राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द र सत्य धर्म मुचुल्काको दूरदर्शिता - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द र सत्य धर्म मुचुल्काको दूरदर्शिता

  • ज्ञानु केदेम मुक्साम

कुनै पनि राष्ट्रको गौरव तथा मर्यादा बढाउन उल्लेखनीय योगदान पु¥याउने महापुरुषहरु र राष्ट्रले विभूति घोषणा गरेको व्यक्तिहरु राष्ट्रिय विभूति हुन भनि बृहत नेपाली शब्द सागरले परिभाषित गरेको छ । यी परिभाषा अनुसार नेपाल सरकारले घोषणा गरेका राष्ट्रिय विभूतिहरु राजा जनक, सीता, गौतम बुद्ध, अंशुवर्मा, राम शाह, पृथ्वी नारायण शाह, अरनिको, अमरसिंह थापा, भीमसेन थापा, बलभद्र कुँवर, भानुभक्त आचार्य, मोतिराम भट्ट, त्रिभुवन शाह, शंखधर साख्वा, पासाङ ल्हामु सेर्पा र महागुरु फाल्गुनन्द लिङ्देन हुन् ।

उनीहरुले राष्ट्रको गौरव र मान मर्यादा बढाउन पु¥याएको अनेकौं योगदानहरु चर्चा परिचर्चा गर्न आवश्यक छ । को विभूतिले कुन विधामा रहेर के कति राष्ट्रका निमित्त योगदान दिएका छन् खोज अध्ययन् गर्न जरुरी छ । यसको खोज गर्ने अनेकौं पाटा छन् । तर, यस आलेखमा यहाँका विभूतिहरुको योगदानको चर्चा गर्न सम्भव भएनन् ।

त्यसैगरी तत्कालीन समयमा चलेको विभेदकारी र निरङ्कुश समाजमा समानता र सदभाव स्थापना गर्न, गराउन महागुरु फाल्गुनन्दज्यूको त्याग र देनको विषयमा खोज अध्ययन्, अनुसन्धान र विश्लेषण गर्ने पाटो अनेकौं छन् यसलाई पनि थाती राखेर मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्दज्यूको पहलमा स्थापना गरिएको सत्य धर्म मुचुल्काको दूरदर्शिता र हाम्रो बुझाईको विषयमा मात्र चर्चा गर्ने प्रयास गरिएको छ ।

माङ निङवारे माङ आबोङ, हाङ निङवारे हाङ आबोङ, योक निङवारे आमेक्लो भनि सिवाखाहुन दिनुहुने महान दार्शनिक किरात धर्म दर्शनका पुनः उत्थापक, महान समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको पहलमा सत्य धर्म मुचुल्का खडा गरिएको ९३ वर्ष पूरा भई आज बैशाख २४ गतेबाट ९४ वर्षमा प्रवेश गर्दै छ । यहीँ अवसरमा सत्य धर्म मुचुल्का स्थापना गरेको ऐतिहासिक दिनलाई स्मरण गर्दै हरेक वर्षझै आज पनि विविध कार्यक्रम आयोजना गरी समाज सुधार दिवस भव्य रुपले संसारभर मनाईदै छ ।

तत्कालीन समयमा लोपोन्मुख अवस्थामा पुगेको किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार र संस्कृतिलाई पुनः उत्थान गर्न र कुरीति कुसंस्कारमा रमाइरहेका समुदायलाई सत्मार्ग दर्शनमा डो¥याउन किरात धर्म दर्शनका पुनः उत्थापक, महान समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको किरात समुदायमा जन्म भएको थियो । सत् आहार, सत् विहार र सत् कर्म गर्नु भनि सिवाखाहुन दिनुहुने महागुरु फाल्गुनन्दज्यूको सत्य, शान्ति र अहिंसावादी दर्शनलाई पछिल्लो समय विश्वमा अनुसरण गर्न थालिएको छ । वहाँ सत्य, शान्ति र अहिंसाका सूत्रधारको रुपमा सबैमा पुज्य हुनु भएको छ । किरात धर्मावलम्बीहरुले वहाँलाई किरात धर्म दर्शन पुनः उत्थापक, महान समाज सुधारक मुहिङगुम अङसीमाङको रुपमा आस्था र श्रद्धा पोख्ने गर्दछन ।

