहार आउन लाग्यो भनेपछि चाहिँ मावली जाने कुरो चलिहाल्थ्यो । माङसेबुङ आएपछि ५९ सालमै पहिलोपटक मावली जाँदा खुब रमाइलो भाथ्यो । यसपटक तेस्रो चोटि मावली जाँदैथ्यौ हामी ।

असोज कातिककको बेला भर्खरै बर्खा सकिएकोले गाडिको बाटो प्राय भत्किएको हुन्थ्यो । बाटो मर्मत नगरेसम्म यातायातहरु आवतजावत गर्थेन । बाटो मर्मत हुन कहिले मङसिरसम्म पर्खनुपथ्र्यो । कारण मङसिरमा माङसेबुङमा भव्य कार्यक्रमको आयोजना हुन्थ्यो । त्यतिबेला राजा, प्रधानमन्त्री र विभिन्न पार्टीका राजनेता हरुको बाक्लो उपस्थिति हुने भएकोले सवारी चलाउन स्थानिय सडक बिभागले स्काभेटर र डोजरहरुको प्रयोग गथ्र्यो । त्यतिबेला दमकबाट सवारी सगसगै मिक्लाजुङ डाँडाको टुप्पि हुँदै खुब हेलिकप्टर पनि आउँथ्यो । जिन्दगीमा मैले पहिलोचोटि हेलिकप्टर माङसेबुङमै देखेको हो । एच लेखेको ग्राउन्डमा लेन्ड हुने बेला उडेको धुलो र पतिङगरहरु हाम्रो घरसम्म आइपुग्थ्यो । तिनै हेलिकप्टरहरुबाटै राजा ज्ञानेन्द्र पहिलोपल्ट माङसेबुङ आउनुभएको थियो । त्यतिबेला इतिहासकै धेरै पाँचवटा हेलिहरु लेन्ड भएको थियो । सुरक्षाकर्मी र अन्य दरबारिया भारदारहरुको भिड निक्कै हेर्नलायक देखिन्थ्यो । हाम्रो लागि त्यत्रो भिड रमितै हुन्थ्यो । त्यसपछि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नि आउनुभएको थियो । यसरि कार्यक्रमको बखत सबैभन्दा बढि माङसेबुङ आउने राजनेतामा सभामुख सुवासचन्द्र नेम्बाङ पर्नुहुन्थ्यो । खोलाको बाटो सवारी साधनमा अलि असुबिधा हुने भएकोले सवारी नचल्दा रातुवा खोलाको नागबेलि बगरैबगर चुलाचुलिको चेप र खोँच हुँदै बेलडाँगीसम्म पैदल हिँड्न पथ्र्यो । त्यहाँबाट टेम्पो चढेर दमक पुगेपछि मात्रै मावली जाने बस पाइन्थ्यो ।

खाजा खाइसके पश्चात हामी बाटो लाग्यौ । ड्याडीले भाइलाई उसको फेभरेट हेलिकप्टर शैलिमा काँधमा राखेर मलाइ अर्को हातले डोड्याउँदै अघिअघि हिँड्नुभो । आमा भने ढाडमा लुगाफाटाको ब्याग बोकेर दिदिलाई डोड्याउँदै पछिपछि हुनुन्थ्यो । मैले र दिदिले पनि आ–आफ्नो स्कुले ब्याग बोकेको थियौ । मैले त्यो ब्यागमा बिहान ड्याडीले दिनुभएको १० रुपैयाँ सुरक्षीत राखेको थिए ।

बाटोमा घरघरबाट निस्किएर छिमेकिहरुले राम्ररी जानु भन्दै हेरिपठाए । त्यतिकैमा भन्ज्याङ बजार पुग्यौ । भन्ज्याङ बजार पुगेपछि ओरालो लाग्नुपथ्र्यो । बर्खाको भेलले बाटाभरि बनाएका खाल्डाहरु नाघ्दै ओरालोमा हामी सबैजना अलि छिटोछिटो हिँड्यौ । ड्याडीको काँधमा बसेको भाई पनि मच्चिन थाल्यो ।

‘झर्लास है जाँठा ! अलिक मज्जाले बस नि !’–ड्याडीले हकार्नुभएपछि उसले मच्चिन छोडेर ड्याडीको टाउको दह्रो गरि समायो ।मैले पनि पक्रिराखेको चोरऔँला बेस्सरी समाते ।

