सनाखत - Mangsebung News
  • बुधबार, मङि्सर २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सनाखत

  • सन्जित फलना

कार्तिकको महिना । लगातार मुसलधारे पानी परेको दुईदिन भइसक्यो । रोकिने कुनै छाँटकाँट छैन । चुलिहरुको खोँचैखोच बग्ने रतुवा खोला बढेर घर्तिदोभानको बगर ढाकिसकेको छ । पुर्ववपट्टिको लामिटार खोल्सीपनि उर्लेर दोभानलाइ निलुँलाझैँ गरिरहेको छ । बाढी, उर्लिए चुलिको फेदिमा रहेको दोभानले के थाम्नु । अर्कोतिर पहिरोको डर । हिजोबाट दोभानवासिहरु घरभित्रै थुनिएको छ । फाल्गुनन्द मार्गको बगरको बाटो ठाउँठाउँमा पहिरो भत्किएर दमक रबि ओहोरदोहोर गर्ने गाडिहरु चल्न सकेको छैन । रबि हिँडेको दुईवटा लामिनको ट्रकहरु बाटो बिग्रेर दोभानमै थन्किएको छ । पसल बन्द गरेर हिजै जितमान सर, फुलमाँया र आइतराजहरु घरतिर हिँडिसके । हर्कसिङलाई भने पसल छोड्न मन लागेन । स्वास्निलाई घर पठाएर उ एक्लै पसलमै बसिरहेथ्यो । हुनपनि उसको पसल बगरको डिलपट्टि थियो । बाढी बढे जाबो त्यत्रो दोभान एकैछिनमा बगर बन्थ्यो । खोलामा बाढी बढिरहेथ्यो । उसको मनभरि डर र पिर बढिरहेथ्यो । सडकको भल पसेर उसको पसल हिलैहिलो भएको थियो । पानी नरोकिने बुझेपछि उसले दिउँसोको खाजा खाएर भल काट्ने सोच्यो । बछिटा पसेर लुगाहरु सबै भिजेको थियो । उसले कुनामा राखेको गम्बुट र रेनकोट लगायो । अनि कोदालो बोकेर बाहिर निस्कियो ।

भलमा उसको गम्बुट आधाजती डुब्यो । हिलो टेक्दै उसले वरपर नियाँल्यो । आकास अध्याँरो भएर दिउँसै रात पर्न खोजेजस्तो देखिन्थ्यो । बेलाबेला चट्याङ बिजुली जस्तै चम्किन्थ्यो । बादलहरुको गडगडाहट अनि रतुवाको गर्जनले सातै खालाजस्तो गथ्र्यो । चुलिहरुको खोँचभित्र बाट पानीको सेतोसेतो बाफ उडिरहेथ्यो । रतुवाले बगरले आँटी नआँटी ढुङ्गामुढा बगाइरहेको थियो । चुलिहरुको ढिस्कासङ्गै लडेको रुखहरु गनिसाध्य थिएन । चुलिको ढिस्काहरु खसे खोला थुनिएर दोभान डुबानमा पर्न सक्थ्यो । पहिलेपनि चपेटिमा पहिरोले खोला थुनेर धेरै क्षती भएको थियो । उसले मनभरी कुरा खेलाउँदै लामिटार खोल्सी हेर्यो । लामिटार खोल्सिमाथि पक्की पुल बनिँदैथियो । त्यो पुलले दोभानलाई चुलिको एकोरे बाटोसङ्ग जोड्थ्यो । एकोरे बाटोबाट हिँडे खोला तर्नु पर्दैनथ्यो । खोल्सीमा बाढी बढे त्यसमाथी भर्खरै बनिँदै गरेको पक्की पुल भत्कन सक्थ्यो । हर्कसिङले चारैतिर हेर्दै गहिरो श्वास‘ फेर्यो । उसलाई देखेर डबले बाजे छाता ओढ्दै आयो ।
‘बेला ना कु बेला यो के भाको हौ तुम्बा ?’– हर्कसिङले डबलेलाई सोध्यो ।
‘माङ रिसाको नि स्याँठा ! अस्ति ९० सालमा पनि त्यै भएर धेरैको बिचल्ली भाको थियो !’– डबले बाजे खकार फाल्दै बोल्यो ।
‘मान्छेहरुको धान चैँ सोत्तर हुने भो ।’ – हर्कसिङ दोभान छेउको खेत हेर्दै बोल्यो ।
‘यस्तै तालले घर बगाउन बेर छैन धानको कुरा गर्छ ।’
डबले बाजेको कुराले हर्कसिङको मनमा चिसो पस्यो । उसले बगरको डिलमा भएको आफ्नो पसल हेर्यो । अर्कोतिर सडकबाट भेल बगेर पसलमा पस्ने डर । पसलमा भल पसे अर्को फसाद पथ्र्यो । उ भल काट्न थाल्यो । डबले बाजेले उसलाई सघाउन थाल्यो ।

