पान्थर । फालेलुङ गाँउपालिका ४ चाररातेमा ‘पाँचौ फालेलुङ चौँरी पर्यटन महोत्सव २०७९’ को तयारी सुरु गरिएको छ ।
उच्च पहाडी क्षेत्रमा पर्यटन प्रबद्र्धन गर्ने र चौँरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण गर्ने उद्धेस्यले महोत्सवको तयारी गरिएको हो ।
नयाँ बर्षको अवसरमा आयोजित पाँचौ चौँरी महोत्सव पाँच दिनसम्म सञ्चालन हुने मूल आयोजनक समितिका सचिव सुनिल बान्तवाले बताए । उनले महोत्सवको उद्घाटन बैशाख १ गते गर्ने तयारी रहेको फिदिममा आयोजित पत्रकार सम्मेलनमा बताए ।
फालेलुङ कञ्चनजंघा पर्या पर्यटन प्रबद्र्धन संस्था, श्री दीप ज्योति युवा क्लब र कञ्चनजंघा चौरीपालन तथा संरक्षण संस्थाले संयुक्त रुपमा महोत्वसवको तयारी गरेका हुन् । तीन हजार पाँच सय ६० मिटरको उचाईमा रहेको नेपाल, भारतको वेष्ट बंगाल र सिक्किमको सिमानामा रहेको चाररातेमा महोत्सवको तयारी गरिएको हो । महोत्सवमा करिब पाँच सय चौरीहरु एकैसाथ प्रदर्शन गर्ने तयारी गरिएको हो ।
पाँचथर सहित पूर्वी नेपालका ताप्लेजुङ, इलाम, झापा, काठमाण्डौदेखि भारतको सिक्किम र दार्जिलिङका वासिन्दा, पर्यटन व्यवसायी र सर्वसाधारणले महोत्सवको अवलोकन गर्ने अनुमान गरिएको छ ।
महोत्वसको अवसरमा उत्कृष्ट चौरीपालक किसानलाई सम्मान गरिने भएको छ । सोही अवसरमा प्रथम याक गोल्डकप सञ्चालन गर्ने तयारी रहेको समेत जनाएको छ ।