युकेकमा साक्थिम्गेन पान्जुम्भो कलाकार भेटघाट कार्यक्रम सम्पन्न - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युकेकमा साक्थिम्गेन पान्जुम्भो कलाकार भेटघाट कार्यक्रम सम्पन्न

माघ ९, युके । किरात साम्यो साक्थिम्गेन पान्जुम्भो युकेको आयोजनामा किरातीहरुको महान पर्व कक्फेवा तङनामको अवसरमा २० जनवरी २०२४ का दिन साक्थिम्गेन्न पान्जुम्भो युकेले कलाकार भेटघाट कार्यक्रम आयोजना गरेको छ ।

किरातहरुको महान चाड कक्फेवा तङनाम पर्वको अवसर पारेर किरात साम्यो साक्थिम्गेन पान्जुम्भो परिवारहरुको भेटघाट कार्यक्रम आयोजना गरिएको हो ।

सगरमाथा गोर्खा नेपालीज कम्युनिटी हलमा भएको कार्यक्रममा युकेका विभिन्न स्थानबाट किरात साम्यो साक्थिम्गेन पान्जुभोका कलाकार, अभिभावक किरात धर्मावलम्बी लगायत शुभचिन्तक महानुभावहरुको उपस्थिती रहेको थियो ।

विशेष गरी किरातीहरुको कक्फेक्वा तङनाम पर्वको अवसर पारेर लामो समयदेखि संस्थामा योगदान दिँदै आएका कलाकार र अभिभावक भेटघाट साथै सम्मानका लागि कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका उपाध्यक्ष तिलविक्रम लाओतीले मौलिक बाजा च्याब्रङ बजाएर उद्घाटन गरेका थिए । भने किरात साम्यो साक्थिम्गेन पान्जुम्भोका उपाध्यक्ष पर्वत राईले स्वागत मन्तव्य राखेका थिए ।

किरात साम्यो साक्थिम्गेन पान्जुम्भोमा आबद्व रहेर काम गर्ने कलाकारहरुलाई प्रमुख अतिथिको हस्तवाहुलीवाट खदा लगाएर सम्मान गरिएको थियो । कलाकारहरुमा प्रिया खिम्दिङ, पर्वत राई, हेमा लिम्बू, हाङसाङ पतङवा, उत्तर पतङवा, सिङलाहाङ पतङवा, इक्सा पतङवा, मुक्कुम खजुम, अनिता लिङदेन, बिक्रम ओख्रबु, श्रीजु राई, निराज माबोहाङ, मनि चोङवाङ, रोशन राई, हरी बोखिम, डा. रोशना थेबे, सि. के. आवाजोङ र मनकुमारी कन्दङवा पाहिम लगायत साक्थिम्गेन पान्जुम्भोका कलाकारहरुलाई सम्मान गरिएको हो ।

भेटघाट तथा सम्मान कार्यक्रममा किरात लिम्बुहरुको मौलिक नाच, माङलाङ, केलाङ, पालाम, हाक्पारे लगायत सांस्कृतिक प्रस्तुतीका साथै तरुल, भ्यागुरु, रोटी, तुलफूल खाएर कक्फेक्वा तङनाम पनि मनाइएको थियो ।

कार्यक्रममा किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका उपाध्यक्ष तथा किरात साम्यो साक्थिम्गेन पान्जुम्भोका सल्लाहकार राजेन्द्र खिम्दिङ, किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका सह कोषध्यक्ष तथा किरात साम्यो साक्थिङगेन्न पान्जुम्भोका सल्लाहकार केवाहाङ चेम्जोङ, नेपाली लोक गायक धनवीर साबाँ लगायतको विशेष आतिथ्य रहेको थियो ।

कार्यक्रममा विशेष अथितिद्वय पान्जुम्भोका सल्लाहकार राजेन्द्र खिम्दिङ र केवाहाङ चेम्जोङले शुभकामना मन्तव्य राख्दै, कक्फेवा तङनाम पर्वको विशेषता र साक्थिम्गेन कलाकारहरुलाई भावि दिनहरुमा कसरी सकृय गर्दै लैजाने, हाम्रो मौलिक कला, संस्कृति, धर्म, भाषा, लिपिलाई आउँदो पिढीमा कसरी बुझाउँदै लैजाने यसका लागि किरात साक्थिम्गेन पान्जुम्भोका कलाकारहरुको भूमिका कस्तो रहने ? यसमा आवश्यक सहयोग साथका लागि किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युके जुनसुकै परिस्थितिमा पनि तत्पर रहेको जानकारी गराउनु भएको थियो ।

किरात साम्यो साक्थिम्गेन पान्जुम्भो युकेका अध्यक्ष निर्मल पतङवाको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव ज्ञानु फुरुम्बो चरपेले सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर