मदन पुरस्कार २०७७ द्वारा ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’ पुरस्कृत - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मदन पुरस्कार २०७७ द्वारा ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’ पुरस्कृत

इलाम । ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७११–२०२०‘ ले २०७७ सालको प्रतिष्ठित मदन पुरस्कार प्राप्त गर्ने भएको छ ।

मदन पुरस्कार गुठीको बिहीबार बसेको साधारणसभाले लेखक एवम् अन्वेषक भगीराज इङ्नामद्वारा लिखित उक्त दस्तावेजलाई पुरस्कृत गर्ने घोषणा गरेको हो । त्यस्तै, नृत्यशास्त्री भैरवबहादुर थापालाई जगदम्बा श्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

लेखक इङ्नामलाई मदन पुरस्कार दिने निर्णय गरेको जारी विज्ञप्तिमा भनिएको छ । ‘नेपाली इतिहासका प्राथमिक सामग्रीहरूको सङ्कलन र पहुँचलाई विस्तार गरेकाले यस पुस्तकका लागि इङ्नामलाई यो पुरस्कार अर्पण गरिन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

यस वर्षका लागि मदन पुरस्कारका लागि गुठीमा कुल २२२ पुस्तकहरू परेको अध्यक्ष कुन्द दीक्षितले जनाए । जसमध्ये अन्तिम सूचीको नौ वटा पुस्तकहरूमा एकलव्यको देब्रे हात(गिरि श्रीस मगर), करिया(कृष्ण अविरल), कल्प ग्रन्थ(कुमार नगरकोटी), नृत्याक्षर विज्ञान(भैरवबहादुर थापा), फिलिङ्गो(प्रभा बराल), फुलाङ्गे(लेखनाथ क्षेत्री), मोक्षभूमि(केशव दाहाल), रमिते(जेसन कुवँर) र इङ्नामको पुस्तक परेको थियो ।

पूर्व प्रजिअ समेत रहेका धनकुटाका इङ्नाम पछिल्लो समय पूर्वको लिम्बुवानको इतिहास, याक्थुङ लिम्बु समुदायको सँस्कृति र शासनकालबारे गम्भीर अध्ययन गरिरहेका व्यक्ति पनि हुन् ।

यसैगरी, सात दशकदेखि नेपाली नृत्य विधाको अध्ययन, अनुसन्धान र मञ्चन गर्दै सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान मार्फत् नृत्य क्षेत्रको उन्नयनमा समर्पित रहेका नृत्यशास्त्री भैरव बहादुर थापालाई यस वर्षको जगदम्बा श्री सम्मान प्रदान गर्ने निर्णय गरेको छ । दुवै पुरस्कारको राशी चार लाख रुपैयाँ र सम्मान पत्र रहेको छ ।

गुठीको स्थापना वि.सं. २०१२ मा भएको हो । पहिलो पटक २०१३ मा संस्कृतिविद् सत्यमोहन जोशी, चितरञ्जन नेपाली र बलराम जोशीलाई मदन पुरस्कार प्रदान गरेको थियो । त्यस्तै, २०४५ मा पहिलोपटक रानी जगदम्बाको निधनपछि स्थापना गरिएको जगदम्बा श्री गायक नारायण गोपाललाई प्रदान गरिएको थियो ।

नेपाल तथा नेपाल बाहिरबाट प्राप्त नेपाली भाषामा प्रकाशित पुस्तकहरूमध्ये एक पुस्तकलाई मदन पुरस्कार तथा नेपाली भाषा, वाङ्मय तथा संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति वा संस्थालाई जगदम्बा श्री प्रदान गर्ने गरिएको गुठीले जनाएको छ ।

सम्बन्धित खवर