नेपाली चियाको दीगो निर्यात अभिवृद्धि परियोजना बिषायक सञ्चारकर्मी र सरोकारवालाबीच अन्तरक्रिया - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाली चियाको दीगो निर्यात अभिवृद्धि परियोजना बिषायक सञ्चारकर्मी र सरोकारवालाबीच अन्तरक्रिया

इलाम । नेपाली चियाको दीगो निर्यात अभिवृद्धि परियोजना बिषायक सञ्चारकर्मी र सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार इलाम सदरमुकाममा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सहयोगमा नेपाल पत्रकार महासंघ इलामद्वारा आयोजित सञ्चारकर्मी र सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. बिष्णु भट्टराईले चियाको गुणस्तर वृद्धिका लागि किसान समक्ष जनचेतना जगाउन नेपालका मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

उनले बोर्ड सबै किसानका घरघरमा पुग्न नसकेपनि मिडिया घरघरमा पुगेर किसानका कुरा उठाएको र जनचेतनामा सघाउ पुर्याएको बताए । भट्टराईले विश्वमै नेपाली चियाको गुणस्तर १ नम्बर रहेको भन्दै उनले कुनैपनि कारण देखाएर कसैले चियाको निर्यात रोक्न नसक्ने बताए ।

चिया क्षेत्रको समग्र विकासका लागि सरोकारवालाबीच एकता जरुरी रहेको बताउँदै भटटराईले चिया उत्पादनदेखि निर्यातसम्म इमान्दारिता हुनुपर्ने तथा किसानसँग समन्वय गरी बजारीकरण गर्नुपर्नेमा जोड दिए ।

अन्तरक्रियामा जिल्लाका ५४ संचारकर्मी र सरोकारवालाहरुको सहभागिता थियो । कार्यक्रममा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. बिष्णु भट्टराई, बोर्ड फिक्कलका प्रमुख इन्द्र अधिकारी, राष्ट्रिय चिया सहकारी संघका अध्यक्ष रविन राईले सहजीकरण गरेका थिए ।

नेपाल पत्रकार महांघका अध्यक्ष विप्लव भट्टराईको अध्यक्षता र राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशशक भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको स्वागत महासंघका उपाध्यक्ष ख्याम भुजेल र संचालन सचिव भीम चापागाईले गरेका थिए ।

अर्गानिक चियाको गुणस्तर बढाउन र व्यापार प्रवद्र्धनका लागि इलाममा परियोजना सुरु भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड इलामले परियोजना सुरु गरेको हो । चिया रोप्नेदेखि, छाँटकाँट, मलजल, टिपाई, ढुवानी, प्रशोधन, प्याकेजिङलगायत सबै क्षेत्रमा किसान र उद्योगीलाई प्रयोगात्मक अभिमुखीकरण परियोजनाले गर्नेछ ।

करिब १७ करोड रुपैयाँ खर्च हुने यो परियोजना ३ वर्षसम्म संचालन हुनेछ । परियोजनाअन्तर्गत जिल्लामा किसानका ११ समूह गठन भएका छन् । जिल्लामा छरिएका यी सबै समूह–समूहमै पुगेर प्राविधिकले चियाको कटिङसहित मौसमअनुसारका काम सिकाउने छन् ।

परियोजना वर्षभर चल्ने भएकाले सिजनअनुसार चियालाई गर्नुपर्ने हेरचाहबारे सिजन–सिजनमै प्रशिक्षण गरिने बोर्डका कार्यकारी निर्देशक भट्टराईले बताए । ‘यो पूर्ण प्रयोगात्मक हिसाबको परियोजना भएकाले किसानलाई फिल्डमै प्रशिक्षण गराइने छ’ उनले भने, ‘व्यावहारिक ज्ञान र सीप एकैपटक सिकाइने छ ।’

परियोजनाको संचार प्रवद्र्धन नेपाल पत्रकार महासंघ इलाम शाखाले गर्नेछ । त्यसका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र नेपाल पत्रकार महासंघबीच सम्झौता भएको छ ।

परियोजनाको संचार प्रवद्र्धन अन्तरगत इलामको २० जना पत्रकारलाई लेखनवृत्ति प्रदान गरिनेछ । नेपाली चियाको दीगो निर्यात अभिवृद्धि परियोजनासँग सम्बन्धित गतिविधिहरुलाई स्थानीय तथा राष्ट्रिय संचारमाध्यममा प्रकाशन र प्रशारणका लागि पत्रकारलाई ५–५ हजार रुपैयाँको लेखनवृति प्रदान गरिने अध्यक्ष भट्टराईले जानकारी दिए । ‘जिल्लाबाट स्थानीय र राष्ट्रिय रेडियो, टेलिभिजन, छापा पत्रिका र अनलाइन पत्रिकामा कार्यरत २० जना पत्रकार छनौट गरी परियोजनाको गतिविधि प्रचारप्रसारका लागि लेखनवृति प्रदान गरिनेछ’ अध्यक्ष भट्टराईले भने, ‘पत्रकारको छनौट महासंघले नै आवश्यक मापदण्ड तयार गरी गर्नेछ ।’ छनौट भएका पत्रकारहरुले परियोजनासँग सम्बन्धित एक–एक वटा अनुसन्धानमूलक समाचार एवम् सफलताको कथा आफ्नो संचारमाध्यमा प्रकाशनरप्रशारण गर्नुपर्नेछ ।

त्यसैगरी परियोजनाद्वारा अन्तरगत संचालित गतिविधिहरुलाई स्थानीय संचारमाध्यममा (रेडियो, छापा पत्रिका, अनलाइन पत्रिका) मार्फत प्रचारप्रसार गर्न मिडिया सपोर्ट गरिने महासंघले जनाएको छ ।

परियोजना अन्तरगत यसअघि जिल्लाका किसानलाई पहिलो चरणको प्रशिक्षण सञ्चालन गरिसकिएको छ । हरेक ३० किसानका लागि कम्तीमा दुई प्राविधिकको अवधारणाअनुसार काम हुनेछ । पहिलो चरणमा २ हजार ७ सय ९० किसानले चियाको प्राविधिक सीप सिक्नेछन् ।

 

सम्बन्धित खवर