लेखकको मृत्यु - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लेखकको मृत्यु

  • सन्जित फलना

नसम्झनुहोस् म दार्शनिक रोँला बार्थको कुरो गर्दैछु । उसको सिद्धान्तको कुरो गर्दैछु । उसले सिद्धान्तमा लेखकको मृत्युको घोषणा गरेको थियो । तर आज म यथार्थमा एउटा लेखकको मृत्युको फेहरिस्त बताउँदैछु ।

त्यो लेखक जो मेरो सबैभन्दा प्रिय थिए । आत्मिय थिए । यसर्थमा हैन कि उ र म एकअर्काबिच परिचित थियौँ । तर यसर्थमा कि उसले मेरो मनको बहहरु लेख्ने गथ्र्यो । मेरो मात्रै हैन उ यो पुरै आख्यानटारको सबैका प्रिय लेखक थियो । जसका कथाहरुले सबै जनाको जिन्दगीलाई अपनत्व महसुस गराउँथ्यो । सबैजनाको हृदयलाई छुन्थ्यो । सबैजनाको अन्तर आवाजलाई सुन्थ्यो ।

उसको लेखन शक्ति भनेको उसको जिन्दगीको बिराट अनुभव थियो । जीउनुको विविधता थियो । लेख्नुको निम्ति बाच्नुपर्छ भन्थ्यो उ । हाम्रो निम्ति लेखक भएनि उ आफ्नो निम्ति भने एक पात्र थियो । जो स्वयम् बाँच्थ्यो एक कहानी, एक मृगतृष्णा, एक महत्वाकांक्षा र त्यसलाई एकाकार गराउँथ्यो हामीसगं । त्यहीँकतै भेट्थ्यौँ हामी पनि हाम्रो जिन्दगीहरु । जिन्दगीलाई यति नजिकबाट लेख्ने उ तर आज चुपचाप मृत्युको नियति स्विकार्न बाध्य भयो । उसको मृत्युले यो पुरै आख्यान्टार शोकमा डुबिरहेको छ । एउटै सोचमा रङमङिरहेको पनि । आखिर उसको मृत्यु किन भयो ? कसरी भयो ?

खासमा, अन्तिममा उसको कलम भुत्ते हुँदै गइरहेको थियो । त्यहीँ कलम जसले पहिले सयौँ सुन्दर कथाहरु लेखेका थिए । ती कथाहरुमा उनले अनेकौँ सुन्दर पात्रहरुको सिर्जना गरेका थिए, जसलाई मृत्युपर्यन्त सायदै हामी बिर्सन्छौँ । ती पात्रहरु खासमा जिवन्त थिए र आख्यान्टारको सबैसंग नजिकबाट साक्षात्कार गर्ने गर्थे । दुःखका भलाकुसारी गर्ने गर्थे । खुसीका हाँसो हाँस्ने गर्थे । ती पात्रहरु आख्यान्टार भरि चर्चित थिए, जसरी चर्चित थिए उसका प्रत्येक कथाहरु ।

तर अन्तिममा उसको कलम भुत्ते हुँदै गइरहेको थियो ।
उ बारबार पाउलो कोहेलोको भनाई दोहोर्याइ रहन्थ्यो । लेखकहरु आँसु र हाँसोको सागरमा डुबुल्की मारिरहने निरीह प्राणीहरु हुन् । साँच्चै त्यसबखत उ निरीह भएको थियो । एकदमै लाचार । के उसले पिडाको सागरमा पौडन जानेन् ? आँसुको सागरमा डुबुल्की मार्न सकेन ? हैन, उ आँसुको सागरमा डुबुल्की मारेरै यतिन्जेल बाँचिरहेको थियो । उसोभए के जिन्दगीप्रति उसको असन्तुष्टि थियो ? यो पनि हैन । खासमा उसको असन्तुष्टि आफ्नै कथाहरुसगं थियो । आफ्नै लेखाइसगं थियो ।