महागुरुले समाज सुधारका लागि वि.स. १९८८ साल बैशाख २४ गते पान्थरको लब्रेकुटीमा तत्कालीन लिम्बुवानबासी गन्यमान्य सुब्बा, सुवाङगी, कारवारी, बुद्धिजीवीहरुलाई आमभेला बोलाएर सत्य धर्म मुचुल्का निर्माण गर्नु भएको थियो । समाज सुधार अभियानमा आजीवन लाग्नु भएका महागुरुलाई राज्यले जीवन भरी राजद्रोही, देशद्रोही र पूर्व लिम्बुवानको राजा हुन खोजेको आरोप लगाउँदै गिरफ्तार गर्ने र अनेकौं दुःख, पीडा दिने काम मात्र गरेको थियो । तर, वहाँको देहावसान भएको ६१ वर्षपछि राज्यले पनि वहाँलाई समाज सुधारकको रुपमा चिनेको छ । यसरी राज्यले चिनेपछि वहाँलाई वि.स. २०६६ मंसिर १६ गते नेपाल सरकारले महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूतिले सम्मानित गरेको छ ।

यसरी किरात समुदायमा तत्कालीन समयमा कायम रहेको कुरीति कुसंस्कारलाई हटाउन वि.स. १९४२ साल कार्तिक २५ गते आइतबारका दिन महागुरु फाल्गुनन्द लिङ्देन इलामको चुक्चिनाम्बामा जन्मनु भएको थियो । वहाँको जन्मदिनको अवसरमा किरात समुदायमा खुशीयालीका साथ रमझम गर्ने, शुभकामना आदानप्रदान गर्ने, धार्मिक सेवा र विविध कार्यक्रमहरु आयोजना गरी महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाउने चलन छ । महागुरुले निर्माण गरिदिनु भएको समाज सुधार दिवस र वहाँको जन्म दिनलाई थप रौनकता र व्यवहारिकता बनाउन किरात धार्मिक संस्थाहरुले वि. स. २०७१ साल बैशाख २४ गते किरात धार्मिक चाडपर्व घोषणा गरेको थियो । त्यसपछि सेवा र सभामा सिमित्त रहँदै आएको कार्यक्रमले पर्वको रुप लिएको हो ।

बढ्दो महागुरुको मार्गदर्शन

छरपस्टिएको र दिशाविहिन किरात धर्म दर्शनलाई निश्चित मार्ग देखाउँदै किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार संस्कृतिलाई पुनः उत्थान गर्नुभएकोले महागुरु फाल्गुनन्दलाई किरात धर्म दर्शनदाताको रुपमा श्रद्धा गरिन्छ । भने, तत्कालीन किरात समुदायमा चलेको कुरीति कुसंस्कारलाई हटाई समाज सुधार गर्नका लागि ७ बुद्धे सत्य धर्म मुचुल्का निर्माण कर्ता हुनुभएकोले समाज सुधारकको उपमा दिइएको छ । त्यसैगरी राष्ट्रले राष्ट्रिय विभूषणले सम्मानित गरेकोले राष्ट्रिय विभूतिको रुपमा पनि सबै माझ् पुज्य हुनुभएको छ ।

वहाँलाई विगतमा राज्यले पूर्व लिम्बुवानको राजा बन्न खोजेको र देशद्रोही काम गरेको आरोपमा धेरै नै दुःख, कष्ट दिएको इतिहास छ । त्यहीँ समयमा तत्कालीन किरात समाजले साँधु, खराने भनेर घृणा, अपहेलना गरेको भएपनि पछिल्लो समयमा सबैको आस्थाको धरोहर बनिन्नु भएको छ । वहाँले थालनी गरेको विश्व शान्ति तथा मानव एकताको मार्गदर्शनमा आज किरात समाज मात्र नभई संसारका सत्य, शान्ति, न्यायप्रेमी र अहिंसावादीहरु सबै लाम लाग्न थालेका छन् ।

