अहंकार र क्रोधले संसार नास हुन्छ : अङसीमाङ आत्मानन्द सेइङ - Mangsebung News
  • मङ्गलबार, बैशाख ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अहंकार र क्रोधले संसार नास हुन्छ : अङसीमाङ आत्मानन्द सेइङ

कातिक १५, माङसेबुङ । मान्छेमा अहंकार र क्रोध बढ्दै गए संसार नास हुने किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भएको छ ।

निजी गुरु आश्रममा मंगलबार आयोजित आप्लुङ ताङसेप चोमेन सेवा समापन कार्यक्रममा आशीर्वचन दिनुहुँदै अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले सो कुरा बताउनु भएको हो ।

यो विश्व ब्रमाण्ड नै माङको सृष्टि रहेको बताउनु हुँदै अङसीमाङले भन्नु भयो, ‘माङको फूलबारीमा छौं, माङले रक्षा गरे सबै बच्न सकिन्छ माङले नष्ट गर्न चाहे सबै नास हुन्छ ।’ थप्नु भयो, ‘माङले सबैलाई रक्षा गरोस् भनि संधै सेवा गर्नु पर्छ ।’ विश्वमा मान्छे धेरै हुँदै गएपछि अनेकौं समस्याहरु पैदा हुने संकेत गर्नुहुँदै, अशान्त र युद्ध भए महङगी बढ्ने र हामी उपभोक्ताहरु बढी मारमा पर्ने समेत सुनाउनु भयो ।

आधुनिक खेती प्रणालीको नाममा रासायनिक मलको प्रयोगले अनेकौं स्वास्थ्य समस्या पैदा गरिरहेकोले अर्गानिक खेती प्रणालीमा कृषक र स्थानीय निकायहरुले ध्यान दिन आवश्यक रहेको समेत अङसीमाङले बताउनु भयो ।

आशीर्वचनकै क्रममा अङसीमाङले माङसेबुङको विकास र समृद्धिका लागि विभिन्न आधारहरु रहेको सुनाउनु भयो । वहाँले भन्नु भयो, ‘यसका लागि सम्बन्धित पक्षले ध्यान दिनु पर्छ, काम गर्ने इच्छा शक्ति हुनुपर्छ सम्भावना थुप्रै छन् ।’

फरक प्रसंगमा वहाँले भन्नु भयो, ‘म सबै पार्टीको साझा व्यक्ति हुँ, सबै आउँछन् आशीर्वाद माग्छन् सबैलाई आशीर्वाद दिएको छु ।’

निजी गुरु आश्रममा रहेको किरातेश्वर सिद्ध हाङसाम माङहिममा विश्व शान्ति तथा मानव एकता उधौली चोमेन सेवा विगतका वर्ष झै ५ दिने आप्लुङ ताङसेप चोमेन सेवाको रुपमा आयोजना गरिएको हो।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको हस्तबाहुलीबाट फूलमाला अर्पण सहित आशीर्वाद प्रदान गरिएको कार्यक्रममा प्रमुख अतिथि माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, विशेष अतिथि फाक्फोकथुम गाउँपालिका अध्यक्ष दीपेन्द्र खनाल, अतिथिहरु फाक्फोकथुम गाउँपालिका उपाध्यक्ष कल्पना राई, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, गुरु प्रवक्ता डिल्लीराम चाम्लीङ लगायत रहनु भएको थियो ।

 


किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको निजी गुरु आश्रम माङसेबुङ ५ लारुम्बामा अवस्थित माङहिममा चोमेन सेवाको रुपमा कात्तिक ११ गते साक्मुरा वदेम्मा गरिएको थियो । सेवाको दोस्रो दिन कात्तिक १२ गते देवी देउराली र कुलसेवा, १३ गते सावायेत नाम्धुङ लाधुङसेमी सेवा, कात्तिक १४ गते विशेष भेटघाट कार्यक्रम आयोजना गरिएको थियो ।

सेवाको आयोजना गुरु निजी आश्रम कृषि समिति र गुरु निजी आश्रम कृषि तथा भौतिक पूर्वाधार निर्माण आर्थिक व्यवस्थापन समितिले गरेको थियो। समापन कार्यक्रम कृषि समितिका अध्यक्ष टिकाराम केरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य कृषि समितिका सचिव उदयविक्रम तुम्बापोले राखेका थिए भने कार्यक्रम सञ्चालन भगिहाङ नेम्बाङले गरेका थिए ।

सम्बन्धित खवर