संसारमा छरिएर बसेका किरातहरुको एकता हुनुपर्छ : अङसीमाङ आत्मानन्द सेइङ - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संसारमा छरिएर बसेका किरातहरुको एकता हुनुपर्छ : अङसीमाङ आत्मानन्द सेइङ

माङसेबुङ । संसारको जुनसुकै ठाउँमा छरिएर बसेको भएपनि एकता हुनुपर्ने किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भएको छ ।

सत्तमार्गमा लागेर थिबोङहाङ याक्थुङहाङसाहरु एकता हुनुपर्ने समय आएको अङसीमाङले बताउनु भयो । वहाँले भन्नु भयो, ‘एकता हुन नसक्दा हाम्रो सबै पहिचान गुमायौं, राज्य गुमाएर केवल लिम्बू मात्र भएका छौं ।’

किरात याक्थुङ सेर्मा सङजुम्भोको चौथौ केन्द्रीय महाधिवेशन, सेर्मा वंशावली विमोचन, सेर्मा तुम्याङ प्रतिमा अनावरण तथा किरात माङहिम उद्घाटन समारोहमा आयोजित आशीर्वचन कार्यक्रममा अङसीमाङले सो कुरा बताउनु भएको हो ।

माङप्रति विश्वास गरेर सेवाभक्ति गर्न सबैलाई आग्रह गर्नुहुँदै, वहाँले भन्नु भयो, ‘हाम्रो पाप कर्महरु भएपनि माङले माफ दिओस् ।’ अङसीमाङले थप्नु भयो, ‘धर्म र राजनीति कर्ममा चोत्लुङमा पुग्ने माङवा हाङवा प्राप्त होस् ।’

पान्थरको कुम्मायक गाउँपालिकाको माङजाबुङमा किरात धर्म दर्शनदाता, महान समाज सुधारक, राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ लिङदेन महागुरु फाल्गुनन्दले स्थापना गरिदिनु भएको किरात माङहिममा समेत मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुले दर्शन र अवलोकन गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिं थेगिम, विशेष अतिथिहरु पूर्व मन्त्री माननीय नेकपा एमालेका केन्द्रीय सदस्य बसन्तकुमार नेम्बाङ, नेपाली कांग्रेसका केन्द्रीय सह महामन्त्री भीष्मराज आङदेम्बे, नेकपा माओवादीका अमरसिं थापा, राप्रपाका केन्द्रीय सदस्य तथा प्रव क्ता सगुनसुन्दर लाओती, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम र संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङदेन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

हवाई मार्गबाट भएको माङसवारमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन, गुरु कान्छा सुपुत्र नाम्बीनहाङ लिङदेन रहनु भएको थियो ।

यसैगरी टोलीमा माङसवार कार्यक्रमका संयोजक तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, गुरु निजी सचिव टंक लिङदेन, पूर्व गुरु निजी सचिव तथा किरात धर्म तथा साहित्य उत्थान संघका उपाध्यक्ष नबिन लिङ्देन ‘माङमिङसोहाङ’, किरात धर्मको मिडिया किरात इङ्सेका सम्पादक ज्ञानु केदेम लगायत रहनु भएको थियो ।

किरात याक्थुङ सेर्मा सङजुम्भोको महाधिवेशनको अवसरमा वंशावली विमोचनसँगै विभिन्न धार्मिक, शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा योगदान दिने सेर्मा बन्धुहरुलाई सम्मान गरिने कार्यक्रम समेत रहेको आयोजक समितिका महासचिव लछामी सेर्माले बताए ।

बुधबार सम्पन्न किरात याक्थुङ सेर्मा सङजुम्भोको चौथौ केन्द्रीय महाधिवेशन, सेर्मा वंशावली विमोचन, सेर्मा तुम्याङ प्रतिमा अनावरण, सेर्मा संग्राहलय शिलान्यास तथा किरात माङहिम उद्घाटन कार्यक्रम सङजुम्भोका अध्यक्ष जिबी याक्थुङबाको अध्यक्षतामा सम्पन्न भएको थियो । भने, कार्यक्रम सञ्चालन दिलवीर सेर्माले गर्नु भएको थियो ।

सम्बन्धित खवर