समाजमा रहेको कुरीति र कुसस्कार हटाई सभ्य र शिक्षित समाज स्थापनाका लागि वहाँले देखाएको मार्गदर्शन पछिल्लो समय संसारभर फैलिँदै गएको छ । सत्य, शान्ति र अहिंसावादी महागुरुको ज्ञान र दर्शन विश्वव्यापी हुँदै गएको छ । तत्कालीन समयमा छोरा छोरीबीच विभेद रहेको संस्कार संस्कृतिमा समानता र सदभाव कायम गर्न वहाँलाई कम चुनौति पक्कै भएनन् । तर, पनि छोरी चेलीको सोतरीत खाने कुरीति कुसंस्कारलाई हटाउन अहोरात्र लागिपर्नु भयो । २१ औं शताब्दीमा चर्को रुपमा उठिरहेको मौलिक पहिचान र समानता समावेशिताको मूल मुद्दालाई महागुरुले २० औं शताब्दीमै उठान गर्नु भएको थियो । छोरा छोरीलाई समान व्यवहार गर्न मार्गदर्शन गराउनु भयो ।

मौलिक मातृभाषा, लिपि, संस्कार संस्कृतिलाई संरक्षण र प्रचारप्रसार गर्न सबैलाई प्रेरित गरिरहनु भयो । वहाँले सुरुवात गर्नु भएको पहिचान र समानताको आन्दोलन आज विश्वव्यापी हुँदै गर्दा महागुरु फाल्गुनन्द दूरदर्शी महान् व्यक्तित्वको रुपमा संसारभर कहलिँदै जानुभएको छ । पढ्न लेख्न पूर्ण प्रतिबन्द रहेको निरङ्कुश राणा शासनकालमा वहाँले मातृभाषा, लिपि पढ्ने र लेख्ने अभियान चलाउनु भयो । समाज सुधारको लागि आज भन्दा साढे ९ दशक अगावै निरङ्कुश राणाशासनलाई खुल्ला चुनौती दिँदै महागुरुले सत्य धर्म मुचुल्का निर्माण गर्नु भयो । महागुरुको जीवनकालमा निर्माण गरिएको ऐतिहासिक र महत्वपूर्ण दस्तावेजको रुपमा रहेको मुचुल्काले वहाँलाई राष्ट्रिय विभूति बन्न पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

यसरी समाज सुधारको महान अभियान लिएर अघि बढ्नु भएका महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का निर्माण गरेसँगै नेपालमा जनताका लागि बन्देज गरिएको शिक्षाको ज्योतिलाई व्यापक फैलाइदिनु भयो । वहाँले सत्य, शान्ति र अहिंसाको मूल मार्गदर्शनलाई अघि बढाउदै, मौलिक पहिचान, समानता र समावेशिताको आन्दोलनलाई सुरुवात गरिदिनु भयो । महागुरुले प्रारम्भ गर्नु भएको शान्तिवादी, अहिंसावादी, पहिचानवादी र समानतावादी अभियान पछिल्लो समयमा किरात धर्मावलम्बीहरुका लागि मात्र मार्गदर्शन बनेको छैन् ।

यी दर्शन विश्वव्यापीकरण भएकोले अब किरात समुदाय अर्थात फाल्गुनन्दमार्गीहरुले मात्र मान्छन्, मान्नु पर्छ र वहाँको मार्गदर्शन किरात समुदायका लागि मात्र हो उनीहरुले मात्र अनुसरण गर्नु पर्छ भन्ने संकुचित सोचाई र बुझाईबाट गैर किरात समुदायहरु फराकिलो सोचाई र बुझाईमा पुग्न जरुरी छ । महागुरु फाल्गुनन्द कुनै एक समुदायको मात्र हो र वहाँको मार्गदर्शन एक धार्मिक समुदायको लागि मात्र हो भन्ने गलत सोचाई र विभेदकारी नीतिबाट विशेषत राज्य पक्ष र सबै समुदायहरु मुक्त हुन आवश्यक छ ।