बिहानीको घामको प्रकाश चुलाचुलीको घना छातिभरि फैलिसकेको थियो । घामको उज्यालोमा चुलिहरुमा भत्किएको पहिरो फुस्रै टल्किरहेको देखिन्थ्यो । ति पहिरोका असरल्ल तरेलिहरु जनयुद्धले पिल्सिएका कुनै उदास बस्तिको अवशेषजस्तो देखिन्थे । घामको प्रकाशमै पहेँलो टल्किरहेको रातुवा भने छापामार लडाकुझै डराउँदै चुलिहरुको फेदिमा लुकेर हिँडिरहेको जस्तो देखिन्थ्यो । सायद माओवादीको डर र चुलाचुलिको पट्यारलाग्दो बाटोले गर्दा चाडबाडको बेला पनि खासै मान्छेहरुको चहलपहल थिएन । फाट्टफुट्ट मानिसहरु भने चौतारीहरुमा आराम गरिरहेका भेटिन्थे । दमक रवि खण्ड जोड्ने त्यो निर्माणाधिन फाल्गुनन्द राजमार्ग नहिड्ने रवि, पन्चमी र सप्तमीतिरका यात्रुहरुले बिकल्पको रुपमा धरानको बाटो रोज्थे । धरान धनकुटा हुँदै पाँचथर जोड्ने त्यो घुमाउरो बाटोबाट यात्रा गर्न खर्चालु र झन्झट भएपनि सुविधायुक्त हुन्थ्यो । त्यै भएर पनि यो चुलिको बाटो खासै प्रयोग गर्थेनन् मानिसहरुले ।

लगभग एक घण्टा ओरालै ओरालो हिँडेपछि हामी घर्ति दोभानमा झ¥यौ । चुलाचुलिको चेप र नागबेलि रातुवा खोलाको बगर यहिबाट सुरु हुन्थ्यो । खोलाको डिलमा एकदुईवटा चियापसल थियो । घाममा तिर्खाउनुभएको ड्याडीले सबैलाई एक एक ओटा पेप्सि किनेर बाँडिदिनुभो । मैले दुईतिन घुड्कीमै पेप्सि रित्याएर बतल खोलामा फालिदिए । बर्खा भर्खरै सकिएकोले रातुवामा अलिअलि भेल बाँकि नै थियो । कम्मर कम्मरसम्म आउने रातुवा खोला तर्दै हामी चुलाचुलिको पट्यारलाग्दो बाटो हिँड्न थाल्यौ । घाममा तात्तिएको रातुवाको बगर पाइतालै सेक्लाजस्तो थियो । बेलाबेला चुलिहरुमा घाम छेलिँदा भने शितलताको महसुस हुन्थ्यो । ठाउँठाउँमा साँघुरो चेपहरु भएर हिड्नु पथ्र्यो । ति चेपहरुमा छाल हान्दै बग्ने रातुवालाई अजिङगर जस्तै घस्रीरहेको देखिन्थ्यो । ड्याडीले ति ठाउँहरुको एकएक नाम भन्दै तिनिहरुको इतिहास र कहावत सुनाउँदै हिड्दैहुनुन्थ्यो । जस्तो कि बाघ मारेको ठाउँलाइ बाघमारा, लाटी बसेको चोकलाई लाटीचौक आदि इत्यादि । मैले बाघको नाम सुनेर डरले ड्याडीको औँला अझ दह्रोगरि समाते । आमा र दिदि पनि अलि अघि अघि हिँड्न थाल्नुभो । बाटोभरि थर्किरहेको खोलाको सनन आवाज र झ्याउँकिरिहरुको एकोहोरो टिनिनिनि आवाजसगैं यात्रारत हामीलाई खोलामा बग्दै आइरहेको पेप्सिको बतलले पछ्याइरहेको थियो ।

लगभग तिन घण्टा हिँडेपछि हामी मार्चिबुङ पुग्यौ । त्यहाँ एकदुईवटा घरहरु भेटिए । ढकमक्क सयपत्री फुलेका ति घरहरुमा कागजका रङिगचङिग फुलहरुको सजि सजावट थियो । एउटा घरको सिकुवामा रेडियोबाट ‘तिहारै आयो लौ झिलिमिलि’ भन्ने गित घन्किरहेको थियो । गित सुनेर मलाई थकान बिर्सिएर कतिबेला मावली पुगु भन्ने कौतुहलता जाग्यो । मैले आमालाई छुकछुक हुँदै कतिबेला दमक पुगिन्छ भनेर सोँधे । आमाले अझै एकघण्टा लाग्छ भन्नुभो ।

थाकेपनि हर्षले गर्दा हिड्ने जोस भने आइरहेको थियो । अलि पर केहि मान्छेहरु मासु बोकेर आइरहेका थिए । शाकाहारी भएकोले हामी मासु खान्थेनौ । नखाने भएपछि घिन लाग्नु स्वाभाविक भएर हुँदो हो हामी सबैले नाक थुन्यौ । ति मान्छेहरुले हामीलाई राम्ररी हेरे ।