उ सुरुमा होलटाइमर लेखक बन्न चाहन्थ्यो । त्यसको निम्ति उ हर दिन हर रात आफुलाई बन्द कोठाभित्र थुन्थ्यो र लेख्थ्यो । त्यो बन्द कोठा भित्र झ्याल भने खुल्ला रहन्थ्यो । उत्तरतिर फर्किएको काठको झ्यालबाट हावाका झोँक्काहरु सुस्तरी भित्रबाहिर गरिरहन्थ्यो । सोचको गहिरो गुम्फा भित्र बाफिरहेको उसको मस्तिष्कलाई त्यहीँ हावाका झोक्काहरुले स्फुर्ति दिने गर्दथ्यो । चराहरुको उत्सव, नदिहरुको भजन र हुस्सुहरुको जात्रा हेर्दै लेख्न उसलाई खुब मन पथ्र्याे ।

बेलाबेला उ जङ्गल बिचरण गथ्र्यो । उसले प्रकृतिको गहिरो जीवनदर्शनलाई मानवियकरण गर्न नै वर्षौ वर्ष संघर्ष गरेको थियो । फुलका डालिडालिमा आएर सैसला खेल्ने बतासहरुको ढुकढुकी जाँच्न खोज्थ्यो । असिमित उड्ने बादलहरुको यात्रा नाप्न खोज्थ्यो । आकाशको अटल गहिराई तौलन खोज्थ्यो । तपस्यामा बस्ने पहाडहरुको ध्यानलाई हृदयङ्गम गर्न खोज्थ्या । रुख मुनि उभिएर पातहरुको कानेखुसिलाई सुन्न खोज्थ्यो । घण्टौँ–घण्टासम्म पातपतिङ्गर, ढुङ्गामाटो, चराचुरुङ्गी र देविदेउरालीको जिन्दगीसंग एकाकार गराएर जङ्गलको बिचमा एक्लै सुन्यताभासमा हराउँथ्यो । यसरी उसले मस्तिष्क घोटेर आफैलाई कठोर यातना दिन्थ्यो ।

बेलाबेला उ कोठाबाट फुत्त निस्किएर पागल जसरी आफ्नै सुरमा हिड्थ्यो । उ यति बेसुरे भइसकेको थियो कि बाटोवरपर भेटिने भिडहरुको वास्तै हुन्थेन । हल्लाहरुको फिकर हुन्थेन् । हिँड्दा उ अक्सर चुरोट पिँउदै हिँड्थ्यो । सर्को पिच्छे सकिने चुरोटको ठुटाजस्तै जिन्दगी पनि निस्सारमा दुर्वश्यनी भइरहेछ, उ सोच्थ्यो । हावामा डोलिँदै उड्दा चुरोटको धुवाँ एकदमै तिलस्मी देखिन्थ्यो । जस्तो तिलस्मी उसको अस्तित्व देखिन्थ्यो । उ आख्यानटारको एकेक बस्तीमा पुग्थ्यो । बस्तीमा भेटिने सबै पात्रहरुप्रति उ संवेदनशिल बन्थ्यो । पात्रहरुमध्ये पनि उसको संवेदना दिनदुःखीप्रति अलि बढ्ता हुने गर्दथ्यो । तिनिहरुसंग उ हप्तौँ आत्मिक साक्षात्कार गर्दै बातचित गथ्र्यो । तिनिहरु दुख्दा तिनिहरुसङ्ग उ पनि घण्टौँ दुख्थ्यो । तिनिहरु रुँदा उ पनि घण्टौँ रुन्थ्यो । तिनिहरुको ब्यथाको आँसु उसको निम्ति सबैभन्दा महत्वपुर्ण हतियार थियो जसले धोएर उ दुनियाँकै सबैभन्दा सुन्दर र शक्तिशाली हरफहरु लेख्थ्यो । बेलाबेला उ भगवानको यस्तो स्याडिस्टिक इन्स्टिङ्ट सम्झिँदै उद्देलित हुन्थ्यो । तथाकथित सर्ज हुनुको दम्भी सुप्रिमेसीदेखि झनक्क रिस उठ्थ्यो । तर जति नै उद्देलित भएपनि आखिरमा उसको मन कपास जत्तिकै मुलायम थियो । पग्लिहाल्थ्यो ।