किरात धर्म दर्शनका पुनः उत्थापक, महान समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूले किरात धर्म दर्शनको उत्थान र संरक्षणका लागि पु¥याउनु भएको अतुलनीय देनहरुको अध्यायहरु अनेकौं छन् । वहाँले तत्कालीन हाम्रो समाज र राज्यले दिएको पीडा, कष्टहरुको सूचि पनि असंख्य छन् ।

मुचुल्काको दूरदर्शिता

२० औं शताब्दीका महान समाज सुधारक, किरात धर्म दर्शनका पुनः उत्थापक तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनज्यूको नेतृत्व र पहलमा साढे ९ दशक अगावै निर्माण गरिएको सत्य धर्म मुचुल्काको धार्मिक, व्यवहारिक पक्ष र दूरदर्शिताबारेमा बृहत बहस हुन जरुरी छ । पढ्ने, लेख्ने काम प्रतिबन्द लगाइएको तत्कालीन निरङ्कुश राणा शासनको समयमा जीवनलाई जोखिममा राखेर महागुरु फाल्गुनन्दले किन र कसका लागि यो मुचुल्का निर्माण गरिदिनु भएको थियो ? यस विषयमा पनि गहँन छलफल गर्ने ठाउँ छ । राज्य पक्षबाट राजद्रोही, देशद्रोही र पूर्व लिम्बुवानको राजा हुन खोजेको आरोप लाग्दै, गिरफ्तारीमा पर्दै, अनेकौं दुःख, पीडाहरु सहेर अघि बढ्दा आफ्ना समाजका दाजुभाईको अपहेलना र तिरस्कारहरु सामना गर्दै महागुरु फाल्गुनन्दज्यूले किन सत्य धर्म मुचुल्का निर्माण गर्न पहल गर्नु भयो ?

यसरी तत्कालीन समाजमा रहेको कुरीति कुसंस्कारलाई हटाउन ७ बुद्धे सत्य धर्म मुचुल्का निर्माण गर्न किन र कसका लागि अहोरात्र समर्पित हुुनु भयो आज गम्भीर खोज अध्ययन् र चिन्तनको विषय बनेको छ । तत्कालीन समयमा सत्य धर्म मुचुल्का लेख्न कति चुनौती थियो त्यो हामीले महसुस गर्न कठिन छ तर, त्यो समयमा पनि किन मुचुल्का लेखियो यसको जवाफ खोज्न र बुझ्न आवश्यक छ । यसको सही अर्थमा जवाफ खोजियो भने मात्र यसको महत्व, व्यवहारिकता र दूरदर्शिताको गहँन विषयमा प्रवेश गर्न सकिन्छ । नभए एक दिन हरेक वर्ष बैशाख २४ गते समाज सुधार दिवसको अवसरमा शुभकामना आदानप्रदान गरी सत्य धर्म मुचुल्का स्थापना गरिएको दिनको सम्झना गर्नुले मात्र औचित्य पुष्टि हुन कदापि सक्दैन् ।

मानव समाजलाई एकता, अहिंसा, समानता र मानवताको पक्षमा अघि बढ्न मार्ग निर्दिष्ट गरेको सत्य धर्म मुचुल्कामा छोरी चेलीको सोतरीत लिने प्रथा बन्द गरी छोरा छोरीमा समान व्यवहार गर्ने, माङसेवा (पूजापाठ) गर्दा जीव हत्या हिंसा नगर्ने, मासु मंस नखाने, मृतक सुतक बारनमा विविधता आएकोले ३ दिन बारन गरेर चौथों दिनदेखि खेतीपातिको काम गर्ने र १० औं दिनमा सुद्धाई गर्ने, मृतकलाई पिण्ड चढाउँदा मासु मंस नदिई शुद्ध फलफुल नैवेद्य चढाउने भनि उल्लेख गरिएको छ । यसरी नारी शसक्तिकरण, समावेशिता र समानताको चेत मुचुल्कामा प्रतिविम्बित गरिएको थियो ।