उनिहरुले भल काट्न के सुरु गरेको थ्यो हुण्डरी मडारिँदै पानी झनझन जोडले दर्किन थाल्यो । हुण्डरीले डबले बाजेको छाता पिर्लिक्क पल्टाइदियो । लुथरुक्क भिजेर बाजे घरभित्र छिरिहाल्यो । उ एक्लै भल काट्न थाल्यो ।
‘भिजेर बिराम पर्छस एई । यता आइज ।’– बाजेले बोलाएपछी उ भल काट्न छोडेर बाजेको घरभित्र छिर्यो । उ भित्र पस्नेबित्तिकै असिना पनि दर्किन थाल्यो । बोजुले दुईतीनवटा असिना टिपेर बतलमा हालिन् । आगोले पोल्दा दबाइ हुन्छ रे ! हेर्दाहेर्दै असिनाको डल्लाले आँगन सेतै देखिन थाल्यो । बोजुले चिया बसाइन् । उसको मनमा भने पसलकै चिन्ता थियो । बाजेको घरभित्रबाट उसले तल्लोपट्टिको आफ्नो पसलमात्रै नियाली रह्यो । उसको पसलछेउबाटै भल बगेर रातुवामा मिसिँदै थियो । बोजुले चिया दिइन् । चिसिएको जीउलाई एकछिन भएपनि चियाले ततायो । तर उसको चिसिएको मनलाई तताउने के ले ? दुइतिन सुरुप पिएपछि उसले बलेँसीको भलमै चिया फाल्यो ।
‘कति सुर्ता गर्छस हौ स्याँठा ?’ – डबले बाजे कड्कियो ।
उ केहिपनि नबोली पसलमात्रै हेर्दै बसिरह्यो ।
दिउँसोसम्म पनि पानी नउघ्रिने देखेपछि शान्ताको होटलमा बसेको ट्रकका ड्राइभरहरु चुलिको एकोरे बाटो हिँडदै दमकतिर झरे । ‘चुलीमा पहिरो भत्के यिनीहरु अलपत्र पर्छ है’ ड्राइभरहरु हेर्दै बाजे बोल्यो । उनिहरु गएपछि शान्ता र उसको बुवापनि पसल थुनेर बेँसिको घरतिर लागे । दोभानमा अब उ, डबले बाजे र बोजु गरेर तीनजना मात्रै रहे ।

त्यसरात उसले डबले बाजेकैमा खाना खायो । बत्तिको करेन्ट हिजो बिहानबाटै गायब थियो । आजबाट भने मोबाइलको नेटवर्कले पनि काम गर्न छोड्यो । दोभान मास्तिरको डाँडामा आएर कतिपटक घरमा सम्पर्क गर्न खोज्दा पनि सम्पर्क भएन । घर सम्झिए घर । पसल सम्झिए पसल । उसलाई दोहोरो चिन्ताले सताउन थाल्यो ।

