माङसेबुङ गाउँपालिका वडा नम्बर १ को समग्र विकास निर्माणको सम्भावना र चुनौती साथै नागरिकहरुको सेवा सुविधाको विषयमा वडा अध्यक्ष भुपाल योङहाङसँग माङसेबुङ न्युजले गरेको कुराकानी
तपाई जनप्रतिनिधिको रुपमा वडा अध्यक्ष निर्वाचित भएर आउनु भएको पनि दुई वर्ष पूरा भयो, यो दुई वर्ष पूरा भईरहँदा कस्तो महसुस गरिरहनु भएको छ ?
–खासगरी म वडाध्यक्षमा निर्वाचित भई जनप्रतिनिधि भएर आइसकेपछि महसुस भन्दा पनि अलिक बढी जिम्मेवारी बोध हुँदो रहेछ । माङसेबुङ १ मा करिब ६ सय घरधुरी संख्या छ, उनीहरुको अविभावकत्वको रुपमा प्रस्तुत हुँदा जिम्मेवारीको रुपमा जिम्मेवार भएको महसुस गरिरहेको छु । र, त्यहीँ अनुसारको भूमिका अहिलेसम्म निर्वाह गरिरहेको छु ।
यो दूई बर्षमा विकास निमार्णको आधारमा विगत र अहिले तुलना गर्दा आफूलाई कहाँ पाउनु हुन्छ ?
–खासगरी विगतमा म भन्दा अगाडि अर्को साथी जनप्रतिनिधि भइरहेको र उहाँले गर्नुभएको कामलाई मुल्याङकन गर्नु भन्दा पनि मैले निर्वाचन हुनु भन्दा अगाडि माङसेबुङ १, बासी जनताहरुसँग चुनावीक्रममा जे जे कुराहरुमा प्रतिवद्धताहरु व्यक्त गरेको थिएँ । त्यो कुराहरुलाई पूरा गर्ने फेजमा छु । २ वर्षको अवधिमा मैले धेरै भन्दा धेरै मेरो टार्गेट अनुसारको काम गरिरहेको छु ।
निर्वाचनको समयमा जनता सामू गर्नु भएका प्रतिबद्धताहरु कति पूरा गर्नु भएको छ ?
–मैले निर्वाचनको समयमा जनतासामू व्यक्त गरेका प्रतिबद्धताहरु यो २ वर्षको अवधिमा मैलै निरन्तरता दिइरहेको छु र यसलाई पूरा गर्ने कोसिस गरिरहेको छु ।
तपाईको वडामा शिक्षा, स्वास्थ्य र खानेपानीको अवस्था के, कस्तो छ ?
–हामीलाई विकास भनेको चाहिँ पूर्वाधारहरु भनौं जस्तै कि बाटो, सडकहरु आदि इत्यादी भन्ने मात्र बुझाई छ । खासगरी यहाँको शिक्षाको कुरा गर्दा, यसलाई गुणस्तरीय शिक्षाको रुपमा हामीले सामुदायिक विद्यालयहरुको विकास गर्नुपर्छ भनेर ठोस केहीँ कार्यक्रमहरु गर्ने प्रयत्नहरु गरिराखेका छौं । यो आफ्नो वडाको तर्फबाट र वडा भन्दा बाहिर गैर सरकारी संघ संस्थहरुसँग समन्वय गरेर पनि केहीँ कामहरु गर्ने प्रयत्न गरिरहेका छौं । खासगरी शिक्षाको कुरा गर्दा सामुदायिक विद्यालयहरु गरीबको छोराछोरी मात्र पढ्ने खालको भएको छ । निजी शिक्षण संस्थाहरुमा चाहिँ अलिक हुने खानेको परिवार, छोरा छोरी पढ्ने खालको भएको छ । यसलाई एक रुपतामा ल्याउनु पर्छ भनेर केहीँ विद्यालयहरुमा हामीले कार्यक्रमहरु गर्न थालेका छौं । जस्तै हामीले सानो शिशु कक्षाहरुलाई अङग्रेजी माध्यममा रुपान्तरण गर्ने प्रयत्नहरु थालेका छौं । पूर्वाधारहरु विकास गर्ने कुरा कोशिस गरिराखेका छौं ।
त्यसपछि हामीले स्वास्थ्यको कुरामा सकेसम्म हाम्रो वडाले स्थानीय सरकाले गर्न सक्ने स्वास्थ्य क्षेत्रमा के के छ, हाम्रो कामहरु स्वास्थ्यको सुविधा सकेसम्म छिटो छरितो पुर्याउने कोशिस गरिरहेका छौं । यो अपेक्षा गरे अनुसार गर्न सकिरहेका छैनौं । अहिलेनै हामीसँग अस्पताल निर्माण गर्ने स्रोत साधनहरु छैन् । भएकाहरुलाई नै व्यवस्थित गर्ने कोशिस गरिरहेका छौं । माङसेबुङ १ मा त बर्थिङ सेन्टर छैन् तर, बनाउनु पर्छ कि भनेर छलफल गरिरहेका छौं । तर अहिलेको आर्थिक भारहरुलाई हेर्दा सम्भव देखिन्दैन् ।
खानेपानीको कुरा गर्दा विगत दुई वटा आर्थिक वर्षको अन्तिम फेजमा छौं । यो चालु आर्थिक वर्षमा हामीले धेरै भन्दा धेरै खानेपानीलाई नै टार्गेट गरेका छौं । सम्भवतः अर्को आर्थिक वर्षसम्ममा माङसेबुङ १ भरि स्वच्छ खानेपानीको समस्या हुँदैन भन्ने लाग्छ । मोटा मोटी सबै टोलहरुमा पुर्याएका छौं । तर, केहीँ टोलहरुमा बाँकी छ । त्यहाँ यो फेजमा पूरा गर्ने तयारी गरिरहेका छौं ।
विकासका पूर्वाधारहरु निर्माण गर्ने काममा यो २ वर्षमा जनताले महसुस गर्ने गरी कामहरु के के भए ?
