दमकमा घरजमको विशेष प्रर्दशनी कार्तिक २ मा  - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकमा घरजमको विशेष प्रर्दशनी कार्तिक २ मा 


सङसेमी माङयुङ
असोज ३०, दमक / लिम्बू मौलिक पनमा आधारित नेपाली कथानक चलचित्र घरजमको बिशेष प्रीमियम शो कातिक २ मा दमकमा हुने भएको छ ।

चर्चित कलाकार तथा निर्देशक मौसम इम्बुङ फुलेन्देको बाउद्वारा निर्देशित घरजम युनिटले बिहिबार दमकमा पत्रकार सम्मेलन गर्दै विशेष प्रर्दशन हुने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै निर्देशक इम्बुङले भनेः मान्छे जन्मेपछी मुल त तीन कर्मलाई ब्याख्या गर्छ । ती मध्ये बिबाह कर्मको मुख्य कथानै घरजम भएको बताए ।उनले थपे घरजम लिम्बू समुदायको जीवन–दर्शनमा आधारीत नेपाली कथानक चलचित्र हो । हाल सिने जगतमा स्टार भ्याल्यु रोजाइमा हुने र चलचित्र बनाउने होडबाजी चलिरहेको बेला घरजमले क्यारेक्टरमै काम गर्नुपर्छ भन्ने मान्यताको नजिर बसाउन खोजेको उनको धारणा छ । क्यारेक्टरलाई आधार मानेर बनाइएका चलचित्रहरुले ‘नेपाली चलचित्र यस्तो हुनुपर्छ’ भन्ने स्थापित गर्न खोजिरहेको बेला घरजमले एउटा इटा थप्ने काम गरेको छ । फिल्ममा पात्रहरुलाई मौलिक रुपमा प्रस्तुत गर्नु र सर्लक्कै समाज देखाउनु वा सुनाउनु नै ‘घरजम’ को विशेषता रहेको छ ।’

करिब ८५ लाखको लागतमा निर्माण गरिएको घरजमका निर्माता सीताकुमारी तुम्बापो र किशोर कुमार लिम्बू रहेका छन् । चलचित्रका निर्माता तथा कलाकार तुम्बापोले पत्रकार सम्मेलनमा बोल्दै भनिन् आफुहरुको पैसा कमाउने उदेश्य नभई भावी सन्ततिलाई आफ्नो देश, भाषा, संस्कार–संस्कृति र परम्परासँग परिचित गराउँन कला क्षेत्र सबैभन्दा प्रभावकारी माध्यम हुने ठहर गर्दै चलचित्र निर्माणमा हात हालेको बताइन् । उनले भनिन् घरजम दोस्रो चलचित्रको रुपमा बनाएको छौ । यश भन्दा अघि खगेन्द्र पन्धाकले निर्देशन गरेको ‘थात्थलो’ निर्माण गरेका थियौ । यश ‘घरजम’ व्यवसायिक रुपमा समेत नेपाली सिने उद्योगमा राम्रै प्रतिस्पर्धी चलचित्र हुने उनको बिश्वास छ ।

उपेन्द्र सुब्बाद्वारा लिखित चलचित्र ‘घरजम’ मा बुद्धि तामाङ, सृजना सुब्बा, यासेली योङहाङ, कुशल थलङ, हेमराज अन्छङबो, रवी सेर्मा (रणबीर), शैलेन्द्र थेबे, बबिता फोम्बो लगायतलाई काष्ट गरिएको फिल्मको पहिलो विशेष प्रिमीयम शो दमक बाट सुरु गरिएको विशेष प्रदर्शनी समितिका संयोजक शैलेन्द्र थेबेले बताएका छन । थेबेका अनुसार देशभरका मल्टिप्लेक्स तथा सिङ्गल थिएटर गरी ८० भन्दा बढि चलचित्र हलमा प्रर्दशन गर्ने लक्ष्य रहेको छ । चलचित्र ‘घरजम’लाई ‘घुम्ती’ शैलीमा समेत प्रर्दशन गर्ने योजना रहेको छ । घुम्ती प्रर्दशन अन्तर्गत इलामका १०, पान्थरका ८, ताप्लेजुङका ९, तेह्रथुमका ६, धनकुटाका ७ र संखुवासभाका १० गरी ५० वटा स्थानी तहमा प्रर्दशन गर्दै विदेशका १० भन्दा बढी स्थानमा ‘विशेष’ प्रर्दशनीको तयारी रहेको संयोजक थेवेले बताए ।

दमक स्थित पाथीभरा चलचित्र हलमा आउदो कात्तिक २ गते शनिवार साँझ ५ बजेबाट प्रदर्शन हुने घरजमको सम्पूर्ण तयारी सकिएको दमक प्रदर्शनका संयोजक वनेम बिक्रम फागोले बताएका छन् । वनेमका अनुसार दमक आसपासका करिब १२ सय दर्शकले हेर्ने अनुमान छ ।

सम्बन्धित खवर