बदलाको भावना राखेमा प्रदेश नामकरण गर्न कठिन हुनेछ – मन्त्री आङ्बो - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बदलाको भावना राखेमा प्रदेश नामकरण गर्न कठिन हुनेछ – मन्त्री आङ्बो

किरात धर्मगुरु र  गुरुआमा

माङसेबुङ । वर्तमान सरकारले पहिचानको आधारमा प्रदेश नामकरण गर्न तयार रहेको १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बताए ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६८ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा समारोहको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । प्रदेश नामकरणको विषयमा आफु सधै किरात प्रदेशको पक्षमा रहेको समेत बताएका छन् ।

उद्घाटन समारोहको प्रमुख अतिथि समेत रहेको आङ्बोले भने–‘यदि एक समूहले सरकार देखि सडकसम्म पुगेको बदलाको भावना नलिएमा प्रदेशको नामकरण गर्न सहज हुनेछ । तर बदलाको भावना राखेमा प्रदेश नामकरण गर्न कठिन रहेको हुनेछ ।’ उनले नेकपा एमालेलाई इङ्कित गर्दै भने– ‘उहाँहरुलाई ज्ञान प्राप्त होस, हामि जनताको जनवाद भन्दा बाहिर जानु हुदैन र जनताको चाहाना भन्दा बाहिर पनि जानु हुदैन भन्ने सद्वुद्धि आजको दिनबाट प्राप्त भए गठबन्धन सरकार पहिचानको आधारमा प्रदेशको नामकरण गर्न तयार रहेको बताए ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो सम्बोधन गर्दै

किरात चोत्लुङ मुहिङगुम आङसी माङगेन्ना सेवा समितिका अध्यक्ष केहरसिंह योङहाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य धिरेन्द्र शर्मा ‘रमण’ लगायत विभिन्न राजनैतिक दलका नेताहरु, स्थानीय तहका प्रमुखहरु, धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, साधुसन्त लगायत किरात धर्मावलम्बीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी जनाउन नेपालसहित विभिन्न आधा दर्जन देशहरुबाट समेत किरात धर्मावलम्बीहरुको उपस्थिती रहेको आयोजक समितिले जानकारी दिए ।

 

कार्यक्रम समितिका महासचिव काकीराम लावतीले सञ्चालन गरेको थियो भने समितिका सहअध्यक्ष डेकिन्द्रसिं थेगिमले स्वागत मन्तव्य राखेका थिए ।

त्यस्तै भोलि १९ गते किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ’बाट आर्शीवचन, मिक्तोक (उपहार) अर्पण, संस्थागत धन्यवादपत्र वितरण, पुस्तकरपुस्तिका विमोचन, सहित्यिक तथा साँस्कृतिक कार्यक्रम रहेको आयोजक समितिका महासचिव काकीराम लावती (आन्छुमे नसान)ले बताए । यसैगरी २० गते माङगेन्ना चामल वितरणसँगै विदाई गरिने महासचिव लावतीले बताए ।

हरेक वर्ष मुलुकको उच्च ओहोदाका व्यक्तिहरुको उपस्थिती हुने जन्मोत्सवमा यस वर्ष भने प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ आएका हुन् ।

माङसेबुङ गाउँपालिका २ इभाङको चुक्चिनाम्बा अगौटेबारीमा २०११ मंसिर १८ गते जन्मिएका आत्मानन्द लिङदेनले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको अधुरो कार्यलाई पूर्णता दिने भन्दै धार्मिक, साँस्कृतिक तथा सामाजिक रुपान्तरणमा अभियान चलाइरहेका छन् । उनलाई सत्य, शान्ति र अहिंसाका उपासकका रुपमा किरात धर्मावलम्बीहरुले मान्ने गरेका छन् ।

सम्बन्धित खवर