मृत्युअघी अन्तिमपल्ट उसलाई हामीले त्यहीँ आख्यानटारमै देखेका थियौँ । त्यतिखेर उ एकदमै क्लान्त र गम्भीर देखिन्थ्यो । त्यस उपरान्त उ कहाँ गयो ? के गर्यो ? कसैलाई थाहा छैन् ।

के उसले सुटुक्कै कोठामा आत्महत्या गर्यो त ?

हैन, उसको एउटा प्रिय पाठक बोल्यो । ‘उ आत्महत्यालाई पलायनवादी सोच भन्थ्यो, कायरता भन्थ्यो । सृष्टिकै अनुपम उपहार हो भन्थ्यो जिन्दगी । यस्तो सोच्ने मान्छेले कसरी आत्महत्या गर्न सक्छ ?’ त्यो पात्रले लेखकको आत्महत्याको कुरालाई ठाडै अस्विकार गर्यो ।

‘मेरो नाम काक्फा हो । म उसकै कथाको एउटा उपेक्षित पात्र । तर पनि उसले मलाई हाँस्न सिकायो । उपेक्षा र घृणाहरु माँझ पनि बाँच्न सिकायो । उसले यसर्थमा जिउन नसिकाउनु हो त मैले अरुहरुसंगको आफ्नो समान अस्तित्व चिन्नै नसक्ने थिए । यसर्थमा उसले मलाई सच्चा मान्छे हुनुको गौरवबोध गरायो र खुसी प्रदान गर्यो । उसको कथाको पात्रमध्ये सायद म सबैभन्दा खुसी पात्र हुँ’ (त्यो पात्र बोल्यो ।)

‘के उसको हत्या भयो ?’
‘कोबाट?’
‘सम्भ्रान्त र सुखी मान्छेहरुबाट?’
‘किन उनिहरुबाट ?’
‘सायद दःखी, निरीह, उपेक्षित र सर्वहारा वर्गहरुलाई उनिहरुकै दाँजोमा उभ्याइदियो भन्ने हाइरार्की सोचले ।’
‘हुन सक्छ।’
‘तर, नहुन पनि सक्छ ।’

आख्यानटारको घुमाउने चौतारीमा भेला भएर सबै जना माँझ उसको मृत्युको अड्कल र गन्थन धेरै बेरसम्म चल्यो ।

‘उसको निम्ति कोठा बाहेक अर्को प्रिय स्थान घाट थियो । उ दिनमा एकपटक घाटहरुमा जाने गथ्र्याे । सायद मृतात्माहरुको सेहेँले उसको मृत्यु भएको हुन सक्छ । (कसैले भन्यो ।)
‘जङ्गल जङ्गल डुलिहिँडेकोले सायद जङ्गलिले दुख देको हुनुपर्छ ।’ (कसैले भन्यो।)
‘हैन कोठामै एक्लै धुम्धुम्ती बस्दा डिप्रेसन भएर उसको नसा मस्तिष्कको नसा चुँडिएको हुनुपर्छ ।’ (कसैले भन्यो।)
आख्यान्टारको सबै जनाले आ–आफ्नो आहान बक्न थाल्यो ।
‘के बेकारमा लख काटिरहने ? बरु उसकै घरमा गएर बुझौँ न ।’ (त्यहाँ भेला भएको सबैभन्दा बुढोले भन्यो ।)

उसको कुरो सबै जनाले समर्थन गर्यो । त्यस पश्चात हामी सबै जना मृत लेखकको घरतिर लाग्यौँ ।

