राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजानिक, नेपालको जनसंख्या २ करोड ९१ लाख - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजानिक, नेपालको जनसंख्या २ करोड ९१ लाख

काठमाडौं । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरिएको छ । केन्द्रीय तथ्यांक विभागले नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको जनाएको छ ।

विभागले बुधबार राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजानिक गर्दै २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको हो ।

यसैगरि केन्द्रीय तथ्यांक विभागले नेपालको जनसंख्या घटेको जनाएको छ । बुधबार वि.स. २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै विभागले नेपालको जनसंख्या वृद्धिदर घटेको जनाएको हो ।

अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो । विभागका अनुसार यसपटक ०.९३ प्रतिशत वृद्धिदर छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो ।

नेपालको जनघनत्व १ सय ९८ जना प्रतिवर्गकिलोमिटर छ । यस्तै विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४ सय ७८ रहेको विभागले जनाएको छ ।

विभागका अनुसार बुधबार गणकले भरेका मुख्य प्रश्नावलीमा उल्लिखित विवरणका आधारमा प्रारम्भिक नतिजा सार्वजनिक गरिएको हो ।

आगामी ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक गर्ने विभागको योजना रहे पनि कोरोनाका कारण थप समय लाग्ने अनुमान गरिएको विभागले जनाएको छ ।

जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत भदौ ३० देखि असोज १८ गते सम्म गरिएको थियो भने कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम गरिएको थियो ।

सम्बन्धित खवर