सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनलमा, उपाधिका लागि लुम्बीनीसँग भिड्ने - Mangsebung News
  • शुक्रबार, मङि्सर ०५, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनलमा, उपाधिका लागि लुम्बीनीसँग भिड्ने

माङसेबुङ । सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो क्वालिफायरमा थरिन्दु रत्नायकेको अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई २ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो संस्करणमा पनि फाइनलमा स्थान पक्का गरेको हो ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।

योसँगै आउने शनिबार नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोएल्स भिड्ने भएका छन् ।

सुदूरपश्चिमका लागि थरिन्दुले अविजित रहँदै सर्वाधिक ५३ रन बनाए । आक्रमक ब्याटिङ गरेका ओपनर विनोद भण्डारीले २३ रन, अर्का ओपनर जर्ज मन्सेलले ८ रन, स्कट कुगेलेइनले २ र इशान पाण्डेले १० रन बनाउँदा कप्तान दीपेन्द्रसिंह ऐरीले १५ तथा आरिफ शेख १० रन बनाएर आउट भए ।

चितवनका लागि रन्जित कुमारले २ तथा कमल सिंह ऐरी, रिजन ढकाल, उसामा मिर र सलाहुद्दिन खानले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो ।

चितवनका डाविन मलानले अविजित सर्वाधिक ७१ रन बनाए । ओपनर कमिल मिशाराले ४ रन, सलाउद्दिन खानले १८ रन बनाउँदा देव खनालले ६ रन, कप्तान रवि बोपारा र कुशल मल्लले समान १ रन, विवेक यादवले ३ रन, उसामा मिरले २ रन र रिजन ढकाल ४ रनमा अविजित रहे ।

सुदूरपश्चिमका लागि स्कट कुगुलेइनले ३, थरिन्दु रत्नायकेले २ तथा हेमन्त धामी, कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले १–१ विकेट लिए ।

सम्बन्धित खवर