माङसेबुङमा ३२ करोड ७२ लाख बजेट सार्वजनिक - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा ३२ करोड ७२ लाख बजेट सार्वजनिक

माङसेबुङ÷इलामको माङसेबुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि ३२ करोड ७२ लाख ९ हजारको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाको कार्यालय इभाङमा गत असार १० गते आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष साथै बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुनिता सुब्बाले आगामी आर्थिक वर्षका लागि बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन ।

उपाध्यक्ष सुब्बाले आगामी एक वर्षका लागि ३२ करोड ७२ लाख ९ हजार बराबरको बजेट सार्वजनिक गरेकी हुन् । जसमध्ये चालु खर्चमा ५ करोड ३० लाख, सशर्त अनुदानमा १५ करोड ८६ लाख, र पुंजीगत खर्चमा १५ करोड ३८ लाख ३२ हजार बिनियोजन गरिएको जनाइएको छ ।

आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट संघीय सरकार ८ करोड ६१ लाख, प्रदेश सरकार ६९ लाख ७९ हजार बित्तिय समानिकरण अनुदान प्राप्त भएको छ । त्यस्तै संघीय सरकारका तर्फबाट राजस्व बाँडफाँडमा ६ करोड ६६ लाख र प्रदेश सरकार ६१ लाख ३० हजार प्राप्त भएको छ ।

गाउँपालिकाले आन्तरिक स्रोतबाट ५० लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ । सो अवधिमा नेपाल सरकारका तर्फबाट ११ करोड १४ लाख शशर्त अनुदान प्राप्त हुनेछ । त्यस्तै सामाजिक सुरक्षा कार्यक्रम तर्फ ४ करोड र गत आर्थिक वर्षको मौज्दात तर्फ ५० लाख आम्दानीका रुपमा राखिएको जनाइएको छ । त्यसैगरी कूल बजेटमध्ये चालु खर्च तर्फ ७ करोड १० लाख र पूँजीगत खर्चतर्फ १० करोड ४८ लाख ९ हजार प्रस्ताव गरिएको छ ।

इलाममा संघीय बजेट
संघीय सरकारले आर्थिक वर्ष २०७६÷०७७ को लागि इलाम जिल्लाका १० स्थानीय तहलाई २ अर्ब ७६ करोड २६ लाख विनियोजन गरेको छ । यसरी विनियोजन गरिएको रकममध्ये इलामको इलाम नगरपालिकामा ४१ करोड ८५ लाख, सूर्याेदय नगरपालिकामा ४४ करोड ६४ लाख, देउमाई नगरपालिकामा ३४ करोड ३६ लाख, माई नगरपालिकामा ३६ करोड ६४ लाख विनियोजन गरिएको छ ।

त्यसैगरी माइजोगमाई गाउ“पालिकामा २५ करोड ०४ लाख, फाक्फेकथुम गाउ“पालिकामा २४ करोड २४ लाख, रोङ गाउ“पालिकामा २० करोड १९ लाख, चुलाचुली गाउ“पालिकामा २० करोड ४२ लाख, माङसेबुङ गाउ“पालिकामा १९ करोड ७५ लाख र सन्दकपुर गाउ“पालिकामा १९ करोड १३ लाख बजेट संघीय सरकारबाट विनियोजन भएको छ ।
प्रदेश १ को बजेट ४२ अर्ब २० करोड सार्वजनिक

प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ४२ अर्ब २० करोडको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोले गत असार १ गते प्रदेशसभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट पेश गरेका हुन् ।

चालु खर्चतर्फ १८ अर्ब २० करोड ४ लाख १२ हजार र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार विनियोजन गरिएको छ । अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार छुट्याएको जनाइएको छ ।
बजेटको स्रोत मध्ये आन्तरिक राजश्व ३ अर्ब ८६ करोड उठाउने लक्ष्य छ भने राजश्व बाँडफाँटबाट प्राप्त हुने १० अर्ब ५२ करोड, अनुदानबाट २१ अर्ब २१ करोड व्यहोरिनेछ भने चालु आर्थिक वर्षको खर्च हुन नसकेको बजेट ६ अर्ब ६१ करोड रहेको जनाइएको छ ।

माङसेबुङको नीति तथा कार्यक्रम
माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङ्गोको अध्यक्षतामा बसेको पाँचौ गाउँसभाले गाउँपालिकाको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिकाका उपाध्यक्ष साथै बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुनिता सुब्बाद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा गाउँसभाका सदस्यहरुले आआफ्नो भनाइ राखेर छलफलपछि पारित गरेको हो ।

गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनबाट सुशासन, विकास र समृद्धिको दरिलो आधारशिला निर्माण भई आर्थिक वृद्धि गर्ने क्षमता, गरीबी निवारण, रोजगारीका अवसर तथा नागरिकको जीवनस्तरमा त्यसको प्रतिफल देखिन थालेको जनाइएको छ । गाउँपालिकाका नागरिकहरू चरम गरीबी, विपन्न, निरक्षरता र पछौटेपनमा रहनुपर्ने बाध्यात्मक स्थितिको शिघ्र अन्त्य गरिदै लगिने समेत नीति तथा कार्यक्रम पनि समावेश गरिएको उपाध्यक्ष सुब्बाले बताएकी छन् ।

सडक पूर्वाधार निर्माण र स्तरोन्नति, विद्युत सेवा तथा खानेपानी विस्तार र व्यवस्थापन, विद्यालय तथा शिक्षा क्षेत्रको गुणस्तरमा सुधार, पर्या–पर्यटन क्षेत्रको व्यवस्थित विकास, सामाजिक, आर्थिक विकास मार्फत नागरिकको जीवनको गुणस्तर कायम, कृषिको आधुनिकिकरण तथा व्यवसायीकरण, संस्थागत क्षमता वृद्धि, वन तथा वातावरण संरक्षणमा जोड, रोजगारीको अवसरका वृद्धि, सेवा प्रवाहमा प्रभावकारिता र पारदर्शिता, सुशासन, क्रमागत योजना तथा कार्यक्रमहरुको प्राथमिकतामा जोड र योजना तथा कार्यक्रम सञ्चालनमा लागत साझेदारीतामा जोड दिने गरी बजेटलाई प्राथमिकतामा राखिएको उपाध्यक्ष सुब्बाले बताइन् ।

त्यसैगरी गाउँपालिकामा उत्पादित चिया, अंलैची, अदुवा, जडिबुटी, दुग्ध पदार्थ, फलफूल लगायतका नगदे बालीहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच वृद्धि तथा बजार विस्तारका लागि बहु सरोकारवालाको समन्वयमा निर्यात प्रवद्र्धनमा विशेष जोड दिइने र दुधमा आत्मनिर्भर बन्नको लागि गाउँपालिकाभित्र गाई, भैंसी पाल्नको लागि लक्षित किसान वर्गहरुलाई अनुदानको व्यवस्था मिलाउदै लगिने जनाइएको छ । यसका लागि न्युनतम ४ गाई पाल्ने १० किसानको १ समूह, १० समूहको १ दुग्ध सहकारी र यस्ता दुग्ध सहकारीहरुलाई अनुदान कार्यक्रम मार्फत चिस्यानको व्यवस्था गरिने कार्यक्रम पारित भएको छ ।

गाउँपालिकाका प्रमुख पर्यटकीय गन्तव्यहरु आन्तरिक तथा बाह्य पर्यटन बजारमा बजारीकरणका लागि देशका मुख्य पर्यटकीय केन्द्रहरुमा माङसेवुङ डेस्कको स्थापना गर्न निजी, सामुदायिक, अन्य गाउँ तथा नगरपालिका र सरकारी निकायहरुसँग समन्वय र साझेदारीको विकास एवं विस्तार गर्दै लगिने र माङसेवुङमा रहेका ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्वका क्षेत्रहरु गजुरमुखीधाम, माङसेवुुङ, माङमालुङको गुरुयोजना निर्माण कार्य सम्पन्न भईसकेकोले उक्त गुरुयोजना निर्माणमा कार्यान्वयन गर्न र गराउन प्रदेश सरकार, संघीय सरकार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायहरुसँग लागत साझेदारीता कार्यक्रम सञ्चालन गर्दै लगिने साथै गाउँपालिका भित्रका अन्य राष्ट्रिय महत्व राख्ने राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मस्थल चुक्चिनाम्बा, विराटज्योति माङहिम, अन्धाराजा, ढ्याङगुरे डाँडा, खराने थुम्का, घोर्लेभीर, तारेभीर आदिलाई पर्यटकीय क्षेत्रहरुलाई पूर्वाधार सहितको विभिन्न पर्यटकीय सर्किटहरुको संजालको विकास गर्न यसको गुरुयोजना निर्माण तथा विस्तृत योजना रिपोर्ट तयार गरी प्रदेश सरकार, संघीय सरकार, निजी क्षेत्र र बाह्य लगानीलाई प्रोत्साहन गरी पूर्ण सुविधायुक्त पर्यटन स्थल विकास गर्दै लगिने नीति तथा कार्यक्रम पारित भएको उनले बताईन ।