अध्याँरोमा चुलीहरुलाइ निलुँलाझैँ गडगडाउँदै रातुवा उर्लिरहेथ्यो । बाढीले बगाएको रुखको मुढा र हाँगाबिँगाहरु किनारै भरी तैरि रहेथ्यो । जङ्गलतिर कड्याकड्याक गर्दै रुख ढलेको आवाज सुनिन्थ्यो । खाना खाइसकेर उ कतारबाट ल्याएको सिकारी टर्चलाइट बोकेर बाहिर निस्कियो । उसको पछिपछि डबले बाजेपनि आयो । भल बगेर पसलको अगाडी सानोतिनो खोलै भइसकेको थियो । डबले बाजेले टर्च देखायो । उसले भल काट्यो । भलले बगाएको ढुङ्गा र हाँगाबिँगाहरु उसको गम्बुटमा ठोक्कि रहन्थ्यो । भल काट्दै घरिघरी उ पसल मुन्तिरको रातुवाको बाढि हेरिरहन्थ्यो । बाढी बढेर उसको पसलको छेउमै आइपुग्न लागेको थियो ।
चढ्याकड्याकड्याक ……
छेवैमा रुख ढलेको आवाज आयो ।
उ आँत्तिदै डबले बाजेको छेउमा उभियो । बाजेले रुख ढलेको ठाउँतिर टर्च लगायो । पुलपरको एकोरे बाटो भत्किएर रुख ढल्दै रैछ । हेर्दाहेर्दै चुलीको त्यत्रो बाटो भत्केर खोलामा खस्यो । बोजुपनि पहिरो भत्केको सुनेर बाहिर निस्किइन् । उनी निस्किसक्दा पहिरो बाढिमा मिसिसकेको थियो । भत्किएर बाँकी रहेको ढिस्काहरु पनि अलिअली गर्दै खसिरहेको थियो । अब हिँड्नलाई एकोरे बाटो रहेन ।
‘ला जाँठा !’– ऊ चुँकचुँक गर्दै बोल्यो ।
‘लु दोभानमा बस्न सकिँदैन जस्तो छ यस्तो पाराले कि पहिरो कि बाढिले लान्छ ।’– उ बोल्यो ।
बोजु उनिहरुकै छेउमा आयो ।
‘सुत्न छोडेर तँलाइ चैँ फेरि किन बाहिर निस्किनु पर्यो हौ ?’– पहिरो हेर्न नि भन्न त मन थियो बोजुलाई । तर नबोली पहिरो गएको ठाउँ हेरेर घरतिर गइहाल्यो ।
‘भोलिसम्म बिचारौँ । पानी रोकिएन भने घर लाग्नु पर्छ ।’– बाजे बोल्यो ।
‘भोलि बिहान चैँ पसलको सामान सार्नु पर्ला’– ऊ बोल्यो ।

उसले एकहप्ता अघि मात्रै दमकबाट पसलमा एकलाखको सामान हालेको थियो । कार्यक्रम र चाँडबाडले गर्दा बिक्री राम्रै हुँदै थियो । साहुलाई आधा किस्ता बुझाइसकेको थियो । आधा किस्ता भने बुझाउनै बाँकी थियो । पुरानै सामान, भाँडावर्तन र लत्ता कपडा गरेर लगभग पसलमा दुइतिन लाखकै सामान थियो । बाढिको कारण पसल बगे उसलाई नहुनु दुख पथ्र्यो ।
उ भल काट्न छोडेर पसलभित्र छि¥यो । भल भान्सा कोठाभित्र पसिसकेको थियो । चेयर र बेन्चहरु पानीमा आधा डुबेको थियो । बाँसको टाटिबाट पानी छिरेर ग्यास, सिलिण्डर र भाँडावर्तनहरु भिजेको थियो । उसले तल्लोपट्टिको झ्याल खोलेर एकपटक बाढि हेर्यो । बाढिले बगरको डिल भत्काउनै आँटेको थियो । डिल भत्किए बाँसको खाँबाहरु भत्किएर पसलमा बाढी पस्नु कतिपनी लाग्थेन । उसले झ्याल खोलेर एकैछिन उर्लिरहेको बाढी हेर्यो । अनि झ्यालढोका डामडुम थुनेर डबले बाजेको घरमा गयो । शरीर अलिअलि भिजेकोले उ कपडा फेरेर ओछ्यनमा ढल्कियो ।

