विकास निर्माणका लागि राजनीतिक खिचातानी गर्नुहुँदैन - Mangsebung News
  • बिहिबार, चैत ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विकास निर्माणका लागि राजनीतिक खिचातानी गर्नुहुँदैन

माङसेबुङ गाउँपालिका वडा नम्बर ३ को समग्र विकास निर्माणको सम्भावना र चुनौती साथै नागरिकहरुको सेवा सुविधाको विषयमा वडा अध्यक्ष जनम राई (लछुमन)सँग माङसेबुङ न्युजले गरेको कुराकानी :

तपाई जनप्रतिनिधिको रुपमा वडा अध्यक्ष निर्वाचित भएर आउनु भएको पनि दुई वर्ष पूरा भयो, यो दुई वर्ष पूरा भइरहँदा कस्तो महसुस गरिरहनु भएको छ ?

–निर्वाचित भएर आइसकेपछि, जनताको काम गर्ने सन्दर्भमा जनताका विभिन्न खालका समस्याहरु छन् । ति समस्याहरुलाई सहज ढङ्गले समाधान गर्ने प्रयत्न गरिरहेको छु । त्यसैले मलाई अलि सहज र रमाइलै लागिरहेको हुनुपर्छ ।

यो दूई वर्षमा विकास निमार्णका गतिविधिका आधारमा विगत र अहिले तुलना गर्दा आफूलाई कहाँ पाउनु हुन्छ ?

–सबभन्दा पहिला त बजेटको कुरा हो । म भन्दा अगाडिको हाम्रो पूर्व वडाअध्यक्षको कार्यकाल पनि मेरो विचारमा राम्रै रहेको थियो । किनभने, उहाँको कार्यकालमा अलि बढी नै वडा सिलिङ बजेट आएको पाउँथ्यौं । कहिलेकाहिँ हामीलाई पनि निमन्त्रणा गर्नुहुन्थ्यो र वडा सिलिङ बजेटको विषयमा छलफल हुन्थ्यो । र उहाँले धेरै कामहरु सुरुवात गर्नुभएको थियो । म आएपछि मेरो पहिलो कार्यकालमा चाहिँ वडा सिलिङ बजेट र पालिका सिलिङ गरेर मैले एक करोड बजेट बराबरीको वडामा चलाएको थिए । त्यतिखेर धेरै कामहरु गरे नै भन्ने मलाई लाग्छ । पहिलाको सरकारले थालनी गरेको कामहरु पूरा गर्ने प्रयत्न अझै पनि गरिराखेको छु । मैले नयाँ पृथकखालका योजनाहरु सम्पन्न गर्छु भन्ने त धेरै सोचेको छैन् । यद्यपी अब केहीँ योजना छन् । तर धेरै चाहिँ पूरानो वडा अध्यक्षबाट थालिएका अधुरा कामहरु पूरा गर्ने प्रयत्न गरिराखेको छु । र मलाई लाग्छ मेरो बाँकी रहेको तीनवर्षे कार्यकाल भरिमा ३ नम्बर वडालाई समृद्धिको दिशामा लैजान सक्छु भन्ने आशा गरेको छु ।

निर्वाचनको समयमा जनता सामू गर्नु भएका प्रतिबद्धताहरु कति पुरा गर्नु भएको छ ?

होइन जनताले आशा गरेको काम सबै त पूरा गर्न नसकुला, तर जनतामा भएका समस्याको समाधान गर्ने प्रयत्न चाहिँ मैले हरेक पल गरिराखेको छु । किनकी निर्वाचित भएर आइसके पछि म प्राय घरमा नरहेर जनताकै घरमा हुन्छु । यो साविक बाँझोे र इभाङको वडा मिलेर बनेको ३ नम्बर वडा भौगोलिक दृष्टिकोणमा अत्यन्तै विकट र सेवा कार्यालय चतुरेमा भएको हुनाले, तल्लो भेग साविक बाँझो ८ नम्वरका समुदायलाई अत्यन्तै कठिन थियो । जनताले वडाबाट पाइने सेवा सुविधा लिनका निम्ति अत्यन्तै कष्ट भोग्नु परेको थियो । मैले निर्वाचनमा होमिन्ंदै गर्दा तल्लो भेगका लागि शाखा कार्यालय स्थापना गर्छु भनेर प्रतिवद्धता गरेको थिएँ । त्यो प्रतिवद्धता मैले म निर्वाचित भएर आएको पहिलो कार्यपालिकाको बैठकमै प्रस्ताव राखेर स्विकृत गरेर शाखा कार्यालय सञ्चालन गरेको छु । त्यसले गर्दा, मलाई लाग्छ । तल्लो भेगका जनताहरू सेवा प्रवाहको निम्ति त्यति धेरै अप्ठ्यारो परे जस्तो लाग्दैन ।

तपाईको वडामा शिक्षा, स्वास्थ्य र खानेपानीको अवस्था के, कस्तो छ ?