पछिल्लो समयमा सामाजिक, सांस्कृतिक तथा राजनीतिक अभियन्ताहरुबाट चर्काे बहसको रुपमा उठ्ने गरेको मातृभाषा शिक्षा र मौलिक पहिरनहरुको उत्पादन र प्रयोग सम्बन्धिको बहस पनि मुचुल्काले त्यहीँ समयमा नै उजागर गरेको थियो । माङसेवा (पूजापाठ) गर्नलाई माङहिम निर्माण, मौखिक परम्परामा रहेको मुन्धुमलाई लेख्य रुपमा सुरुवात गर्न, गराउन र सत्य, शान्ति, अहिंसा र शाकाहारी जीवन पद्धति अपनाउन सबैलाई मुचुल्काले अभिप्रेरित गरेको छ । त्यसैले विश्वमा यसको महिमा दिनानुदिन बढ्दो क्रममा छ ।

मुचुल्कालाई धार्मिक दृष्टिकोणले मात्र अध्ययन र व्याख्या गरिए अपूरो र अन्याय हुने छ । यसलाई धार्मिकता, व्यवहारिकता र वैज्ञानिकताको विधाबाट अध्ययन, अनुसन्धान र विश्लेषण गरिनु पर्दछ । कसैका लागि धार्मिक आचारसंहिताको रुपमा रहेको मुचुल्का कसैको व्यवहारिक जीवनयापनमा उपयोगी भइरहेको हुन सक्छ । किरात धर्म दर्शन अंगाल्नेको त मुचुल्का एउटा धार्मिक आचारसंहिता कै रुपमा स्थापित भएको छ । तर, किरात धर्मदर्शन भन्दा बाहेकका सत्य, शान्ति, अहिंसावादी, समानता, समावेशिता र पहिचान चाहने साथै आत्मनिर्भर हुन चाहनेका लागि मुचुल्का सुन्दर जीवनको मूल मार्गदर्शक बनेको छ । किन कि निरङ्कुश राणाशासनमा प्रतिबन्द लगाइएको मातृभाषा शिक्षा, लैंगिक समानता, मौलिक पहिरनको प्रयोग, आत्म निर्भर जीवनयापनको अभियान यहीँ मुचुल्काले थालनी गरेको थियो । राष्ट्रमा विकास निर्माण गर्नका लागि सबै जनता शिक्षित, सभ्य र चेतनशिल हुन अपरिहार्य रहेको मुचुल्काले जोड दिएको छ ।

त्यसैगरी समाजमा जुनसुकै कर्म संस्कार गरिएपनि प्रतिस्पर्धात्मक रुपमा फजूल खर्च गर्ने बानी हटाई आर्थिक मितव्ययिता अपनाउन पनि मुचुलकाले सबैलाई सचेत गराएको छ । पछिल्लो समय संसारमा समानता र पहिचानको मुद्दा पेचिलो रुपमा उठिरहेको छ । ढिलो चाडो विश्वका मुलुकहरुले समानता र पहिचानको मुद्दालाई सम्बोधन नगरी शान्ति र एकता स्थापित हुन असम्भव छ । त्यसैले महागुरुको समानताको दर्शनलाई अधिकांसले अवलम्बन गर्दै गइरहेको अवस्था छ । महागुरु फाल्गुनन्दले छोरी चेलीले पढ्नु लेख्नु हुँदैन, छोरी चेलीको सोतरीत सकेसम्म धेरै असुल्नु पर्छ भन्ने सोचाई र बुझाईले ग्रसित समाजमा साढे ९ दशक अगावै सत्य धर्म मुचुल्का निर्माण गरेर समानताको थालनी गर्नु भएको थियो । पछिल्लो समय वहाँको समानता र समावेशी दर्शन विश्वमा एक पेचिलो मुद्दाको रुपमा उठिरहेको छ, यो विषय आगामी समयमा थप सशक्त बनेर जाने छ ।

महागुरु फाल्गुनन्दको देहावसान भएको करिब ६ दशकपछि मात्र राज्यले वहाँलाई एक समाज सुधारकको रुपमा चिनेको थियोे । राज्यले चिनेपछि वि. स.२०६६ साल मंसिर १६ गते नेपाल सरकारले महागुरुलाई राष्ट्रिय विभूतिले सम्मानित गरेको हो । यसरी महागुरु फाल्गुनन्दलाई विभूति घोषणा गर्न राज्यलाई नैतिक दबाब दिने महागुरुको ऐतिहासिक र महत्वपूर्ण कार्य सत्य धर्म मुचुल्का निर्माण पनि हो । सायद, महागुरुको पहलमा सत्य धर्म मुचुल्का निर्माण नभएको भए आज वहाँ राष्ट्रिय विभूति पनि हुन सम्भव हुँदैन थियो र तत्कालीन समयमानै कुरीति कुसंस्कारमा रुमलिरहेको यो समाजको अस्तित्व आजसम्ममा कुन अवस्थामा पुग्ने थियो होला ।

