महिलाहरुलाई पनि पुरुष सरह शिक्षा र अवसर दिनु पर्छ : अङसीमाङ आत्मानन्द सेइङ - Mangsebung News
  • सोमबार, जेठ ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

महिलाहरुलाई पनि पुरुष सरह शिक्षा र अवसर दिनु पर्छ : अङसीमाङ आत्मानन्द सेइङ

फागुन ४, माङसेबुङ । शान्ति कायम रहे मात्र विकास निर्माणले गति लिने किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भयो ।

अङसीमाङले भन्नु भयो, ‘विश्वमा अशान्ति नहोस, महामारी नआओस् यसका लागि सबैले माङसँग प्राथना गरौ ।’ विहिबार मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६७ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोहमा आशीर्वचन दिनु हुँदै वहाँले सो कुरा बताउनु भएको हो ।

अदृश्य रुपमा माङ रहेको र माङ सेवा गर्दा माङले जोगाउने वहाँले बताउनु भयो । अङसीमाङले पवित्र आत्माले सेवा गरेर मागेको कुरा माङको आशीर्वाद लाग्ने कुरा सुनाउनु भयो ।

समाजमा रहेको कुरीति कुसंस्कारलाई त्याग्दै जानु पर्ने बताउनु हुँदै, वहाँले भन्नु भयो, ‘खानपिनमा सुधार भएपछि शरिरलाई पवित्र हुन्छ ।’ भन्नु हुँदै सबैजना एकता बने मुलुकको विकास हुने वहाँले बताउनु भयो ।

महिलाहरु पनि राज्यको नेतृत्व तहमा पुग्न आवश्यक रहेको चर्चा गर्नुहुँदै अङसीमाङले भन्नु भयो, ‘महिलाहरुलाई पनि पुरुष सरह शिक्षा र अवसर दिनु पर्छ ।’ वहाँले थप्नु भयो, ‘धर्म कर्ममा सबै युवा पुस्ताहरु लाग्नु पर्छ, यो संस्थाहरुलाई थाम्ने लाने जिम्मा तपाइहरुको हो ।’

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६७ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा माङसेबुङमा फागनु ३ गते आयोजित पवित्रहाङमा कप खेलकुद प्रतियोगिता, येत नाम्धुङ लाधुङसेमी, अङसीमाङबाट अमृतमय आशीर्वचन, विभिन्न कृतिहरु विमोचन, विविध जातीय सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएका छन् ।

जन्मोत्सवको अवसरमा माघ २३ गतेदेखि पवित्रहाङमा कप १३ औं संस्करण प्रतियोगिताको सुरु गरिएको थियो । फागुन १ गते साक्मुरा वदेम्मा, २ गते विश्व शान्ति मानव एकताका लागि किरात हाङसाम मुजोत्लुङ माङहिममा येत नाम्धुङ लाधुङसेमी सेवा आयोजना गरिएको थियो ।

जन्मोत्सवको अवसरमा ३ गते मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६७ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोहको प्रमुख अतिथि प्रदेश नं. १ का स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूबाट समुद्घाटन गरिएको थियो ।

यसरीनै सावायेहाङ नोमाङगेन्ना सेवासँगै साँझमा समारोहको सांस्कृतिक उप समिति किरात साम्यो साक्थिम्गेन पान्जुम्भोको संयोजनमा बृहत सांस्कृतिक तथा सांगीतिक कार्यक्रम सञ्चालन गरिएको थियो ।

सांस्कृतिक कार्यक्रममा किरात केन्द्रीय कलाकारहरुसँगै फक्तालुङ आइडल तिर्सना नेम्बाङ, प्रथम माङसेबुङ इक्ला विजेता चोत्लुङहाङ केदेम लगायतले विशेष प्रस्तुति दिएका थिए ।

सोही दिन किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङबाट आशीर्वचन, मिक्तोक वितरण, संस्थागत धन्यवादपत्र वितरण, पुस्तक/पुस्तिका विमोचन र माङगेन्ना चामल वितरणसँगै विदाई कार्यक्रम सम्पन्न गरिएको नुमाङगेन्ना सेवा समारोहका अध्यक्ष केहेरसिं योङहाङले बताए ।

यसरी पुस्तक विमोचनको क्रममा किरात इङभो पान्जुम्भोको प्रकाशनमा रहेको अङसीमाङको आशीर्वचन सग्रह मिलेर बसौं, शान्तिसँग बाँचौं भन्ने पुस्तक पनि प्रमुख अतिथिबाट विमोचन गरिएको थियो ।

अङसीमाङ आत्मानन्द सेइङ्ले आशीर्वचन समेत प्रदान गर्नुभएको जन्मोत्सवमा सावायेहाङ नुमाङगेन्ना सेवामा ६७ जना माङ्सेवासाबा तथा माङसेवासामाहरुबाट माङगेन्ना सेवा मुन्धुम वाचन गरेका थिए । त्यस्तै माङगेन्ना मुन्धुम वाचन पश्चात श्रदालु किरात धर्मावलम्बीहरुले नाहेन लाक्मा गरिएको थियोे ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६७ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोहका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य सहअध्यक्ष डकेन्द्रसिंह थेगिमले गरेका थिए भने समिता थेबे र सरिता राईले कार्यक्रम सञ्चालन गरेकी थिइन ।

सम्बन्धित खवर