मञ्चमा मुन्धुमी मिथक ‘सिमिक्वा’ - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मञ्चमा मुन्धुमी मिथक ‘सिमिक्वा’

  • आङबुहाङ अबोध अविरल

दमक । मुन्धुममा वर्णित सिमिक्वा (सिविउ) चरीको मिथकमा आधारित नाटक ‘सिमिक्वा’ दमकस्थित कदम थिएटरमा असार २७ देखि मञ्चन भइरहेको छ ।

ढुङगे युगमा एक जंगलको ओढारमा बृद्ध आमा (आम्मो) र यौवना छोरी (सिमिक्वा) जीवन यापान गरिरहेका हुन्छन् । आमा साँझ–विहानको गर्जो टार्न आमा जंगली च्याउ र कन्दमुल जंगलमा जम्मा गर्छिन् । यौवना सिमिक्वामा ज्यादै चञ्चले स्वाभावकी छिन् । आमा फुर्सदमा छोरीलाई कोरीबाटी र जुम्रा मारिदिने गर्छिन् । बाँसका धिरीमा पानी जोहो गर्नु, वनका ऐसेलुलगायताका फलफूल टिपिखानु सिमिक्वाको दैनिकी रहेको छ ।

एकदिन सिमिक्वाले आमालाई दिनहुँ च्याउ खाँदा दिक्क लागेको सुनाउँछिन् । प्यारी छोरीको खुशीका निम्ति आमा गिठ्ठा भ्यागुर खोज्न वन पेल्न थाल्छिन् । साँझ फिर्दा आमालाई थकान र तिर्खाले प्याक–प्याकी हुन्छिन् । छोरीलाई पानी माग्छिन् । यैबेला उनको आँखा हिजो जम्मा गरेको च्याउमा पर्छ । च्याउ अघिल्लो दिनभन्दा धेरै नै कम देख्छिन् । आमा छोरीलाई च्याउ राम्रो हेरचाह नगरेकाले चरा, मुसाले खाएको भनी गाली गर्छिन् । सिमिक्वा आफ्नो गल्ती नभएको तर्क गर्छिन् । छोरी मुख लागेको देखेर आमा क्रुद्ध हुन्छिन् । र, सिमिक्वालाई एक–दुई लपेटा हान्छिन्, सराप्छिन् । सिमिक्वाको माङगेन्ना (शिर) ढल्छ । उनी रुन्छिन्, कराउँछिन् र हराउँछिन् । भोलिपल्ट सिमिक्वाका निम्ति आमाले गिठ्ठा भ्यागुरको सिकार गरेर ल्याउँछिन् । तर, दुर्भाग्य छोरी घर हुँदिनन् । च्याउ हराएको नभएर घामले सुकेर थोरै भएका थाहा पाउँछिन् । सिमिक्वा निर्दोष भएको थाहा पाएर पश्चाताप जल्छिन्, आमा । छोरी खोज्दै जंगल, भिर, पाखा र खोला किनार चाहर्छिन् । यसैक्रममा खोलाले बगाएर आमाको दुःखद निधन हुन्छ ।

मृत्युपछि आमाको आत्मा सिमिक्वा चरीको रुप लिएर छोरीलाई खोज्दै हिड्छिन् । आज पनि सिमिक्वा (सिविउ) चरी कराएमा गाउँमा मरी मराउ हुने किरात लिम्बू समुदायमा जनविश्वास छ ।

ढुङगे युगको सेटिङमा आमा–छोरीको प्रेम र वियोगको कथालाई सह्रै मर्मस्पर्शी रुपमा नाटमा प्रस्तुत गरेका छन्, निर्देशकद्वय वनेम विक्रम फागो र चेतन आङथुपोले । तङसीङ र येवाको उपस्थिति गराएर मिथक र संस्कृतिको सम्बन्ध स्थापित गर्ने प्रयास गरिएको छ । नाटकमा किरात लिम्बू भाषामा संवाद राखिएको छ । नाटकमा नयाँ कलाकार मिना नेम्बाङ र पासाङ ल्वामु सेर्पाको अभिनयले दर्शकलाई मन्त्रमुग्घ बनाउँछ । यसका साथै, वनेम विक्रम फागो, मनकुमार योङहाङ, सिखर लाम्गादे र सविरन लाम्गादेको शसक्त अभिनयले नाटकलाई जीवन्त बनाउन सहयोग गरेको छ । लिम्बू समुदायमा प्रचलित हाम्लक्वालाई पृष्ठभूमि संगीतका रुपमा प्रस्तुत गरिएको छ । जसले नाटकको दुखान्तक परिवेशलाई जिवन्त बनाइराख्छ ।

नाटकको कथा संकलन स्वर्गीय शिब कुमार श्रेष्ठ र नाट्य रुपान्तरण सुमन लिङदेनले गरेका छन् । सिमिक्वाको भाषा अनुवाद डिल्ली मुसाहाङ अम्याङसाको र भेषभुषा राजकुमार आङदेम्बेको रहेको छ । सिमिक्वा असार ३० गतेसम्म प्रदर्शन हुने प्रस्तुकर्ता चुलाचुली रञ्गमञ्चले जनाएको छ ।

सम्बन्धित खवर