तर, महागुरुले अनेकौं अप्ठेरा, कठिनाई र अभावहरुलाई सामना गरेर सत्य, शान्ति, अहिंसा र समानताको मार्ग दर्शकको रुपमा सत्य धर्म मुचुल्का स्थापना गर्नु भयो । यहीँ मुचुल्काको बढ्दो महिमा र दूरदर्शिताले अन्तत महागुरु फाल्गुनन्दलाई राज्यले राष्ट्रिय विभूतिले सम्मान गरेको छ । यहीँ मुचुल्काको महिमालाई गहिरो अध्ययन अनुसन्धान गरी यसले समाजमा पारेको सकरात्मक प्रभावलाई अन्दाज गरेर राज्यले महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूतिको विभूषणले सम्मान गरेका हुन ।

किरात धर्म दर्शनमा आस्था र विश्वास गर्नेहरु र अहिंसावादी दर्शन अनुसरण गर्नेहरुले महागुरु फाल्गुनन्दलाई किरात धर्म दर्शन पुनः उत्थापक, महान समाज सुधारक मुहिङगुम अङसीमाङ तथा सत्य, शान्ति र अहिंसावादी दर्शनका प्रणेताको रुपमा आस्था र श्रद्धा पोख्ने गर्दछन् । राज्यले देशको सम्मानित व्यक्तित्वको रुपमा स्विकारेर राष्ट्रिय विभूतिको उपाधिले सम्बोधन गरेको छ । भने, अधिकांसले समुदायले समाज सुधारकको रुपमा सम्मानित गरेका छन् । तर, एक पक्षले वहाँलाई साँधु, खराने, सत्यहाङमा नामले पनि सम्बोधन गरेका थिए आजसम्म पनि यहीँ उपनामले वहाँलाई चिनेका र पुकारेका छन् ।

यसरी अनेकौं उपनामले सम्बोधन गरिँदै आएको भएपनि पछिल्लो समयमा महागुरु फाल्गुनन्दको जीवन उपयोगी मार्ग दर्शनलाई अंगिकार गर्ने फाल्गुनन्दका अनुयायीहरु संसारभर बढ्दै गएका छन् । केहीँले महागुरुको जीवन दर्शनलाई नबुझेर वा पृथकपन देखिनलाई अपशब्दले सम्बोधन गरेको भएपनि वहाँको सत्य, शान्ति र अहिंसावादी दर्शनलाई अनुसरण गर्नेहरुको लाम दैनिक बढ्दोक्रममा रहेको छ ।

२० औं शताब्दीको निरङकुश एकात्मक राणा शासनकालमा लोपोन्मुख अवस्थामा छरपस्टिएको र दिशाविहिन किरात धर्म दर्शनलाई निश्चित मार्ग देखाउँदै किरात धर्म दर्शन, भाषा, लिपि, संस्कार संस्कृतिलाई पुनः उत्थान गरिदिनु हुने महागुरु फाल्गुनन्दले तत्कालीन किरात समुदायमा चलेको कुरीति कुसंस्कारलाई हटाउन वि. स १९८८ साल बैशाख २४ गते पान्थरको लब्रेकुटीमा १० लिम्बुवान १७ थुमका गन्यमान्य, सुब्बा, सुभाङगी, तुतु तुम्याहाङहरुको भेला गराई समाज सुधार गर्न ७ बुद्धे सत्य धर्म मुचुल्का निर्माण गर्नुभएको ऐतिहासिक दिन ९४ औं समाज सुधार दिवसको पावन अवसरमा सबै पाठकजनलाई हार्दिक शुभकामना ।

सम्बन्धित खवर