धरानमा डिजेल प्लान्टबाट शव दहन शुरु - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

धरानमा डिजेल प्लान्टबाट शव दहन शुरु


सुनसरी । धरानमा डिजल प्लान्टबाट शवदाह सुरु गरिएको छ । धरान उपमहानगरपालिका–१४ स्थित खत्री धारामा रहेको शवदाह स्थलमा निर्माण गरिएको डिजेल प्लान्ट शवदाहमा शनिबारदेखि शव दहन सुरु गरिएको हो ।

शवदाह निर्माण तथा व्यवस्थापन झिंगु समाज धरानद्वारा गरिएको हो । झिगु समाजले २०१७ सालदेखि यहाँ शव दहन गर्दै आएको थियो । दाउरामा शव जलाउन धेरै समय लाग्ने, दाउरा महँगो पर्ने, चिता बनाउन र जलाउन दक्ष जनशक्तिको अभाव जस्ता समस्यालाई कम गर्न डिजलबाट सञ्चालित शवदाह निर्माण गरिएको झिंगु समाज धरानका अध्यक्ष सुरेन्द्रमान स्थापितले बताए ।

समाजले धेरै वर्षअघिदेखिनै अटोमेटिक इलेक्ट्रिबाट शव जलाउने मेसिन ल्याउने योजना बनाए पनि पूरा हुन सकेको थिएन । अहिले राखिएको डिजेल शवदाह धरान निवासी सूर्य मेटलका प्रोपाइटर उत्तम ताम्राकारले निर्माण गरेका हुन् । यस किसिमको प्लान्ट अन्य स्थानमा नभएको ताम्राकारले बताए ।

पहिलो पटक परीक्षण गर्दा शव आधा घण्टामा जलेका थियो । एउटा शव जलाउन करिब ३० लिटर डिजल खपत भएको थियो । आफुले बनाएको प्लान्ट सफल हुँदा उत्साहित भएको ताम्राकारले बताए । उनी यसलाई केही परिमार्जन गर्नुपर्ने बताउँछन् ।

शुरुमा प्लान्ट नयाँ भएकाले धेरै धुवा आए पनि पछि कम हुने र शव जल्न पनि अझ कम समय लाग्ने उनले बताए । डिजल प्लान्टका निर्माणका लागि १० लाख रुपैयाँ सूर्य मेटल प्रालिले प्रदान गरेको हो । यसलाई सुरक्षा दिने टिनको छाना भएको सेड एक लाख पचास हजारको लागतमा मितेरी बैंक धरानले निर्माण गरिदिएको ताम्राकरले बताए ।

सम्बन्धित खवर