–खासगरी हामीले बुझ्ने र जनताको बझाई चाहिँ के हुन्छ भने, पूर्वाधार विकासमा पनि सडक विस्तार अलि महत्वका साथ उठ्दो रहेछ । यसमा हामीले धेरै ठूलो गर्छौं भन्ने छैन्, चुनावी क्रममा जनतासामु मैले भनेको थिए । सबै बाटो पिच गर्न सक्ने हाम्रो हैसियत छैन् । त्यो गर्ने प्रदेश सरकार, संघीय सरकारसँग माग गरेर गर्ने कोशिस गर्ने छौं । अहिले भएका सडकहरुलाई चाहिँ अलवेदर चल्न सक्ने बनाउने प्रतिबद्धता गरेको थिए । र धेरै सडकहरुलाई चाहिँ हिउँद बर्ख चल्ने टाइपको बनाइसकेका छौं । र, यो आगामी आर्थिक वर्षहरुमा पनि पूरा गर्ने जमर्कोमा छौं । स–साना बाटोहरुलाई पनिअलवेदर बनाउने लक्ष्य थियो, त्यो हामी पूरा गर्दैछौं ।
तपाईको वडामा आउने बजेटको पर्याप्तता कस्तो छ ?
–वडामा आउने बजेट पर्याप्तता छैन् । हामीले अपेक्षा गरे अनुसार जनताले अपेक्षा गरे अनुसार यो पर्याप्त बजेट होइन् ।
तपाईको वडामा कुन कुन महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यहरु छन ? तिनीहरुको विकास र प्रवद्र्धनमा के कस्ता कामहरु गर्नुभएको छ ?
–हाम्रो वडामा चर्चामा रहेको प्रमुख धार्मिक पर्यटकीयस्थल भनेको गुजुरमुखी धाम हो । जुन चाहिँ एकदमै चर्चा भएको र सबैलाई थाहाभएको हो । र त्यसपछि हाम्रो नाक्वालुङ ढुङ्गा हो । तर, नाक्वालुङलाई वडाको बजेटबाट सम्बोधन गर्न सकिरहेको छैनौं । त्यसपछि अर्को घोर्ले भिर छ । हामीले घोर्ले भिरलाई पनि प्रवद्र्धन गर्नुपर्छ भनेर छलफल गरेका छौं । तर हामीलाई आउने वडा सिलिङबाट केहीँ गर्न सक्ने अवस्था छैन् । तर, प्रदेश सरकार र संघीय सरकारलाई हार गुहार गरेर सम्बोधन गर्ने प्रयासहरु गरिरहेका छौं । केहीँ सम्बोधन भएको छ । र कामहरु भइराखेका छन् । गत सालपनि गजुरमुखीधाममा बजेट आएको थियो र धेरै राम्रा कामहरु गरेका छौं । र यो वर्ष पनि कामहरु भइरहेको छ ।
अन्त्यमा तपाईको वडावासी जनतालाई के भन्न चाहानु हुन्छ ?
–वडा नं. १ बासी आमजनतालाई के भन्न चाहन्छु भने, खासगरी अब हाम्रो सडकहरुलाई श्रम गरेर भएपनि सुरक्षा गरौं । वडा अध्यक्षको हैसियतले म आफू त लाग्ने भइहाले सम्पूर्ण वडा बासीलाई पनि लाग्न अनुरोध गर्दछु । त्यसपछि सेवा प्रवाहमा गुनासो केहीँ छ भने सिधैं म कहाँ आएर भन्नुहुन अनुरोध गर्दछु र सबैमा आभार प्रकट गर्दछु ।