–अब स्वास्थ्य भन्ने हो भने, यो साविकको इभाङ ६, ७ र ८ भनेको यो ३ नम्बर वडाको आधि क्षेत्र पर्छ । यो क्षेत्रमा चाहिँ स्वास्थ्य अवस्था शुन्य छ । यो क्षेत्रमा जहाँनिर वडा कार्यालय छ । यो क्षेत्रमा स्वास्थ्य कार्यालय छैन् । साविकको बाँझो ८ र ७ जहाँनिर चाहिँ आदिपूर आधारभूत स्वास्थ्य इकाइ भनेर हामी खलङ्गेमा चलाउँदैछौं । र आत्मानन्द आधारभूत स्वास्थ्य इकाइ भनेर मनिपुरमा चलाउँदैछौं । आत्मानन्द आधारभूत स्वास्थ्य इकाइलाई चाहिँ अस्पतालकै रुपमा बनाउन खोजिरहेका छौं । र अस्पतालको निम्ति जग्गा पनि प्राप्त भइसकेको छ । त्यो एउटा अस्पताल निर्माण हुने प्रकृयामै छ । त्यसो हँुंदा, स्वास्थ्य अवस्था त्यति राम्रो चाहिँ छैन् । तर, पनि तल्लो भेगका हाम्रो स्वास्थ्य कर्मचारीहरुले यतापनि सेवा दिइरहनुभएको छ ।

स्वास्थ्य चौकीको लागि पहल भइरहेको छ । यो चतुरे क्षेत्रमा हाम्रो अग्रज व्यक्तित्व टेकवीर वान्तवाले स्वास्थ्यको नाममा धेरै अगाडि ४३ सालतिर दुई रोपनी जग्गापास गरिदिनु भएको रहेछ । त्यो जग्गा अहिलेसम्म सरकारको नाममा बाँझै छ । त्यहाँ अहिलेसम्म स्वास्थ्य भवन बन्न सकेको छैन् । त्यहाँ भवन बनाउने तयारीमा लागिराखेका छौं । म भर्खरै पनि प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय पुगेर योजना टिपाएर आएको छु । त्यसो हुँदा, यो माथिल्लो भेगका लागि हुन्छ । फेरि तल्लो भेगका लागि (साविक इभाङ ७ र पनि सोच्नुपर्छ भनेर सामुदायिक भवनको रुपमा निर्माण गरेर स्वास्थ्य त्यहीँ चलाउँ भन्ने पनि सोच राखेको छु र त्यो पनि मैले प्रदेश कार्यालयमा सिफारिस गरेको छु । र अहिलेको प्रदेश सरकारले केहीँ न केहीँ सहयोग गर्छ भन्ने आशा गरेको छु ।

शिक्षाको सन्र्दभमा हाम्रो वडामा दुई वटा मा.वि. सहित ७ वटा विद्यालय छ । शिक्षाको अवस्था भन्ने हो भने, दुई वटा मा.वि. राम्रै चलिरहेको छ । तर, हामीले हेर्ने भनेको कक्षा ८ र १० को नतिजा हो । क्भ्भ् को नतिजा हेर्दा त्यति राम्रो प्रगति भएको देखिन्न । पढाईमा गुणस्तर कसरी पुगिरहेको छैन् ? शिक्षकको मेनपावर पनि लगभग पुगेको देख्छु । तर के कारणले नतिजामा गुणस्तर नआएको हो त्यसमा हामीले ध्यानाकर्षण गराउँदै छौं । अब, भन्दा दोषी जस्तो हुने तर, पनि शिक्षामा जुन तरिकाको एउटा गुणस्तर हुनुपथ्र्यो त्यो राज्यबाटै अलिभइरहेको छैन् जस्तो लाग्छ । सुधारको लागि पहल गर्नैपर्छ । यहाँ भित्र भएका सम्पूर्ण प्राविधिक सामग्री जुटाउन अभाव भएर हो या सबै स्रोत साधनहरू नजुटेर पठनपाठनमा कमभएको या के हो ? यसको विषयमा अलि बढी खोजी गर्नुपर्छ भन्ने नै मलाई लाग्छ ।