बाजे रेडियो सुनिरहेको थियो । कन्चनजङ्गा एफएमबाट राती १० बजेको समाचार आउन थाल्यो । समाचार आएपछि बाजेको कान अलि चनाखो भयो । पानी दर्किरहेकोले टिनको छाना बजेर रेडियो राम्ररी सुनिदैनथ्यो । उसले टेबलमा राखेको रेडियोलाई कानको छेउमा ल्याएर राख्यो ।
‘सबैभन्दा पहिले मुख्यमुख्य समाचारको शिर्षकहरु…
लगातार आएको भिषण बर्षाको कारण पहाडी जिल्लाहरु पहिरोको जोखिममा । बाढिले खेतको बाली नष्ट गरेकोले तराई क्षेत्रका किसानहरु प्रभावित…’
बाजेले रेडियोको भोल्युम बढायो । ठूलो भोल्युममा बढिरहेको समाचारले उसको मनमा भने पिर बढायो । उसलाई घर र पसलको चिन्ताले सताइरह्यो । मोबाइल झिकेर नेटवर्क हेर्यो । नेटवर्क अझैपनी देखाएको थिएन । ब्याट्री पनि रातो भइसकेको रैछ । चित्त बुझाउन स्वास्निलाई सम्पर्क गरि हेर्यो । न त घरमै सम्पर्क हुन्छ, न त पानी नै रोकिन्छ । मोबाइल सिरानीमा राखेर मनमा कुरा खेलाउँदै उसले कोल्टे फेर्यो । सुत्नको लागि आँखा चिम्लन खोज्यो तर निद्रा परे त हुने नि, मनभरी खाली चिन्तै मात्र । ऊ निदाउनै सकेन ।

२०५९ सालमा सशस्त्र माओवादी जन युद्धमा गाउँ छोडेर लारुम्बा बसाइँ आएको थियो उ । हत्या, हिंसा र मारकाटले गाउँ बस्न नसकिने । अर्कोतिर लारुम्बाको धर्ममा लागेको आरोपमा माओवादीहरुले हैरान गर्ने । गरि खानलाई त पुग्दो जमिन थियो । अम्लिसो र अदुवाले मनग्गै कमाइ हुन्थ्यो । तर माओवादी ज्यादति सहन मुस्किल । युद्ध आतंकबाट मुक्ति खोज्दै आत्मिक शान्तिको निम्ति उ गाउँको सम्पुर्ण जमिन बेचेर लारुम्बा बसाँइ सर्न बाध्य भयो । जेनतेन बसाँइ त आयो तर लरुम्बामा गरिखाने समस्याले गिजोल्न थाल्यो । विस्थापितहरुको घर र टहराले भरिएर लारुम्बामा गरिखाने ठाउँ बिरलै थियो । गाउँको जमिन बेचेको पैसा जग्गा किनेर घर बनाउँदै सकिहाल्यो । बूढो बाउ, स्वास्नी र दुइवटा नानिहरु पाल्नु थियो ।

एकदुई महिना त गाउँबाट ल्याएको अलिअली खर्चले नै गुजारा चल्यो । त्यसपछी स्वास्निसङ्ग मिलेर त्यहाँका स्थानिय थुलुङ राईहरुको पाखामा अधिया कमाइ गर्न थाले । केही बर्ष यसरिनै गुजारा चल्यो । तर छोराछोरी हुर्किँदै गएपछि भने अधिया कमाइले नपुग्ने भो । फेरि ज्याला मजदुरी पनि जहिल्यै नपाइन । हिउँदमा त रातुवा खोलाको बगरमा ग्याबिन लगाउने काम पाउँथ्यो । तर बर्खामा खासै काम हुन्थेन । त्यतिबेला उ माथी पाँचथरतिर लक्कडीको काम गर्न जान्थ्यो । माओवादीसँगको शान्ती वार्ता भइसकेपछि उ छ महिनाजति सिलङ कोइलाखानी पनि पस्यो । कोइला काट्दाकाट्दा कोइलाजस्तै कालो भयो । तर फर्किँदा बचाएर ल्याएको चालीस हजारले स्वास्नीलाई आधातोला तिलहरी किन्दियो । सुन पाएपछि स्वास्नीको अनुहार भने खुसीले उज्यालो भयो ।