बस्तीको निक्कै पर सुनसान ठाउँमा थियो उसको घर । बाँसले बनेको उसको घर सानो र चिटिक्कको घर रित्तो थियो । घरको वरिपरी तारले बार लगाइएको थियो।गमलाको फुलहरु सुकेर पहेँला भइसकेका थिए । आँगनको बिचमा एउटा झ्याम्म परेको रुख थियो । त्यो रुखमुनि एउटा काठको फलैँचा थियो । रुखमाथि चराहरु अन्ताक्षरी खेलिरहेका थिए। चराहरुले भुत्ल्याएर आँगनभरी पातहरुको कसिङ्गर बनाएको थियो ।

हामी सबैजना उसको सिकुवामा बस्यौँ । घरमा जम्मा एउटा मात्रै कोठा थियो । हामीले त्यो कोठा लेखकको हो भनेर सहजै अनुमान लगायौँ । कोठा भित्रबाट लक हालिएको थियो । अघि कुरा गरेको उत्तरपट्टिको कोठाको झ्याल पनि बन्द थियो । हामीले उसको कोठाको दैलोमा नक गर्यौँ । तर केही प्रतिकृया आएन । त्यतिकैमा अचानक आँगनीमा एकजना मान्छे आइपुग्यो ।

‘तपाइहरुको लेखक त मरिसक्यो । मृत व्यक्तिको कोठा किन ढकढकाउनुहुन्छ ?’उसले कुरा अलिक अनौठो थियो ।
‘तपाई चैँ को हो नि ? (मैले रहस्यपुर्ण तरिकाले सोधे ।)
‘मेरो नाम कामु हो । लेखकको सबैभन्दा प्रिय पात्र । एउटा परचक्री पात्र । (उसले रहस्य चिर्दै उत्तर दियो ।)
‘हामी लेखकको लास हेर्न आएको । उसको मृत्यु कसरी भयो बुझ्न पनि’– (मैले जानकारी पाउने अभिप्रायले सोधेँ ।
सिग्रेट पिउनुहुन्छ ?– (उसले सोध्यो ।)
‘नो थेङ्स । बरु कुरो के हो चाँडो बताइदिए बेस हुन्थ्यो ।’(भनेँ।)
‘यति पट्यारलाग्दो जिन्दगी त बिस्तारै बाँचिन्छ भने मृत्युको कुरो सुन्न केको हतार ? रिल्याक्स । बरु पहिले राम्ररी बस्नुस ।’ उसले यति भनिसकेपछी उ र म आँगनीको फलैँचामा गएर बस्यौँ । उ सिग्रेट तान्दै बोल्न थाल्यो । (खासमा उसको कलम भुत्ते भएको थिएन ।०
‘अनि के भएको थियो त ? (मैले हतारैमा सोधेँ ।)
‘लौ उसोभए ध्यान दिएर सुन्नुहोस् ।’

धेरैदिनदेखी लेखक केही लेख्न खोज्दै थियो । सायद उसको जिन्दगीको आफ्नै कथा । आँखा खोलेदेखी चिम्लिएसम्मको एउटा सत्य । आंशिक वैयक्तिक । उसले यसअघि धेरै कुछ लेखिसकेको थियो । प्राय सब उत्कृष्ट र सफल नि भएका थिए । तर ति पुस्तकहरु सबै अरुकै जीवनका रङहरु थिए । समयको स्मृती बिस्मृतिहरु थिए । अरु नै पात्रहरुको घटनाक्रमको कालखण्ड थिए । त्यैभएर यसपटक उ खुद आफ्नोबारे लेख्न चाहन्थ्यो । आफ्नै भोगाइहरु समेटेर । आफैलाई पात्र बनाएर । तर, दुखको कुरो उसले लेख्न सकिरहेको थिएन् ।

उ कल्पनामा लेख्ने लेखक थिएन । न कि भावना लेख्ने लेखक । उ स्वच्छ अनुभुतिहरुमा चुर्मुम्म डुबेर लेख्न चाहन्थ्यो । त्यसको निम्ति उ जिन्दगीलाइ निस्वार्थ भोग्न चाहन्थ्यो । थाहा छ, उसले के गर्यो ?

