बेल्जियम । युरोपको राजधानी बेल्जियममा यहाँका किराँती समुदायहरुले जुन २७ मा सामुहिकरुपले उभौली सेवा (साकेला/याक्वा सेवा) मनाएका छन् ।
किराती समुदायले प्रत्येक बर्ष मनाउने उभौली सेवा कोरोना महामारीले गत बर्ष मनाइएको थिएन । नेपाल, भारतको सिक्किम, भुटान, अमेरिका, युके तथा अन्य किराँती समुदाय बसोबास रहेको ठाउँमा खेतीपाती शुरु गर्नु अघि यो चाड मनाउने गरिन्छ ।
नेपाल आदिवासी महासंघ बेल्जियमका अध्यक्ष बिरमान घर्तिमगरको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रम ज्येष्ठ नागरिकहरु देवान राई, पुपुषा चोंगबांग लिम्बु र इन्द्रमाया चोंगबांग लिम्बु द्वारा सांकेतिक रुपमा सद्ब्युपल्ब्यु (बिउबिजन) छरेर शुरु भएको थियो । प्रकृति पूजक किराँतीहरु बालीनाली लगाउन अगावै प्रकृति संग आफ्नो खेतीपातीको रक्षाकालागि देवीदेवता संग पुजाआर्चना गर्ने चलन छ ।
आफ्नो जन्मभूमि बाट टाढा रहेर पनि नेपालमा भएका संस्कृति, रितिरिवाज जोगाउन यहाँका नेपाली समुदाय एक भएर उभौली सेवा मनाउने गरेको संयुक्त किरांत समाज बेल्जियमका सचिव दौलत साम्बाले बताए ।
कार्यक्रममा एभरेष्ट नेपाली सोसाइटिका अध्यक्ष खडानन्द पौडेलले सम्पूर्ण किराँती समुदायलाई उभौलीको शुभकामना दिनुका साथै कार्यक्रम सफल आयोजनाको लागी धन्यबाद दिएका थिए ।
यस्तै तमु समाज बेल्जियमका प्रतिनिधि सुमित्रा गुरुङ, बिश्वमगरसंघ बेल्जियमका प्रतिनिधि निता पुन, एवं एभरेष्ट नेपाली सोसाइटिका भूतपूर्व अध्यक्षहरु कृष्ण श्रेष्ठ र दुर्गा सुबेदी ज्युको उपस्थिति रहेको उक्त कार्यक्रममा, संयुक्त किरांत समाज बेल्जियमका सदस्य श्री शोभा लिम्बुको नेतृत्वमा साकेला, चण्डी र च्याब्रुङ नाच नाचिएको थियो ।
संस्थाका उपाध्यक्ष कबिता सावदेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब दौलत साम्बाले गरेका थिए ।