तर त्यो अनुहारको उज्यालो धेरैदिन टिकेन । जिन्दगीको सौदा गर्न स्वास्नीको त्यहिँ तिलहरी बन्धकी राखेर ऊ ६५ सालतिर साउदी भासियो । साउदी पुगेको केही महिनामै कम्पनी टुटेपछी इल्लिगल भएर काम गर्यो । इल्लिगल काम गर्दा राम्रै पैसा कमिए पनि पुलिसबाट बाँच्न गाह्रो । फर्किने बेला दुइहप्ता जेल बसेर उ अढाइ बर्षमै घर फर्कियो । साउदीको पैसा ऋण तिर्दै ठिक्क । घरमा एक रुपैँया ल्याएन । त्यतिबेला देशमा कोरिया रोजगारिको चासो बढ्दै थियो । महिनाको दुई अढाइ लाख आम्दानी हुने लोभले गाउँको केटाहरु पनि कोरिया ट्राइ गर्न भनेर दमक झर्दै थिए । साइनोमा ज्वाइँ पर्ने उभन्दा थोरैमात्र कान्छो शन बहादुर नेम्बाङले नाम निकालेको खबर सुन्दा उसमा पनि कोरियाको भुत चढ्न नखोजेको हैन । तर इपिएस टपिक्सको परीक्षा पास गरेपछी मात्रै नाम निस्किने कुरो बुझेपछि भने उ पछि हट्यो । एक बर्षपछि उ फेरि ऋण खोजेर कतार उड्यो । कतारमा भने साउदी भन्दा अथवै कमाइ भयो । उसले कतारबाटै छोरीलाई एस.एल.सी. पास गरायो । घरछेउमा करेसाबारी रोप्न अलिअली जग्गा जोड्यो । पाँच बर्षजति बसेपछि परिवारको याद र माँयाले फेरि घर फर्किहाल्यो । घर फर्केर घर्ती दोभानमा सानो पसल खोलेर बस्न थाल्यो ।

उसले दोभानमा पसल गर्न थालेको तीन बर्ष भइसकेको थियो । दमक रबि हिड्ने ड्राइभर र यात्रुहरुले चियाखाजा खाँदा राम्रै कमाइ हुन्थ्यो । उसको सबै ड्राइभरहरुसङ्ग राम्रो संगत र चिनजान थियो । शनिबारको दिन लामिटारबाट चौकीको प्रहरीपनि झर्थे । उनीहरु झर्दा उसकै पसलमा चियानास्ता गर्थे । दिउँसोपख पसलमा प्राय स्वास्नीनै बस्थ्यो । उ भने वरपर गफ गर्न मै तल्लिन हुन्थ्यो ।