सर्वप्रथम उसले सामाजिक सम्बन्धहरु तोड्यो । सामाजिक भएपछि सिर्जना मर्छ भन्थ्यो । उसले वृद्धवृद्दा आमाबाबु संगको साथ छाड्यो । जसले उसलाई जन्माएर संसार देखाएको थियो । श्रीमतीको साथ छाड्यो । जसले उमाथी सपना देखेकी थिइन् । त्यसपछि घर छाड्यो । समाज र सम्पुर्ण इस्ट, मित्रसंगको सम्पर्कबाट टाढा भयो ।

त्यसपछि ?
त्यसपछि, उ सम्पुर्ण सम्बन्धहरुको पर्खाल तोडेर यहाँ आयो । यहाँ आएर बाँसको सानो कटेरो बनाएर बस्न थाल्यो । मानविय अनुभुतिको साँचो मुल्यबोध गराउन एक्लो भएर बस्न थाल्यो । पिँडाहरु भोग्दै, दुःखहरु भोग्दै । त्यतिन्जेलसम्म उ एउटा परचक्री भइसकेको थियो । उसको निम्ति सबैभन्दा सुन्दर चिज उसको आफ्नै मस्तिष्क थियो । जहाँ खेलाइरहन्थ्यो जीवनजगतको अनेकौँ दृष्टिहरु, दर्शनहरु, मान्यताहरु । उ वरपरका यावत घटना र गतिबिधीबारे आउटडेटेड भइसकेका थिए र आफ्नै सोचहरुको संस्करणलाई नविकरण गरिरहन्थे । अपडेट गरिरहन्थे । यस्तो लाग्थ्यो, उसको निम्ति दुनियाँ उल्टो घुमिरहेको छ । उ हरेक दिनजसो कोठामै एक्लै बसिरहन्थ्यो । उसको कोठाबाट ट्ट्ट्ट्ट्ट…. आवाज आइरहन्थ्यो । सायद उ किबोर्डमा केही टाइप गरिरहेको हुन्थ्यो । उसले लेख्दा प्राय अगरवत्ति बाल्ने गथ्र्यो जसको वास्ना बाटोसम्मै आउँथ्यो ।

तर, त्यसदिन अगरवत्तिको बास्ना चलेन ।
कुन दिन ?
त्यो दिन जब म केहि व्यवहारिक कुरा गर्न उसलाइ भेट्न आउँदै थिए । (कामु बोल्यो ।
अनि उसले तिम्रो चाहना पूरा गरिदियो त ? सोँधे ।

त्यहीँ त बेलिबिस्तार लाउँदैछु । त्यो दिन झ्याल बन्द थियो । कोठाभित्रबाट अगरबत्तिको बास्ना चलेको थिएन । किबोर्डको ट्ट्ट्ट्ट …. आवाज पनि सुनिएको थिएन । सायद लेखक सोचमा डुबिरहेको होला सोचेँ । उसको सोच भङ्ग नहोस भनेर बिस्तारै आँगनीमा आएँ । फलैँचामा बसेँ । चराहरुको गीत सुनेँ । एक घण्टापछि बिस्तारै घरभित्र छिरेर चेपबाट उसको कोठा चिहाएँ । तर, कोठामा केही चालचुल थिएन । त्यसपछि ‘फलाना’ भनेर उसलाई धेरै पटक बोलाए । उ केही बोलेन् । यतिगर्दा नि प्रतिक्रिया नआएपछि जोडले लात्ताले हानेर ढोका खोलेँ । बिस्तारै भित्र छिरेँ । दुर्भाग्यवस लेखक आफ्नो कुर्सीमाथी मृत अवस्थामा भेटिए । मेरो मनमा एकदमै चिसो पस्यो । सोँचे कसैले हत्या त गरेन ? तर हत्याको शंकाको निम्ति उसको अङ्गमा कुनै दाग र चोट थिएन । के उसोभए आत्महत्या थियो ? अह… आत्महत्याको प्रमाण दिने त्यस्तो केही सवुत पनि थिएन । जस्तो कि चक्कु, डोरि, ब्लेड, बिषको सिसि, पेस्तोल…। अहँ… केही थिएन । त्यसपछि उसको मृत्यु रहस्यमै स्विकारेर एउटा पात्र भएको नाताले लासलाई जङ्गलतिर लगे । मैले उसको परिवार, आफन्त र इस्टमित्र कोहि पनि बोलाउन उचित ठानिन । पुर्दाखेरी चिहानमाथी उसका सबै पुस्तकहरु राखिदिउँ भन्ने सोचेर लासलाई त्यतिकै छोडी फेरि घरतिर फर्किएँ ।

