अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६६ औं जन्मोत्सवको तयारी पुरा - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६६ औं जन्मोत्सवको तयारी पुरा

माङसेबुङ । मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६६ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोह समुद्घाटन कार्यक्रमको तयारी पूरा भएको छ ।

धार्मिक पर्यटकीयस्थल इलामको माङसेबुङमा विगतका वर्ष झै आयोजना गरिएको नुमाङगेन्ना सेवा समारोहको तयारी पूरा भएको मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६६ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोहका अध्यक्ष केहेरसिं योङहाङले बताएका छन् ।

नुमाङगेन्ना सेवा समारोहको अवसरमा विगतका वर्ष झै आइतबार साक्मुरा वादेम्मा गरिएको र सोमबार किरात हाङसाम मुजोत्लुङ माङहिममा येत नाम्धुङ लाधुङ सेमी सेवा सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

यसरी समारोहमा सांस्कृतिक विभाग किरात साम्यो साक्थिम्गेन पान्जुम्भोका केन्द्रीय कलाकारहरुबाट स्वागत नृत्य, किरात साम्यो माङसिवाखाहुन पान्जुम्भोबाट युमा लाङ, थेबा लाङ सँगै माङसिवाखाहुन, पालाम र केलाङहरु प्रस्तुत गरिने जनाइएको छ ।

मंगलबार समुद्घाटन हुने समारोहमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुलाई नेपाली कांग्रेस जिल्ला कार्य समितिको तर्फबाट अभिनन्दन पत्र समेत चढाउने कार्यक्रम रहेको समारोहका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए । समुद्घाटन समारोह पश्चात सावायेहाङ नुमाङगेन्ना कार्यक्रम हुने छ । भने, साँझ सांस्कृतिक कार्यक्रम सञ्चालन हुने सांस्कृतिक विभागले जनाएको छ ।

समारोह अध्यक्ष केहेरसिं योङहाङका अनुसार बुधबार मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको मुखारविन्दुबाट विशेष अमृतमय माङ आशीर्वचन प्रदान हुने कार्यक्रम छ । त्यसैगरी वहाँहरुको हस्तबाहुलीमा माङ मिक्तोक (उपहार) तथा अभिनन्दन चढाइने, समारोह सम्पन्न गर्न सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद पत्रद्धारा सम्मान गरिने र माङगेन्ना चामल वितरण हुने कार्यक्रम रहेको छ ।

विगतका वर्षझै मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६६ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित फूटबल प्रतियोगिताको फाइनल खेल पनि मंगलबार (फागुन ३ गते) हुने आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले बताए । समारोहको समापन कार्यक्रम बुधबार हुने मूल समारोह समितिले जनाएको छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको जन्म इलामको माङसेबुङ गाउँपालिका वडा नं. ३ (साविक बाँझो ७ उत्तरे) मा साँबा दम्पति तत्कालीन सुब्बा बिर्खध्वोज र कौशिला साम्सुहाङको कोखबाट वि.स. २०१३ साल फागुन ३ गते भएको थियो । वि. स. २०३२ साल माघ २२ गते बिहिबारको दिन साबिक इलामको इभाङ ५ हाल माङसेबुङ गाउँपालिका–२, चुक्चिनाम्बा गैरीगाउँ माङहिममा मुहिङगुम अङसीमामाङले पुण्यप्रसाद लिङ्देन र चन्द्रमाया चेम्जोङ (श्यामजिरी) को कोखबाट जन्मनु भएका मुहिङगुम अङसीमाङ लिङदेन फाल्गुनन्दका पुनः अवतार मुहिङगुम अङसीमाङ अर्थात तत्कालीन बालागुरु आत्मानन्द लिङ्देन सेईङसंग देव विवाह गर्नु भयो ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङको जीवन सारथीको रुपमा विराजमान रहनु भएको छ । किरात धर्म, भाषा, लिपि, संस्कार, संस्कृतिको प्रचार–प्रसार गर्दै, कुरीति र कुसंस्कारमा रहेका समुदायलाई सभ्य, शिक्षित र चेतनशील बनाउने अभियानमा अङसीमाङको सदैव जीवन सारथीको रुपमा अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन उभिनु भएको छ ।

 

सम्बन्धित खवर