बस्ति सकेर फेरि हामी खोलाकै बाटोमा झ¥यौं । पहिले एकजना केटी आफसेआफ हराएकोले यसको नाम कन्यालुक्वा भको रे भन्दै ड्याडीले एउटा चेप सबैलाई देखाउनुभो । त्यो चेप एकदमै कालो र डरलाग्दो थियो । डरले मेरो टाउको एकदमै चिसो भयो । त्यतिन्जेल सम्म आमा र दिदि हाम्रो छेउ आइसक्नुभएको थियो ।

कन्यालुक्वा अलि तल दुईजना शरणार्थी केटाहरु सिग्रेट तान्दै साइकलमा दाउरा लोड गरिरहेका थिए । प्राय बेलडागी शिविरका हरेक सेक्टरका शरणार्थीहरु दाउरा संकलन गर्न यसरिनै रातुवा खोलामा साइकल लिएर छिर्ने गर्थे । क्याम्पमा घना बस्ति भएकोले दाउराको जोहो गर्दै उनिहरु चुलाचुलिको जङगलको माथिल्लो भागमा पस्न थालिसकेका थिए । शरणार्थीहरुको बाध्यता र दैनिक आवश्यकतालाई मनन गर्दै स्थानिय वन समिति र नेपाल सरकारले पनि दाउरा पैदारि र संकलन कार्यमा रोक लगाएको थिएन ।

‘काँ हिड्नुभा होला दाइहरु ? त्याँ तल बाटोमा आर्मीहरुले अफ्ठ्यारो बनाउला है’–सिग्रेट फाल्दै एकजना केटोले ड्याडीलाई सोध्यो ।

‘ससुरालितिर पो हौ भाई’–ड्याडीले हामीलाई पुलुक्क हेर्दै उत्तर दिनुभो ।

‘ए ! आर्मीहरुले पुरा गस्ति गरिरहेका छन र नि !’–अर्कोले त्यसरिनै हामीलाई हेर्दै भन्यो ।

‘केहि गर्दैनन् होला नि त ?’–ड्याडीले सोध्नुभो ।

‘काम नबिगारि त के गर्लान र ! तिहार मान्न जानुभा जस्तो छ, ल है राम्ररी जानुस ह’–पहिलो केटोले मुस्कुराउँदै भन्यो ।

‘खै राम्ररी नै जाउँ भनेको’–ड्याडी पनि उसरिनै जिस्कनुभो ।

ति केटाहरुको मुखबाट आर्मीको कुरो सुनेर मलाई कताकता डर लाग्न थालिसकेको थियो । त्यसै पनि बन्दुक र उनिहरुको टाटेपाङग्रे लुगा देख्ने बित्तिकै आङ सिरिङ भइहाल्थ्यो । पिसाव फेर्न एकछिन रोकिए । आमाले मलाई पर्खँदै छातिबाट खैनिको बट्टा झिकेर खैनि बनाइ खानुभो ।

आमाले जहिल्यै यसरिनै ड्याडीबाट लुकेर खैनि खानुहुन्थ्यो । आमाले खैनि खाइसकेपछि हतार हतार ड्याडीहरुलाई भेट्यौ ।

‘मा..साले फेरि खैनि चेपिस हैन ?’–ड्याडीले आमालाई हकार्नुभो । आमा केहि बोल्नुभएन । लुकिलुकि खैनि खान्छ भन्ने थाहा पाउँदापाउँदैपनि ड्याडीले आमालाई खासै बन्देज गर्नुहुन्थेन । आमालाई पनि ड्याडीले खैनिको कुरो थाहा पाउनुभाछ भन्ने पत्तो थियो तथापि अलिअलि डर भने राख्नुहुन्थ्यो । तैपनि वहाँहरु आपसमा केहि भन्नुहुन्थेन । सायद यो पनि एकप्रकारको माया थियो ।

त्यतिकैमा एउटा घुम्ति आयो । घुम्ति पार गरेर अघि मात्रै के बढेका थियौ आँखा अगाडि सय डेढसय जना हरियो कम्ब्याट लाएका आर्मीहरु देखा परिहाले । तिनिहरु सबैले अनुहारमा कालो मोसो दलेका थिए । टोपीमा झारपात र स्याउलाहरु सिउरेका थिए । युद्ध गर्न तयार भएझै देखिने तिनिहरु कोहि हातमा बन्दुक बोकेर यताउता गरिरहेका थिए । कोहि ओकेटोके फोन बोकेर ठुलो आवाजमा बात मारिरहेका थिए । कोहि बालुवामा टाउको मात्रै निकालेर पुरिएका थिए । कोहि चुलिको भित्ताको लहराहरुमा झुण्डिदै कमाण्डो ट्रेनिङ गरिरहेका थिए । सायद बढ्दो माओवादी आतंक र युद्धको जोखिमले होला उनिहरु यसरि चुलिभित्र गस्ति गरिरहेको मैले पहिलोपल्ट देख्दै थिए । म डरले ड्याडीको अगाडि उभिए । दिदि र आमा पनि ड्याडीकै नजिक आउनुभो ।

