तेह्रथुम । कोभिड अस्पतालका लागि मानव अधिकार मञ्च नेपाल इलामले तेह्रथुमको आठराई गाउँपालिकालाई स्वास्थ्य एवम् बालमैत्री सामग्री सहयोग गरेको छ ।
बिहीबार बालबालिकाको आपतकालीन उद्धार, राहत र संरक्षण तथा परामर्शका लागि संचालित बाल हेल्पलाइन १०९८ अन्तरगत ७३ हजार ८ सय ८० रुपैयाँ बराबरको औषधि, स्वास्थ्य, शिक्षा, खेलकुद तथा मनोरञ्जनका सामग्री प्रदान गरेको हो ।
बालबालिका विपद् सहयोग कार्यक्रम अन्तर्गत मञ्चले आठराई गाउँपालिका पुगेर बालबालिका तथा उनीहरुको परिवारका लागि कोभिड अस्पतालमा आवश्यक पर्ने सामग्री उपलब्ध गराएको हो ।
सेनिटाइजर, माक्स, ग्लोब्स, फिनेल, थर्मोमिटर, इलेक्ट्रिक जग, कपसेट, डस्टबिन, अक्सिमिटर, औषधिलगायतको स्वास्थ्य सामग्री, डल, बल, ब्लक्स, कलर पेनसिल, ड्रइङ पेपर, पोटोकपि पेपर, कलपेन, लुँडो, चेस, क्यारमबोर्ड, एबीसीडी चार्ट, स्टोरी बुकलगायतको शैक्षिक, खेलकुद एवम् मनोरञ्जनको सामग्री उपलब्ध गराइएको हो ।
रूपादेवी कन्दङवाको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बे, रोजगार संयोजक कृष्ण चम्लागाई अन्य शाखाका कर्मचारी लगायतको उपस्थितिमा मंचका बाल हेल्पलाईन प्रमुख भक्त थामी, डेस्क अफिसर रन्जु थामी, लेखा अधिकृत सोनिशा शंकर, रञ्जना सुब्बा, अनिता लिम्बूको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो ।
ओमिक्रोन कोरोना भाईरस (कोभिड १९) को तेस्रो लहरलाई लक्षित गरी बाल हेल्पलाइनले इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विभिन्न स्थानीय तहमा स्वास्थ्य एवम् बालमैत्री सामग्री सहयोग गर्दै आएको छ ।
यसअघि इलाम अस्पताल, चुलाचुली गाउँपालिका, सूर्योदय नगरपालिका, माईजोगमाई गाउँपालिका, रोङ गाउँपालिका र माई नगरपालिका एवम् पाँचथरको कुम्मायक गाउँपालिका र मिक्लाजुङ गाउँपालिकालाई सामग्री उपलब्ध गराइसकेको छ । यस्तै इलामको देउमाई नगरपालिका र पाँथचरको जिल्ला अस्पताल, ताप्लेजुङको जिल्ला अस्पताल, सिरिजंगा गाउँपालिका र मैयाखोला गाउँपालिकाको स्वास्थ्य संस्थामा सामग्री उपलब्ध गराउनेछ ।
कोभिड अस्पतालमा संचालित ४ जिल्लाका १५ स्वास्थ्य संस्थामा ११ लाख २२ हजार रुपैयाँ बराबरको स्वास्थ्य, शैक्षिक, खेलकुद एवम् मनोरञ्जनको सामग्री उपलब्ध गराईने बाल हेल्पलान प्रमुख थामीले बताए ।
ओमिक्रोन भाईरसले बालबालिकालाई बढी प्रभाव पर्ने भनिएकोले कोभिड लागेका बालबालिका र उनका परिवारलाई सहुलियत हुने गरी उनीहरुलाई आईसोलेसनमा आवश्यक सामाग्री उपलब्ध गराईएको थामीको भनाई छ ।
किन्नरमिसनरेक जर्मनीको सहयोगमा मानव अधिकार मञ्च नेपाल इलामको आयोजनामा इलाममा बाल हेल्पलाइन १०९८ संचालित छ ।