बगरको बाटो सुरुमा गाडी चल्न थालेदेखि जस्ताको त्यस्तै थियो । धुलौटे, कच्ची र अव्यवस्थित । उसलाई त्यसले दिने दुख राम्ररी थाहा थियो । हिउँदोमा मात्रै गाडी चल्ने त्यो बाटोमा बर्खामा कैयौँ यात्रुहरु हिँडेरै दमक झर्नु पथ्र्यो । उसले कति बिरामीहरुलाई स्ट्रेचरमा बोकेरै लारुम्बाबाट दमक पुर्याएको थियो । घरिघरी त नेता र ठेकेदारहरुसङ्ग नि रिस उठ्थ्यो । तर जाबो उ रिसाउँदा हुने केही थिएन । उनीहरु बसेको क्षेत्र नम्बर २ सुबास नेम्बाङको एरिया थियो । त्यो बाटो पिच बने दमकबाट राँके हुँदै सजिलै ताप्लेजुङ पुग्न सकिन्थ्यो । मेची राजमार्गको इलाम सदरमुकाम हुँदै चल्ने सवारीहरु झापा झर्न अलि छोटो हुने भएकोले यहिँ बाटो हिँड्थ्यो । त्यसो हुँदा इलाम सदरमुकामलाई असर पुग्छ भनेर सुबास नेम्बाङले सडक निर्माणमा उति चासो नदेखाएको भन्ने लारुम्बामा गाइँगुइँ हल्ला चल्थ्यो । बाटोको दुर्गती देख्दा उसलाई बेलाबेला हो कि जस्तो लाग्थ्यो । चुलीहरुको पेटैपेट हिँड्ने एकोरे बाटोको निर्माणकार्य हुन थालेको एक दशक भएको थियो । हिउँदमा निर्माण भएको ग्याबिङ र सोलिङहरु बर्खाको भेल र पहिरोले फेरि उस्तै बनाइदिन्थ्यो । बगरको बाटो हिँडे ढुङ्गा, बालुवा र खोलाको सकस । दुई दशकदेखिको समस्याको रुपमा रहेको रतुवा सडकको निर्माणकार्य स्थानिय सरकार आएपछि भने चाँडो सुल्झिने छनक देखिन्थ्यो । बगरको ठाउँठाउँमा सडकका कामदारहरु त्रिपाल टाँगेर बसेका थिए । दोभान वरपर पुल, ग्याबिन र ठेसवालको काम हुँदा ठेकेदारहरु उसकै पसलमा आएर चिसोतातो लिन्थ्यो । यसरी उसको पसल राम्रै चलिरहेथ्यो ।

मनमा कुरा खेलाउँदा खेलाउँदै रातको बाह्र बजिसकेछ । पानी झन झन ठूलो दर्किन थाल्यो । टिन बजेर छानै छेडिएला जस्तो भइरहेको थियो । खिया परेर छेड परेको टिनको दुलोबाट सिरानीमा तप्प तप्प पानी चुहिरहेको थियो । उसले पानी चुहिरहेको ठाउँमा बटुको थाप्यो । झ्याल ढोकाबाट बछिटा छिरेर भुइँतलाको सिकुवा भिजिसकेको थियो । रातुवाको बाढीले दोभान नै थर्किरहेथ्यो । समाचार सुन्दासुन्दै बाजे कतिबेला हो निदाइसकेछ । रेडियो मात्रै सेँ….क क क गर्दै बजिरहेथ्यो । उसले बाजेको ओछ्यनमा गएर रेडियो मारेर सुत्यो ।

उज्यालो हुने बेला उसलाई मज्जाले निद्राले गाँज्यो । सपनामा मृत आमाले धुँवामा उड्दै आकासबाट बोलाइरहेकी थिइन् । उ स्याँस्याँ गर्दै आमालाई भेट्न चुलीको टुप्पिमा चढिरहेको थियो ।
‘हर्के ओइ हर्के ! बाहिर आइज त’
उ सपनाबाट झल्यास्स बिउझिँयो । झिसमिसे उज्यालो भइसकेको रैछ । पानी सिमसिम परिरहेकै थियो । डबले बाजे उसलाई बोलाउँदै आँगनमै आइपुगेको रैछ । बाजेको आवाज सुनेर उ जुरुक्क उठ्यो । उसको मन अत्तालिरहेको थियो । उठेर आँखा मिच्दै उ कोठाबाहिर निस्कियो ।