खानेपानी हाम्रो ३ नम्बर वडामा साविक बाँझोको तल्लो भेगका समुदायलाई स्वच्छ खानेपानी दिन सकिरहेको छैनौं । किनभने यो दमक–रबि मोटर बाटो (फाल्गुनन्द मार्ग) को कारणले गर्दा खानेपानी मुहानतिर भल पसेर धमिलो पानी बग्ने अवस्था छ । त्यसलाई सुधार गर्न यो बाटो किलियर हुनुपर्छ भन्ने मेरो बुझाई हो । यो बाटो किलियर भयो भने, मुहान सफा हुन्छ । होइन भने, यो बाटोमा हिउँद भर धूलो हुन्छ । त्यो धूलो पानी आउने वित्तिकै खानेपानीको मुहानतिर पस्छ । त्यसले गर्दा स्वच्छ पिउने पानीको समस्या छ ।

अब यतापट्टी भन्ने हो भने, अस्ति ३ वर्ष अगाडिको कात्तिके बाढीले धेरै खानेपानीको मुहानहरु ध्वस्त बनाइ दियो । त्यो कारणले मेरो पहिलो कार्यकालमानै वडा सिलिङबाट विग्रेको खानेपानीको मुहान नै बनाउने गरी मैले १२ वटा खानेपानी योजनाको मुहान बनाउने काम गरे, तर पूरा भइसकेको छैन् । र अहिले भर्खरै चतुरे, नवमी, लाक्ताप्पा, ढुङ्गे र साँबाटार क्षेत्रलाई समेट्ने गरेर रासिङ्गे खानेपानी मुहान गरेर यसलाई माथि नवमी डाँडा ट्याङ्की बनाएर तलको पानी लिफ्टीङ गरेर माथि ल्याएर यो पानी चाहिँ यहाँको समुदायले खानुपर्छ भन्ने सोचेर एउटा प्रपोजल चाहिँ मैले प्रदेश सरकारलाई दिएको छु ।

विकासका पूर्वाधारहरु निर्माण गर्ने काममा यो २ वर्षमा जनताले महसुस गर्ने गरी कामहरु के के भए ?

–अब, त्यस्तो पृथक त मैले गरेको छैन् । म आफैं प्रशंसित हुने खालको कार्यक्रम केहीँ पनि गर्ने सकेको छैन् । तर गर्ने तयारीमा छु । जस्तो यो माध्यमिक विद्यालयको माथिल्लो तल्ला भवन हामी आइसकेपछि जोडेका छौं । केहीँ बाटोहरु नयाँ निर्माण गरेका छौं । अब जनताले देख्ने गरी मलाई लाग्छ तल्लो भेगका लागि वडाको शाखा कार्यालय चलाएका छौं । सामुदायिक भवनको नाम गरेर यो एउटा भवन बनाएका छौं जहाँ हामीले वडा कार्यालय सञ्चालन गरिराखेको छौं । जतिखेर म आउनुभन्दा अगाडि भाडा तिरेर वडा कार्यालय सञ्चालन गर्दै आइरहेका थियौं ।

गत साल चाहिँ मैले एउटा अलि पृथक कार्यक्रम गरे । सफ्टवेयरको कार्यक्रममा अलिकति पैसा राखेको हुनाले क्भ्भ् गरेका ५४ जना विद्यार्थीहरुलाई मैले कम्प्यूटर डिप्लोमा पढाएको थिएँ । अनि सात जना शिक्षक सेवा आयोग पढाएको थिए । ति मध्येबाट २ जना अहिले स्थाइ शिक्षक भइसकेका छन् । मलाई लाग्छ थोरै टेवा दिए कि जस्तो लाग्छ उहाँहरुले कसरी बुझ्नु भएको छ, उहाँहरुको ठाउँमा छ । तर, यो वर्ष भने मैले त्यस्तो राम्रो कार्यक्रम गर्न सकेको छैन् । किनभने, बजेट अत्यन्तै कम थियो । वडा सिलिङ नै तीस लाख मात्रै थियो । दश लाख जति बाटो सरसफाईमा सकिगयो । अनि त्यहाँबाट बचेको बीस लाख रुपैयाँ पैसाबाट लक्षित समूहलाई भनेर पाँच लाख रुपैया दिएका छौं । अन्य पैसाले खासै ठूलो काम गर्न सकेका छैनौं । नयाँ बाटो तल वीरेन्द्र चौक जाने एउटा नयाँ ट्रयाक जोडेका छौं ।

तपाईको वडामा कुनकुन महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यहरु छन ? तिनीहरुको विकास र प्रवद्र्धनमा के कस्ता कामहरु गर्नुभएको छ ?