‘कताबाट आउनुभा हो तँपाइहरु ?’–ओकेटोके फोन बोक्ने कमाण्डरले सोधिहाल्यो ।
‘माङसेबुङबाट सर’–ड्याडीले भाईलाई काँधबाट भुइँमा झार्दै उत्तर दिनुभो ।
‘अनि कता हिँड्नुभा हो ?’–कमाण्डरले फेरि सोध्यो ।
‘ससुराली’–ड्याडीले उत्तर दिनुभो ।
‘कहाँ पर्छ ससुराली ?’–फेरि सोध्यो ।
‘बाहुनडाँगी’–ड्याडीले फेरि उत्तर दिनुभो ।
‘खै यो ब्यागमा के छ हेरौ । हेर्न मिल्छ होला नि ?’–त्यो कमाण्डरले आमाको छेउ आउँदै भन्यो ।
‘नानिहरुको लुगा हरु मात्रै छ सर’–आँट बटुल्दै आमाले ब्याग खोलेर देखाउनुभो ।
त्यतिन्जेलसम्म मेरो आँखा खालि ति आर्मीहरुले बोकेका बन्दुकतिर मात्रै थियो ।
‘अनि माथि बाटोतिरको स्थिति के छ नि ? माओवादिको चकचक कतिको छ ?’–कमाण्डरले फेरि सोध्यो ।
‘त्यस्तो नराम्रो त छैन सर’–ड्याडीले उत्तर दिनुभो ।
‘अनि यस्तो संकटकालको बेला त्यति टाढा किन जानुभाको ? डर लाग्दैन ?’–कमाण्डरले एकपटक हामी सबैको आँखामा हेर्दै सोध्यो ।
‘अब चाँड मनाउनै पर्यो सर’–ड्याडीले ठट्टा गर्दै भन्नुभो ।
‘अहिले माओवादिको चकचकि पहिलेभन्दा बढेको छ । ठाउँठाउँमा एम्बुस राख्ने काम गर्दैछन् । लडाइको तयारि गर्दैछन । यहाँ हामी गस्ति गरिरहेका छौ । केहि पर्यो भने भन्नुहोला ।’ कमाण्डरले एकै सासमा भन्यो ।
‘हुन्छ नि सर’–ड्याडीले फेरि भाईलाई काँधमा राख्दै भन्नुभो ।
त्यसपछि राम्ररी जानुहोला भन्ने शुभकामना दिँदै हामीलाई ति आर्मीहरुले बाटो खालि गरिदिए ।

मैले डरले मेरो ब्याग दह्रो समातिरहेको थिए । कतै पैसा हरायो कि भनेर ब्याग खोलेर पुलुक्कै हेरे । पैसा जस्ताको तस्तै थियो । त्यहाँबाट बेलडाँगी शरणार्थी क्याम्प पुगुन्जेलसम्म आर्मीहरु बाटैभरि गस्ति गर्नमा तैनाथ थिए ।

हामी उनिहरुलाई नहेरि छिटोछिटो हिँड्थ्यौ । उनिहरुले भने हामीलाई राम्रोसगं हेरिपठाउँथे ।

‘तिमेरलाई आर्मीसगं कतिको डर लाग्छ ?’–ड्याडीले हामी तिनैजनालाई सोध्नुभो ।
‘मैले त झण्डै पिसाव फेरेको नि’– दिदि हतारहतार बोलिने ।
‘मलाइ त बन्दुकले हान्छ होला भनेर कम्ता डर लागेन’–मैले उत्तर दिए ।

‘त्यहाँ खैनि र चुरोट खाको देखुम न ! तिमेरलाई त्यै आर्मीहरुकोमा पुर्याइदिन्छु’–ड्याडीले आमालाई व्यांग्य गर्दै हामीलाई डर देखाउनुभो ।

त्यसपछि मावली तिहार मनाउन खुसि हुँदै घरबाट हिँडेको म कतिबेला बेलडाँगी पुगेर टेम्पो चढेँ बाटोमा भेटेको आर्मीहरुको डरले पत्तै पाइन ।

माङसेबुङ

सम्बन्धित खवर