‘संविधानमा प्रदत्त हक खोस्ने गरी खोलेको लोकसेवा आयोग विज्ञापन गलत छ’ –अशोक राई - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘संविधानमा प्रदत्त हक खोस्ने गरी खोलेको लोकसेवा आयोग विज्ञापन गलत छ’ –अशोक राई


२०७६ भदौ ३, ‘संविधानमा प्रदत्त हक खोस्ने गरी खोलेको लोकसेवा आयोग विज्ञापन गलत छ’, सुनसरीको रामधुनी नगरपालिका स्थित पार्टी समायोजन तथा राम नगर पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता राईले सो कुरा बताएका हुन् ।
समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राईले आरक्षण विरुद्ध प्रधानमन्त्री केपी ओलीको भनाई अध्ययनमा कमीको उपज भएको बताए ।

उत्पीडित समुदायहरुमाथि भएको ऐतिहासिक विभेद्बारे नबुझी देशको प्रधानमन्त्रीले गरेको टिप्पणीले राज्यको विभेदकारी मानसिकता झल्किएको नेता राईले आरोप लगाएका छन् । उनले भने (‘प्रधानमन्त्रीले आरक्षणलाई कसैको भाग खोसेर खाएको रूपमा व्याख्या गर्नु दुखद् र आपत्तिजनक कुरो हो ।’


अहिले देशभर आरक्षण आन्दोलन चलिरहेको भन्दै नेता राईले न्यायका पक्षमा चलेको आन्दोलन भएकोले पार्टीले समर्थन गरेको दावी गरे ।
सम्बोधनका क्रममा उदाहरण प्रस्तुत गर्दै राईले परिवारमा कुनै एक बिमारी सदस्यलाई दैनिक भन्सामा पाकेको अतिरिक्त माछामासु, फलफूल खान दिएर छिट्टो तन्दुरुस्त बनाउन केही समय लगानी गरिन्छ । तर यस्तो कार्य दीर्घकालीन रूपमा नरहने भन्दै उनले आरक्षण पनि पछाडि परेका समुदायलाई अब्बल समुदायसँग प्रतिस्पर्धा गर्न सक्षम भएसम्मको लागि मात्रै कायम रहने प्रष्ट पारे ।

पार्टी एकताको प्रसङ्ग उठाउँदै राईले सही अभियान थाल्दा बदमासहरुले जनतामा भ्रम छरेर बाधा पुर्याउन खोजेको भन्दै सचेतता पूर्वक काम गर्न कार्यकर्तालाई निर्देशन दिए । राईले भने ‘हामीले निर्माण गरिरहेको समावेशी पार्टीका विरुद्ध खेल्नेहरु छन् । तिनलाई चिरेर अघि बढ्नु पर्दछ । त्यो काम जनस्तरमा गर्नको लागि एक ढिक्का भएर लागौं ।’


पार्टी समायोजनमा रामबहादुर खड्काको अध्यक्षतामा ६५ सदस्यीय रामधुनी नगर समिति चयन भएको छ । कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय सचिव परशुराम बस्नेत, १ नम्बर प्रदेश अध्यक्ष प्रवीण चाम्लिङ, केन्द्रीय सदस्यहरु भूराज राई, पदम अधिकारी, सूर्य राई लगायतले शुभकामना दिएका थिए ।

सम्बन्धित खवर