–वडा नम्बर ३ मा भन्ने हो भने, धार्मिक पर्यटकीयस्थल खासै नभएको भन्दा पनि हाम्रै वडामा हाम्रो वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङदेन सेइङज्यूले ध्यान बसेर ज्ञानप्राप्त गर्नुभएको भूमि फुलुङगी (गुफा डाँडा) हाम्रै वडामा पर्छ । त्यसलाई विकास गर्नको निम्ति गुरुज्यूले आफ्नो एउटा भिजन हामीलाई सुनाई राख्नु भएको छ । त्यहीँ अनुसारले हामीले त्यहाँ पूर्वाधारहरु बनाउनुपर्छ भनेर लागेका छौं । म आफै पनि लागेको छु । तर, ३ वर्ष अगाडि आएको कात्तिकको बाढीले त्यो गुफा डाँडालाईनै तहसनहस बनाउन खोज्यो । देउमाई खोलाको बाढीले त्यहाँ निर्माण भएको शौचालय सबै भत्काउन खोजिरहेको थियो । तर शौभाग्यले बचेको छ । त्यसलाई संरक्षण गर्नको निम्ति मैले प्रदेश सरकारबाट १५ लाख र ७ लाख गरेर २२ लाख रुपैयाँ बजेट ल्याएर त्यहाँ ग्याविङ लगाउने कामहरू भएको छ । अहिले भर्खरै पनि प्रदेश सरकारलाई मैले एक करोड बजेट मागेको छु । त्यो पाउँछु कि पाउँदिन फरक कुरा हो । तर पाएछु भने, भौतिक पूर्वाधार निर्माण र त्यस क्षेत्रलाई संरक्षण गरौं भन्ने कुरामा म लागि रहेको छु ।

यसैगरी यहाँ तलतिर साविक इभाङ ७ को गणेश भञ्ज्याङमा गणेश थान छ । हेर्दा ठ्याक्कै हात्ती आकारको ढुङ्गा छ । त्यसको संरक्षण गर्नुपर्छ भन्ने हेतुले र त्यहाँ बाटो चाहिन्छ भनेर यसपाली मैले योजना लाएर बाटो पुर्याएको छु । अब गाडीको बाटो पुर्याउन त असम्भव होला तर पनि अलिकति कोसिस गरियो भने सम्भव छ । यसको संरक्षण गर्ने योजनामा छु । त्यहाँ खासगरी लिम्बू समुदायले पूजा गर्ने गर्छन् । अनि रतुवा बेशीखोलामा सामाने मेला लाग्छ । यो सामाने भनेको चाहिँ के हो ? भनेर सोध्दा साथीहरुले सामानसिंको नाम ल्याए । सामानसिंको अलिकति इतिहास मलाई सुनाउनु पर्यो । त्यसो भयो भने म त्यहाँ सामानसिंको शालिक बनाइदिन्छु भनेर भनेको थिए तर, त्यहाँ केहीँ बिवाद भएकोले त्यो काम पनि हुन सकिरहेको छैन् ।

अनि अर्को हाम्रोमा थाङसेबुङ भन्ने छ । जुन साविक बाँझो ७ मा पर्छ । जुन चाहिँ गुरुआमा साँबा पवित्रहाङमा लिङदेनज्यूको जन्मस्थल हो । त्यहाँको लागि पनि कार्यक्रमहरु बनिरहेको छ । मैले सोचिराखेको छु । त्यहाँको व्यवस्थापन समितिका अध्यक्ष टंक साँबा हुनुहुन्छ । उहाँले प्रस्तावहरु गरिराख्नु भएको छ । बिजुलीको पोलहरु जहाँ चाहिँ पूरै रिङरोड जस्तो गरेर वत्ति बाल्ने प्लान छ भन्दै हुनुहुन्थ्यो । त्यसको लागि मैले सोचिराखेको छु । त्यहाँ शौचालय निर्माण गर्नको लागि बजेट हालेको थिए । त्यो अहिले निर्माण भइसकेको छ ।

अन्त्यमा तपाईको वडा वासी जनतालाई के भन्न चाहनु हुन्छ ?

–सबै भन्दा पहिले वडा नं. ३ बासी जनतालाई के भन्न चाहन्छु भने, साविक इभाङ र बाँझो मिलेर बनेको यो ३ नम्बर वडा आफैंमा भौगोलिक विकटता भएता पनि हामी समग्र वडा बासीहरु विकास निर्माणको सवालमा एक हुनुपर्दछ । हामी राजनीतिक खिचातानी गर्नुहुँदैन । एकले अकोलाई दोषारोपण गर्नु हुँदैन । पार्टी, जाति र नातामा मात्रै पनि लाग्नु हुँदैन । समग्र विकासको हितको निम्ति सबै हामी भाइचारा सम्बन्ध लिएर अगाडि बढ्नुपर्छ । म यहाँको जनताको निम्ति विकास र समृद्धिको लागि निरन्तर उहाँहरुको साथमा रहनेछु । र जनताले पनि मलाई त्यतिकै साथ दिनुपर्छ भन्ने आशा गर्दछु ।

सम्बन्धित खवर