माङसेवुङलाई किरात धार्मिकस्थलको रुपमा विकास गर्न राष्ट्रिय सम्पदा सूचीमा राख्नको लागि पहल गरिने र नेपाल पर्यटन वर्ष २०२० सफलताका साथ सम्पन्न गर्नका लागि माङसेबुङ गाउँपालिकामा रहेका धार्मिक पर्यटकीय क्षेत्रहरुमा (घुम्न जाऔं माङसेबुङ, माङमालुङ, गजुरमुखी लगायत पुण्य कमाऔ) विशेष कार्यक्रमहरु आयोजना गर्ने । त्यसैगरी यस गाउँपालिकाभित्र रहेका खोला र नदीहरुबाट जलविद्यूत उत्पादनको लागि सम्भाव्यता अध्ययन गरी त्यस क्षेत्रहरुबाट जलविद्युत उत्पादन गर्न सम्बन्धित लगानी कर्ताहरुसँग समन्वय गरेर अघि बढ्ने र कम्तिमा ३ वर्षभित्रमा यस गाउँपालिकाको देउमाई, फेवाखोला, रतुवा, तावा खोलाबाट ५÷६ मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्यका साथ अघि बढ्ने नीति समेत पारित भएको छ ।

लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धनका लागि गाउँपालिकाको विषयगत क्षेत्र विकास कार्यक्रम अन्तर्गत उद्योग प्रवद्र्धन सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिदै घरेलु तथा साना उद्योग विस्तार गरी स्थानीय सीप, स्रोत र साधनलाई प्रयोग गरी खाडी, अल्लो, ढाका जस्ता उत्पादन गर्ने लक्षित वर्गलाई अनुदानको व्यवस्था मिलाउदै लगिने जनाएको छ । गरीबी निवारणका लागि स्थानीय स्रोत साधनको उपलब्धता र वजारीकरण पहुँचलाई ध्यान दिँदैं बाँस तथा काठ उद्योग खोल्नलाई गाउँपालिकाले विशेष अनुदान उपलब्ध गराउँदै जाने कार्यक्रम पनि तर्जुमा गरेको छ ।

त्यसैगरी एक गाउँपालिका एक नमुना विद्यालय र एक वडा एक नमुना विद्यालय अभियानलाई नियमित र निरन्त्तरता दिदैं जाने र एक गाउँपालिका एक विश्वविद्यालय अन्तर्गत प्रस्तावित सेइङ आत्मानन्द लिङ्देन बहुमुखी क्याम्पसलाई विशेष अनुदान कार्यक्रम दिने कार्यक्रम समेत पारित गरेको छ । किरात साम्जिक मुन्धुम आधारभूत विद्यालयलाई लिम्बू मातृभाषा शिक्षक अनुदान र सामुदायिक विद्यालयमा विद्यार्थीहरुले प्राप्त गरेका सिकाई उपलब्धिका आधारमा शिक्षकलाई पुरस्कार र प्रोत्साहन गरिने नीतिलाई व्यवस्थित गरिने समेत जनाइएको छ ।

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्न र गराउनको लागि प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै गाउँपालिका भरिका कम्तिमा पनि कक्षा १ देखि ५ लाई अनिवार्य अंग्रेजी माध्यम लागू गरिने र मातृभाषामा पठनपाठन गराउने सामुदायिक विद्यालयहरुलाई शिक्षा नीति तथा मापदण्डका आधारमा भाषिक शिक्षा दरबन्दी कायम गरी पठनपाठनमा निरन्तर सहयोग गर्दै जाने गाउँपालिकाले नीति तथा कार्यक्रम पारित गरेको छ ।
सुत्केरी स्याहारमा पोषिलो खाना तथा न्यानो कपडा वितरण तथा सुत्केरी पोषण भत्ता कार्यक्रममा उचित बजेट व्यवस्था गरेको गाउँपालिकाले मनिपुर आत्मानन्द स्वास्थ्य इकाइको पूर्वाधार भवनलाई गाउँपालिका स्तरीय स्वास्थ्य चौकी सञ्चालनार्थ दरबन्दी कायम गरी सञ्चालनमा ल्याउने नीति तयार गरेको छ । स्वास्थ्यका लागि योग कार्यक्रम आवश्यक भएको भन्दै समिचोङ भवन, गजुरमुखी, माङसेबुङ (लारुम्बा) जस्ता धार्मिक तथा पर्यटकीय स्थलहरुमा योग साधन समेत सञ्चालन गर्न सहयोग गरिने जनाएको छ ।