उसलाइ बोलाउँदै बाजे आँगनमै आइसकेको रैछ । उसले बाजेको संकेतबाटै कुरा बुझिहाल्यो । बगरको डिल भत्काएर बाढिले रातिनै उसको पसल बगाइसकेको रैछ । उसको पसल भएको ठाउँमा बाढी मात्रै बगिरहेको थियो । उ आत्तिँदै त्यतातिर दगु¥यो । बाढीले पसलको एकट्रुक्रा सामान पनि बाँकी राखेको थिएन । आफ्नै अगाडीको त्यो दृश्य सपना हो कि बिपना हो उसले सोच्नै सकेन । दिमाग चल्न छोडेजस्तो भयो । सास प्रस्वास रोकिएला जस्तो भयो । हातखुट्टा फतक्क गल्यो । रिंगटा छुटेर आयो । बाढीले पसल बगाएको हैन उसको सपना बगाएको थियो । उसको पसल बगर बनाएको हैन मन बगर बनाएको थियो । उ आत्तिँदै बगरको डिलैडिल अलि तलसम्म दगु¥र्यो । बाढीमा पसुँलाझैँ ग¥यो । बगरमा बसेर बाँसको ठूलो भाटाले बाढीभित्र आफ्नो पसलको सामानहरु खोज्यो । उर्लिरहेको बाढीले त्यो भाटापनि बगाइदियो । उसले रिसले बगरको एउटा ठूलो ढुङ्गा उचालेर बाढीमा फाल्यो । त्यो ढुङ्गा छुप्लुङ्ग गर्दै बाढीभित्र पस्यो । ढुङ्गाले उछिट्याएको पानीले उ आफै भिज्यो । त्यसपछि अनुहारको पानी पुछ्दै उ पसल भएको ठाउँमा आएर थ्याच्च बस्यो । उसको आँखा आँसुले टन्न भरिएको थियो ।

त्यतिन्जेलसम्म उज्यालो भइसकेको थियो । चुलीभरी ड्याम्म तुँवालो लागेको थियो । बाढीले बगाएको मुढा र रुखको हाँगाहरु बगरभरी तैरिएको थियो । शान्ताको होटल अगाडी रुख ढलेको थियो । त्यसको छेउछाउ रोडा र बलौटाहरुको हिलो जमेको थियो । जुन हिजो राती पहिरो गएको ठाउँमा अझै ठूलो भत्किएछ । पुल छेउको चुलीको ढिस्का खसेर होर्डिङबोर्ड पुरेको थियो । भलले च्यादर र त्रिपालहरु बगाएर दोभानको बगरभरी छरेको थियो । बोजुपनि उठेर बाहिर आइन् । बाजेले बगरको ढुङ्गामा बसेर हर्कसिङलाई निँयाली रहेको थियो । उनिहरु केही बोल्न सकेनन् ।

पानी रोकिएकोले बाढी बिस्तारै घट्दै थियो । डबले बाजेले उसको छेउमा आएर चुर सल्कायो । उ एकोहोरो बाढी हेर्दै बसिरह्यो । बाढीमा पत्करहरु तैरिरहेको थियो, उसको मनमा पिडा । चुलीहरुको ढिस्का खसिरहेको थियो, उसको आँखामा आँसु । केहिपनि सोच्न नसकी उ डङरङ्ग बगरमा पल्टियो ।
‘जे नहुनु भइगयो ! धेरै पिर नगर हौ हर्के ।’ बाजे चुर उडाउँदै बोल्यो ।
उ केहिपनि बोलेन । आँखा चिम्म गरेरै पल्टिरह्यो ।
‘कथा समाप्त भइरह्यो ब्यथा अझै रहिरह्यो ।’– एकछिनपछि आँखा खोलेर आकाशतिर हेर्दै बढो भावुक भएर बोल्यो उ ।
‘पर नगर । चौकीमा खबर गर्नुपर्छ । धेरथोर सहयोग गर्ला ।’– बाजेको चुरको ठुटा बगरमा खसेर निभ्यो ।
सिमसिमे पानी रोकिसकेको थियो । अँध्यारो आकाश बिस्तारै उघ्रिँदै थियो । चुलीतिरको कुनै झाँडिहरुमा बसेर सेल्लोवा चरी कराइरहेथ्यो । बोजुले चिया बनाएर बाहिरै ल्याइन् । बाजेले ढुङ्गामै बसेर चिया पियो । उसलाई भने पिउन मन लागेन । तर बोजुको करले थोरै पियो ।
‘हैन कुनै बर्खामा पनि पो यस्तो त भाको थेन हौ’ – बोजुले खासमा उसलाई ढाडस दिन खोजेको थिइन् तर उसलाई घाउमाथी नुन छर्किदिएझैँ भयो ।
उसलाई आफैसँग रिस उठ्यो । भल काटेको त्यहिँरात सामान सारेको भए यस्तो नहुने थियो । सोच्यो । बाजेले चौकीमा खबर गर्न मोबाइल झिक्यो । तर मोबाइल रातिनै स्विच अफ भइसकेको रैछ ।

