
झापा । विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौंले एलभिडी झापा महिला गोल्डकपको उपाधि चुमेको छ ।
आज (सोमबार) झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा भएको फाइनल खेलमा अर्को विभागीय टोली एपीएफ फुटबल क्लब काठमाडौंलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिसले उपाधि चुमेको हो ।
पुलिसको जितमा मिना देउवाको एक मात्र गोल निर्णायक बन्यो । यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडी मिना देउवा नै घोषित भइन् । उनले नगद एक लाख ५० हजार रुपैयाँ हात पारिन् ।
खेलको प्लेयर अफ द म्याच पुलिसकी पुजा राना घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् ।
पुलिसले उपाधि चुमेसँगै नगद १० लाख १० हजार रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको एपिएफले नगद पाँच लाख रुपैयाँमा चित्त बुझाएको छ ।
यसैगरी प्रतियोगिताको उत्कृष्ट गोलकिपर पुलिसकी उसा नाथ, उत्कृष्ट डिफेन्डर एपिएफकी मनमाया दमाई, उत्कृष्ट मिडफिल्डर एपीएफकी रेनुका नगरकोटे, उत्कृष्ट फरवार्ड एपिएफकी अनिता बस्नेत, उदीयमान खेलाडी आर्मीका जेनिफर राना मगर, उत्कृष्ट प्रशिक्षक पुलिसका भोलानाथ सिलवाल र उच्च गोलकर्ता पुलिसका मिना देउवा घोषित भइन् । उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त छन् ।