त्यसैगरी आदिवासी जनजातिको उत्थान तथा विकासको लागि गाउँपालिका स्तरीय माङसेबुङ आदिवासी जनजाति समिति बनाउने पनि नीति तथा कार्यक्रममा पारित गरेको छ । सम्पूर्ण जात जातिको भाषा, धार्मिक र संस्कृतिलाई समान रुपमा संरक्षण, सम्वद्र्धन र विकास गर्ने नीति अवलम्वन गर्दै, गाउँपालिका रहेका सम्पूर्ण धर्म सम्प्रदायहरुको विशेष स्थानहरुमा मठ मन्दिर, माङहिम, गुम्बा, चर्च, सेमीचोङ आदि निर्माणमा विशेष वजेटको व्यवस्था गर्दै लगिने जनाइएको छ ।

माङसेबुङ गाउँपालिका आदिवासी जनजाति सघन बसोबास रहेको गाउँपालिका भएकोले सरकारी कार्यालयमा कामकाजको लागि मातृभाषा कर्मचारी दरबन्दी सृजना गरी आवश्यकता अनुसार सबै वडा कार्यालयहरुमा र गाउँपालिकाको कार्यालयमा समेत मातृभाषा कर्मचारीको व्यवस्था गर्दै लगिने र लोपोन्मुख मौलिक बाजा लगायत विभिन्न मौलिक बाजागाजा तथा संस्कृति संरक्षणको लागि विशेष व्यवस्था मिलाइने नीति पारित गरिएको जनाइएको छ ।
सरकारी, गैरसरकारी, सहकारी, नीजि तथा स्थानीय संघ संस्थाहरुको समन्वय र सहकार्यमा ज्येष्ठ नागरिक स्वास्थ्य सुरक्षा राहत कोष स्थापना गर्न पहल गर्ने र खानेपानीको स्रोतको पहिचान गरी स्वच्छ र शुद्ध खानेपानीको परिपूर्तिको लागि तत्कालीन र दीर्घकालीन योजना निर्माण गरी एक घर एक धाराको व्यवस्था मिलाउदै लगिने नीति पनि पारित गरेको उपाध्यक्ष सुब्बाले बताएकी छन् ।

गाउँपालिकाका उपाध्यक्ष सुब्बाका अनुसार राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लगायत विशिष्ट व्यक्तित्वहरुको मुर्ति तथा शालिक गाउँपालिकाको विशेष स्थानहरुमा खडा गर्दै लाने कार्यक्रम अन्तर्गत वडा नं ५ को बुधबारे बजारमा यलम्बर शालिक र पार्क निर्माण गरिने र खेलकुद तथा फूटबल विकासको लागि गाउँपालिका स्तरीय माङसेबुङ खेलकुद विकास समिति गठन गरिएको छ । त्यसैगरी राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा माङसेबुङ चुक्चिनाम्बा फाल्गुनन्द गोल कप, सेइङ आत्मानन्द लिङ्देनको जन्मोत्सव र पवित्रहाङमा साँबा लिङदेनको जन्मोत्सवको अवसरमा सञ्चालन हुने गोल कपलाई सहयोग गर्दै लैजाने नीति पारित गरेको छ ।

यसरीनै माङसेबुङ गाउँपालिकामा १० लाख भन्दा माथिका आयोजनाहरु ठेक्का प्रकृयाबाट सार्वजनिक खरिद ऐन बमोजिम प्रतिस्पर्धात्मक प्रणालिद्वारा सञ्चालन प्रकृयाको थालनी गर्ने र माङसेबुङ गाउँपलिकामा सञ्चालन हुने विकास योजना तथा अन्य कार्यक्रमहरुमा प्रयोग गरिने निर्माण मेसिन तथा औजारहरुको दररेट माङसेबुङ गाउँपालिका भरी एउटै रहने गरी व्यवस्था गरिएको जनाइएको छ । प्राकृतिक प्रकोप भुकम्प, महामारी, वाढी पहिरो, आगलागी आदिले निम्त्याउन सक्ने असहज अवस्थाको व्यवस्थापनका लागि विपद् तथा प्रकोप न्यूनिकरण व्यवस्थापन कोष स्थापना गर्ने र एक घर पाँच फलफुल रोपण कार्यक्रम (साविक बाझोँ ८ र ९ साकाहारी क्षेत्र घोषणा भएको क्षेत्र) मा सञ्चालन गरिने नीति तथा कार्यक्रम पारित भएको छ ।

माङसेबुङ गाउँपालिकालई सञ्चारमैत्री बनाउन, सञ्चारकर्मीहरुसँग अन्तरक्रिया, सूचनाको हक सम्बन्धि अभिमुखीकरण तथा पत्रकारिता तालिम कार्यक्रमहरुलाइ अगाडि बढाउने पनि नीति तथा कार्यक्रम पारित भएको उपाध्यक्ष सुब्बाले बताएकी छन् ।

सम्बन्धित खवर