त्यसपछि ?
त्यसपछि, तपाहरुसङ्ग भेट भयो ।

त्यतिन्जेलसम्म इलाकाको केही पुलिसहरु लिएर लेखकको परिवार र आफन्तहरु आइपुगिसकेका थिए ।
त्यसपछि हामी सबै लास हेर्न जङ्गलतर्फ लाग्यौँ । शिशिर ऋतुको समय जङ्गल सुनसान थियो । नाङ्गा रुखहरुबाट जिन्दगीका अन्तिम पातहरु पहेँलिएर हावामा तैरिँदै खसिरहेका थिए । भुँइमा खसेका सुकेका पातहरु टेक्दै हामी चिहानघारी पुग्यौ । एउटा पहेँलो चिहानको छेउमा लेखकको लास लडिरहेको थियो । उसको ओँठ सुकेर चिसो र निलो भएको थियो । आँखाहरु बन्द भएका थिए, जसको वरपर पहेँलो पुतलीहरु उडिरहेका थिए । उसको लामो कपाल जमिनभरी पसारिएको थियो । उसको मृत शरीर ढुङ्गाझैँ शान्त थियो ।

पुलिसहरुले लासलाई राम्रोसंग नियाले । असइ साबले केही जवानहरुलाई थप इन्भेस्टिगेसनको निम्ति लेखकको कोठामा जाँच गर्न पठायो । एकछिनपछि तिनिहरु फर्के र केही संकास्पद घटना फेला नपरेको जानकारी दिए । लेखकको मृत्यु भएको ६ घन्टा बिति नसकेकोले लासलाई पोस्टमार्टमको निम्ति जिल्ला हस्पिटल पठाइयो ।

दुई तीन घण्टापछि पोस्टमार्टम रिपोर्ट आयो । रिपोर्ट अनुसार लेखक आफै मरेको भन्ने प्रमाणित भयो ।

तर आफै कसरी मर्न सक्छ मान्छे ? (तिन छक्क हुँदै डाक्टरलाई सोँध्यौ ।)
मर्न सक्छ नि । तर यस्तो केस बिरलै हुन्छ । जस्तो कि अति संवेदनशिल र भावनात्नक मानिसको केसमा यो देखा पर्न सक्छ । डाक्टरले भन्यो ।

त्यसपछि उसले हामीलाई भित्र लगेर लासको अङ्गहरुको एकएक फोटोहरु र पोस्टमार्टम भिडियो देखायो । विचरा ती हाम्रो प्रिय लेखकको मृत्यु कति दर्दनाक तरिकाले भएको रहेछ ।

फोटो अनुसार उसको आँखाको आँसुहरु सुकिसकेका रहेछ । ओँठका मुस्कानहरु हराइसकेको रहेछ । हृदयमा मायाँ रसाउन छाडिसकेको रहेछ । अर्को एउटा लेखकको मनको अब्स्ट्राक्ट फोटो थियो । त्यसलाई उज्यालोमा नियाँलेर हेर्यौँ । उसको मन पीडा र दुखहरुको थुप्रोले थिलथिलो भएको थियो । बेदना र ब्यथाहरुको पहाडले थिचिएको थियो ।

सम्बन्धित खवर