जबज कसैको पेवा होइन, सरकारको निगरानी पार्टीले गर्छ – प्रचण्ड - Mangsebung News
  • शनिबार, बैशाख २९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जबज कसैको पेवा होइन, सरकारको निगरानी पार्टीले गर्छ – प्रचण्ड


२०७६ भदौं २८ इलाम, इलामको सदरमुकाममा नेकपाले जिल्ला स्तिरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।

दईदिन सम्म संचालन भएको प्रशिक्षणमा जिल्ला, स्थानीय तह, वडा, जनसंगठन विभागका गरी पाँचसय बढी नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा आफ्नै मौलिकता अनुसारको नयाँ मोडेलको समाजवाद स्थापित हुने बताए । संविधानमा उल्लेख गरिएको समाजवाद उन्मुख मुलुकलाई मूर्तरुप दिन पार्टी एकता गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अबको गन्तव्य समाजवाद मात्र भएको दावी गरे ।

शुक्रबार सदरमकामा नेकपा इलामले आयोजना गरेको दुई दिने वृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवाद निर्माण गर्ने पार्टीको रुपमा नेकपालाई विश्वमा स्थापित गर्ने विश्वास व्यक्त गरे । ‘हामीले समाजवादको नयाँ अध्याय सुरु गर्ने प्रतिज्ञा गरेका छांै’ अध्यक्ष प्रचण्डले भने, ‘हामी विश्वमा नयाँ मोडल स्थापित गरेरै छाड्नेछौं ।’ नेपालको आफ्नै मौलिकतामा समाजवादको जग तयार पार्न आफूहरुको एकता सफल भएको र त्यसलाई सफल बनाउन थप एकता, थप सुदृढ पहल जरुरी रहेको बताए ।

नेता र नेतृत्वमा फरक क्षमता र दृढता हुनुपर्ने भन्दै सोही अन्तर्गत एमाले र माओवादीको एकता भएको प्रस्ट्याए । पार्टी एकताको प्रयास मदन भण्डारी जीवित रहँदैदेखि सुरु भएपनि केपी ओलीको नेतृत्वमा सफल भएका दावी गरे । ‘पार्टी एकता सम्बन्धी वार्ताका लागि मिति र स्थान समेत तय भईसकेको थियो । तर उहाँको दासढुङ्गा दुर्घटनामा परेर निधन भएपछि’ अध्यक्ष दहालले भने, ‘त्यसपछिको लगातारको प्रयास संविधान निर्माणपछि सफल भएको छ ।’
पार्टीभित्र देखिएको बैचारिक मतभेदको सन्दर्भमा अध्यक्ष दहालले सबै नेता कार्यकर्ताको स्वर एउटै हुनुपर्नेमा जोड दिए । उनले जनताको बहुदलीय जनबादलाई कसैको पेवा नबनाउन चेतावनी समेत दिए ।

‘महाधिवेशनसम्मका लागि हाम्रो पार्टीको विचार समाजवादउन्मुख जनताको जनवाद हो । महाधिवेशनमा सबै विषयमा छलफल हुन्छ । त्यहीँबाट टुङ्गिन्छ ।’ दुवै विचारको ऐतिहासिक महत्व रहेकाले समान सम्मान गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकतालाई सफल बनाउन र समाजवाद स्थापित गर्न पार्टीमा सबैखाले गुटबन्दीको अन्त्य गर्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । गुटबन्दीले फाइदा नगर्ने बताउँदै प्रचण्डले पार्टीमा अनुशासन कायम गर्न निर्देशन दिए ।

अध्यक्ष प्रचण्डले संघ, प्रदेश र स्थानीय तहमा समेत नेकपाको ठूलो जनमतसहितको सरकारले केही गर्न सकेन भनेर निराश नहुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । ‘अब एकता सकिएको छ । सरकारको निगरानी पनि पार्टीले गर्छ । यत्रो जनमत भएको पार्टीले नेपाली जनताको अपेक्षा अनुसारनै अब द्रुत गतिमा काम गर्छ ।’

यस्तै वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी एकताको प्रक्रियाले पूर्णता नपाएको कारण सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् । दुई कम्युनिष्ट पार्टी एकताका सन्दर्भमा जटिल परिस्थितिमा पनि १५ महीनाको अथक प्रयासपछि एकता सफल भएको भन्दै अब कामले गति लिने दावी गरे ।

उनले पार्टी कमिटीमा केही समस्या देखिए पनि त्यसलाई चाँडै निकास दिएर ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई सार्थक तुल्याउन नेकपा नेतृत्वको सरकार जोडतोडले अघि बढेको दाबी गरे ।
नेपालको पराराष्ट्र नीति कमजोर नभएको उल्लेख गर्दै नेता खनालले असंलग्न परराष्ट्र नीति अपनाउँदै आएकाले विश्वका सबै देशसँग सम्बन्ध विस्तारमा नेपाल पछि नपर्ने र संविधानसंगै सवैखाले सामन्तबादको अन्त्य भएकाले अब समृद्धिको यात्रा कसैले रोक्न नसक्ने बताए ।

त्यस्तै पुर्व सभामुख सुवासचन्द्र नेम्बाङले अब नेपालमा राजनीतिक आन्दोलनको आवश्यकता नभएको बताएका छन् । नेपालको सबै आन्दोलनलाई संविधानले समेटेको दावी गर्दैे फेरि पनि अधिकारका नाममा आन्दोलन गरिरहनुको औचित्य नभएको नेम्बाङले बताए ।

अहिलेको संविधान विश्वकै उत्कृष्ट भएको दावी गर्दै यो संविधानको विकल्प नभएको र संविधानप्रति असन्तुष्ट दल, समुदायप्रती लक्षित गर्दै नेम्बाङले भने, ‘समावेशी संविधानसभाले बनाएको संविधान अहिलेसम्मकै समावेशी छ । यहाँ सबैको माग र अधिकार समेटिएको छ । यसको विकल्प खोज्नु मुर्खता हो ।’

सम्बन्धित खवर