विश्व शान्ति र मानव एकताको पहलमा किरात धर्मगुरु - Mangsebung News
  • सोमबार, माघ ०३, २०७८
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्व शान्ति र मानव एकताको पहलमा किरात धर्मगुरु

  • आङबुहाङ अवोध अविरल

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको हरेक प्रवचनमा नछुट्ने विषय हो—विश्व शान्ति र मानव एकता । जहाँ पुगेपनि वहाँले शान्तिको निम्ति आग्रह गर्नुहुन्छ, माङसँग प्रार्थना गर्नुहुन्छ । सरकार प्रमुखहरुसँग भेटमा शान्तिका निम्ति आग्रह गर्दै आउनु भएको छ ।

किरात धर्मगुरुको निर्देशनमा किरात हाङसाम मुजोत्लुङ माङिहममा विश्व शान्ति र मानव एकताको कामना गर्दै वि.सं. २०५० यता अखण्ड महावत्ति बालिंदै आएको छ । प्रत्येक दिन ‘तान्छो—युन्छो सेवा’ मा विश्व शान्ति, मानव एकता र चराचर सृष्टिको हित होस् भनि माङसेवा हुँदै आएको छ । किरात धर्म अन्तर्राष्ट्रिय महासम्मेलन २०५८ र २०६८ मा मूल नारा नै ‘विश्व शान्ति र मानव एकता’ राखिएको थियो ।

विश्व शान्ति र मानव एकताको विषयलाई किरात धर्मगुरुले विशेष महत्वका साथ उठाउदै आउनु भएको पाइन्छ । किरात धर्मगुरुको एक महत्वपूर्ण जीवन दर्शनको रुपमा शान्ति रहेको छ । ‘मानिस धर्तीमा मेला भर्न, सौदा गर्न आएको दुई दिनको पाहुना’ भएको वहाँको मत छ, ‘धर्तीमा हामी मिलेर बस्नुपर्छ ।’ सबै मिलेर बसेमा शान्ति स्थापना हुने किरात धर्मगुरुको मत पाइन्छ ।

धर्तिलाई मानिसले आफ्नो एकल स्वामित्वमा राख्ने कुचेष्ठा गर्दै आएको छ । प्राकृतिक स्रोत साधनमाथिको कब्जा र स्रोत साधनको विवेकहीन दोहनका कारण कोरोना जस्ता विश्वव्याधिको चपेटामा परेको छ । कोरोनाले मानिसमा असिम डर, त्रास, पीडा, वियोग र अभाव सिर्जना गरेको छ । कोरोना महामारीले मानव इतिहासमै अभूतपूर्व त्रास र पीडा दिएको छ । यसले मानिसमा अशान्ति फैलिएको छ । पृथ्वीको तापमान बढ्दै गइरहेको सन्दर्भमा यस्ता अनेकौ महामारीहरु विश्वमा आउने निश्चित छ । यसबाट बाँच्न प्रकृतिसँगको विवेकपूर्ण अन्तरक्रिया आवश्यक छ ।

युद्ध र त्रास विनाको अवस्था शान्ति हो । युद्ध द्वन्द्वको विकृत रुप हो । समाजमा द्वन्द्व प्राकृतिक चिज हो । परिवार र व्यक्तिमा समेत द्वन्द्व अनेक रुपमा रहेको हुन्छ । तर, द्वन्द्वलाई सही तवरले व्यवस्थापना गर्न सकिएन भने युद्ध हुने हो । युद्धले रक्तपात, मार काट, विध्वंश, वियोग र आँशु निम्त्याउँछ ।

एक्काइसौं शताब्दी प्रारम्भमा दोस्रो विश्वयुद्ध समाप्त भएको थियो । करिब ६ करोड मानिसले प्रत्यक्ष ज्यान गुमाएको सो युद्ध मानव इतिहासमै सबैभन्दा भयानक युद्ध थियो । यसको प्रभाव अहिलेसम्म विश्वले भोग्दै आएको छ । त्यसपछि इराक इरान युद्ध, भारत पाकिस्तान युद्ध र अमेरिकाले विभिन्न देशमा युद्ध गरिरहेको छ ।

हरेक द्वन्द्वको शान्तिपूर्ण निकास खोज्नु पर्दछ भन्ने उद्देश्यले युद्धबाट हैरान भएका मुलुकहरुले वि.सं. २००२ कात्तिक ८ मा संयुक्त राष्ट्रसंघको स्थापना गरे । त्यसपछि संयुक्त राष्ट्रसंघले शान्तिका निम्ति निरन्तर प्रयास गरिरहेको छ । त्यस अघि युद्धलाई द्वन्द्व व्यवस्थापनको साधनको रुपमा लिने गरिन्थ्यो । द्वन्द्वलाई ‘टेबल टक’ को माध्यमबाट टुङ्ग्याउनु पर्छ भन्ने मान्यता संयुक्त राष्ट्रसंघको स्थापनापछि विकास भयो ।

द्वन्द्वका अनेका कारण छन् । राजनीतिक शास्त्रीहरु प्राकृतिक स्रोत साधन र अधिकारको असमान वितरण, विभेद, शोषण र दमनलाई द्वन्द्वको कारण मान्छन् । अध्यात्मिकवादीहरु भावनात्मक अशुद्धि र विकारका कारण द्वन्द्व हुने मत राख्छन् । काम, क्रोध, पाप, मोह, अहंकार र घमण्ड जस्ता मानवका आन्तरिक विकारका कारण द्वन्द्व हुने उनीहरुको मत छ ।