बेसीबाट कल्याङमल्याङ गर्दै मान्छेहरु आउँदै थिए । नजिक आएपछि थाहा भो शान्ताको बाउ, छत्रे, पृथिसिङ र शिरानेघरे रैछन् । उनिहरु बाढी पहिरोको क्षती हेर्दै गाउँ डुल्न निस्केका रैछन् । बेसीतिर खासै असर गरेन भन्थे । उनिहरुले हर्कसिङको छेउमा आएर पसल बगेको हे¥यो । दुख जनायो । हुने हार टार्न नसकिने कुरा गरेर उसलाई सहानुभुती दियो ।
‘स्याँठा अब चैँ पानी रहन्छ कि ?’ – बाजेले मौसम निँयाल्दै बोल्यो ।
‘यत्रो क्षती गरेपछि त रोकिनु प¥यो नि ।’– सिरानेघरे बोल्यो ।
‘दोभान बासीलाई बाढीले गरिखान नदिने भो ।’ – छत्रे बोल्यो ।
‘नहुनेलाई कहिल्यै नहुदो रैछ कुङ्बा ।’– उसलाई दुखको झोँकमा दर्शन फु¥यो ।
बोजुले पसलबाट जाँड खान बोलाइन् । सबैजना पसलतिर गए । हर्कसिङ हिँड्नै मन नपरी नपरी हिँड्यो । बाजेले भित्र जानबित्तिकै रेडियो खोल्यो । बिहानको सात बज्नै आँटेको थियो । उनीहरुले जाँड खाँदै समाचार पर्खियो ।
बिहान सातबजेको कन्चनजङ्गा समाचार बज्न थाल्यो ।
‘…भिषण बर्षाको कारण इलाम र पाँचथरको सिमानामा अवस्थित चिसोपानी पन्चमी बजारमा पहिरोले कैयौँ घर बगाएको छ । पहिरोमा परेर बेपत्ता भएकाहरुलाई स्थानिय बासिन्दा र प्रहरिहरुद्वारा खोजी कार्य सुरु गरिएको छ ।’
‘ला जाँठा ! को को पर्यो नि ?’– समाचार सुनेर डबले बाजे बोल्यो ।
समाचारले पृथिसिङ आत्तियो । कुरुम्बा तिरको उसको धेरै आफन्त पञ्चमीमै बस्थ्यो । उसले कुरो बुझ्न पञ्चमीको आफन्तहरुलाई फोन गर्न थाल्यो । छत्रे र सिरानेघरेले आँखा रातो बनाउँदै उसलाई घोरिएर हेरिरहे । हर्कसिङले उनीहरुलाई खासै ख्याल दिएन ।

पसल बगाएको खबर प्रहरी चौकिमा पुगेछ । लगभग आठ नौ बजेतिर असई थापा सर र दुईजना सिपाहीहरु दोभान आइपुगे । हर्कसिङ निद्रा र तनावले ओछ्यानमै पल्टिरहेको थियो । उनीहरुले सुरुमा घटनास्थलको अवलोकन गरे । जाँचपुछ गरे । त्यसपछि बाजेको पसलमा पसे । चिया पिउँदै एकछिन हर्कसिङसँग बात मारे । चिया पिइ सकेपछि असई थापासरले कागज निकालेर सनाखत गर्न थाल्यो । बाजेले बिहान देखेको सबैकुरा सुनाउन थाल्यो ।
‘साढे चारबजेतिर हुँदो हो । पिसाब लागेर उठेको, बाहिर आँगनमा निस्कँदा त हर्केको पसल देख्दिन त, अनि …’

माङसेबुङ इलाम

सम्बन्धित खवर