किरात धर्मगुरुको ‘विश्व शान्ति’ को पहल—कदमीलाई भौतिक र अध्यात्मिक दुवै पक्षबाट बुझ्नु र व्याख्या गर्नु सान्दर्भिक देखिन्छ । विश्वमा प्राकृतिक स्रोतहरुको उपभोगको अनुचुतित लालचका कारण मुलुकहरुबीच द्वन्द्व भइरहेको छ । अर्कोतर्फ कुनै एक वर्ग, जात र समुदायले राज्य शक्ति कब्जा गरेका छन् । यसले समाज र मुलुकमा अनेक रुपमा द्वन्द्वहरु सिर्जना भइरहेका छन् । राजनीतिक शक्ति निर्माण गर्ने र विश्व महाशक्ति बन्ने मुलुकहरुको चाहनाले विश्वमा तेस्रो विश्वयुद्ध हुने सम्भावना देखिन्छ ।

अमेरिका र रुस जस्ता मुलुक महाशक्ति मुलुकहरु महाशक्ति राष्ट्रका रुपमा टिकिरहन चाहन्छन् । चीन, भारत र ब्राजिल जस्ता शक्ति मुलुकहरु महाशक्ति मुलुक बन्ने दौडमा छन् । अमेरिका, बेलायतलगायतका मुलुकहरु प्रजातन्त्रिक विचार संसारभर फैलाउन र टिकाइ राख्न चाहन्छन् । चीन र उसका समर्थक मुलुकहरु कम्युनिष्ट विचार संसारभर फैलाउन चाहन्छन् । प्रविधि र आणविक हात—हतियारको विकासले विश्व युद्ध भए मानव अस्तित्व नै संकट पर्ने अनुमान लगाउन थालिएको छ । यसले विश्वमा द्वन्द्वका अनेक मैदान निर्माण गरिरहेको छ । यसबेला किरात धर्मगुरुको विश्व शान्तिको आग्रह थप सान्दर्भिक हुँदै गएको छ ।

शान्तिका निम्ति सबै नागरिकलाई प्राकृतिक स्रोत—साधन र अधिकारको समान वितरण, जातीय—लिङ्गीय विभेद र शोषणको अन्त्य गर्न सकेमा दिगो शान्ति सम्भव छ । द्वन्द्व मानिसको विकार मानसिकताबाट निस्कन्छ । मानिसको मानसिक विकारको शुद्धिकरणबाट शान्ति सम्भव छ । मानसिक शुद्धिकरणका निम्ति अध्यात्मिकता एक अचुक साधन हुन सक्छ । सबै मानिसले अनुचित लोभ, पाप, मोह र अहंकार त्यागेमा द्वन्द्वहरु विग्रिएर जाँदैनन् । मानिसमा प्रेम, दया र क्षमा जस्ता गुणहरुको विकासले शान्ति स्थापनामा सहयोग पु¥याउँछ ।

किरात धर्मगुरुले भन्नुभएको विश्व शान्ति र मानव एकताका निम्ति भौतिक र अध्यात्मिक दुवै दृष्टिकोणबाट अघि लैजानु पर्ने आजको आवश्यकता छ । संयुक्त राष्ट्र संघले अरबौं लगानी गरेर शान्तिका निम्ति अनेक मिशनहरु तयार गरिरहेको छ । तर, त्यस्ता पहलहरु खासै प्रभावकारी हुन सकिरहेको छैन् । शक्ति र महाशक्ति मुलुकहरु देखावटी रुपमा शान्तिवादी देखिन्छन् । तर, उनीहरु भित्र—भित्रै हात हतियार निर्माण गरिरहेका छन् । मुखले शान्ति भन्ने तर हतियार पनि अर्जाप्ने प्रवृत्तिलाई चिसो शान्तिवादी भनिन्छ । चिसो शान्तिवादले युद्धको सम्भावनालाई कायम राख्दछ ।

अन्त्यमा, यो धर्ती मानिसहरुको मात्र हैन् । यहाँ बस्ने ८—९ करोड प्राणी र वनस्पतिको पनि हो भन्ने मानिसले भुल्नु हुँदैन । यसमा विवेक पु¥याउन सकेमा महामारीहरुको त्रासबाट मुक्ति पाउन सकिन्छ । अर्कोतर्फ सबै मानव प्रकृति/माङको सन्तान हौं भन्ने भावनाको विकास गरेर भातृत्वको विकास गर्न सके शान्ति प्रवद्र्धनमा सहयोग पुग्दछ । मानिसमा रहेका आन्तरिक विकारहरुको शुद्धिकरण गर्न सके द्वन्द्वका धेरै विजहरु टुसाउन पाउँदैन । आत्मिक शुद्धिकरणबाट किरात धर्मगुरुको विश्व शान्ति र मानव एकाताको पहल—कदमी फलदायी हुने देखिन्छ ।

(लेखक मङसेबुङ मासिकका स्तम्भकार हुन् /प्रस्तुत लेख माङसेबुङ मासिकको मंसिर अंकमा प्रकाशित लेख हो)

 

सम्बन्धित खवर